काठमाडौं ९ वैशाख, । विश्व स्वास्थ्य संगठन ( डब्ल्यूएचओ )का महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयससले ललितपुरको पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका छन् ।
शुक्रवार महानिर्देशक गेब्रेयससले पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गरेका हुन् । खोप केन्द्रबाट अहिले १५ महिना भन्दा माथिका र १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप सञ्चालन भइरहेको छ ।
गत चैत्र २५ गतेबाट सरकारले देशभरका विभिन्न विद्यालयका खोपकेन्द्र स्थापना गरी टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । यो अभियान वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै सरकारले खोपकेन्द्रहरुबाट टाइफाइडबिरुद्धको खोप र कोरोनाबिरुद्धको खोप पनि सञ्चालन गरिरहेको जनाएको छ ।
खोपकेन्द्र अवलोकनका क्रममा महानिर्देशन गेब्रेयससले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग भेट गरेका थिए । भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै मेयर महर्जनले महानिर्देशक गेब्रेयससले नेपालले कोभिड १९ बिरुद्ध सफलता पाएको र सोही कामको अवलोकन गरेको बताए ।