धनगढी, वैशमख ७ । कैलालीको लम्की–चुहा नगरपालिका–४, बलियाकी राजुकुमारी रोकायाको कमाइ सिजनमा ६०–७० हजार नाघ्छ । उनले साना किसान बहुउद्देश्यीय सरकारीबाट डेढ लाख रुपैयाँ ऋण लिएर उनले पाँच वर्षअघि सुरु गरेको डेरी व्यवसाय दिनप्रतिदिन फस्टाउँदै गएको छ ।
अलिे लम्की बजारमा रहेको उनको डेरीमा अहिले दैनिक तीन सय लिटर दुध खपत हुनेगरेको । डेरीबाट भएको आम्दानीले उनले गत वर्ष ११ लाख रुपैयाँमा १० धुर जग्गा जोडेकी छन् । मासिक १२ हजार रुपैयाँ पसलको भाडा तिर्छिन् । डेरीबाट कमाइ हुन थालेपछि दैनिक छाक कसरी टार्ने भन्ने समस्या टरेको छ नै स–सानो खर्चका लागि अरुसँग हात फैलाउनु परेको छैन ।
५० वर्षीया राजुकुमारीको विगतको अवस्था भने अहिलेको भन्दा निकै फरक थियो । छाक टार्न धौँ–धौँ हुन्थ्यो । ‘आफ्नो जग्गा थिएन । साँझ–बिहान के खाउँ भन्ने समस्या हुन्थ्यो ।’ उनले विगत सम्झिन्, ‘राम्रो खाने–लाउने त सपनाजस्तै थियो ।’ श्रीमान भारतमा मजदुरी गर्थे ।
चिनि मिलमा काम गर्ने बेला मेसिनमा पर्दा नशा काटिएर एक हात नचल्ने भयो । कमाउने मान्छे काम गर्न नसक्ने भएपछि आर्थिक अवस्था झन् नाजुक भयो । राजुकुमारी गाउँमा किसान सहकारीको समूहमा आवद्ध थिइन् । समूहमा रहेर किसान सहकारीबाट सहज रुपमा ऋण पाइने बुझेकी उनले व्यवसाय सुरु गर्ने सोँच बनाइन् ।
‘सहकारीले सजिलै ऋण दिएपछि सानो डेरी सुरु गरेँ । कारोबार विस्तारै बढ्दै गयो ।’ उनले खुशी पोखिन्, ‘पहिले गाउँमा सय रुपैयाँ ऋण पनि मान्छेहरु पत्याउँथेनन् । त्यो अवस्था फेरिएको छ । अहिले स–सानो खर्चका लागि पनि अरुसँग हात फैलाउनु पर्दैन ।’ किसान सहकारीबाटै थप तीन लाख ऋण लिएर उनले व्यवसाय विस्तार गरिन् । डेरीमा उनलाई छोरा–बुहारीले पनि सघाउँछन् । घरमा दुई भैसी र एउटा गाई पनि पालेकी उनले उत्पादित दूध आफ्नै डेरीबाट बेच्छिन् । ‘गाउँमा सय–दुई सय पनि पत्याउँथेनन्, सहकारीले विश्वास गरेर ऋण दियो ।’ उनले भनिन्, ‘त्यही सहयोगले मलाइ यहाँसम्म पु¥यायो ।’
जानकी गाउँपालिका–८, भोक्सीकी इमानी थरुनी तरकारी खेती गर्छिन् । किसान बहुउद्देश्यीय सहकारीबाट तीन लाख रुपैयाँ ऋण लिएर उनले गत वर्षबाट १४ कठ्ठा जमिनमा तरकारी खेती लगाउन थालेकी हुन् । आफ्नै खेतबाट उत्पादित अन्नले खान पुग्ने भए पनि आम्दानीको स्रोत नहुँदा घर खर्च चलाउन समस्या थियो । तरकारी खेती सुरु गरेपछि भने घर खर्च चलाउन निकै सहज भएको उनको अनुभव छ । नून, तेल किन्नेजस्ता घरायसी खर्चको समस्या टरेको उनले सुनाइन् । तरकारी बिक्रीबाट हुने आम्दानीले नियमित बचत पनि गर्न थालेकी छन् ।
‘अन्न किन्नु पर्दैनथ्यो, तर नुन–तेल, औषधि–उपचार खर्चको जोहो गर्न निकै समस्या थियो । तरकारी खेतीले सहज भएको छ ।’ इमानीले भनिन्, ‘सहकारीबाट लिएको ऋणले बीउ, मललगायत आवश्यक सामग्री किनेर तरकारी लगाउन सुरु गरेँ । त्यहीँबाट हुने आम्दानीले घर खर्च र बैंकको किस्ता तिर्न पुगेको छ ।’ उनले उत्पादित तरकारी टीकापुर, लम्की, चिसापानी बजारमा बिक्री गर्ने गरेको बताइन् । लम्की–चुहा नगरपालिका–४, बलियाकी शोभादेवी चौधरी किराना र नास्ता पसल चलाउँछिन् । सानाकिसान सहकारीबाट १० लाख रुपैयाँ ऋण लिएर उनले व्यवसाय सुरु गरेकी हुन् । त्यहीँ पैसाबाट पसलको संरचना पनि बनाएकी उनले चार लाख रुपैयाँ ऋण तिरिसकेकी छन् । श्रीमान पनि बेरोजगार थिए । सामान्य घर खर्च चलाउन समस्या थियो । अहिले भने व्यवसायबाट आम्दानी हुन थालेपछि उनले आफ्ना दुवै छोरा बोर्डिङ्ग स्कूल भर्ना गरेकी छन् ।
‘व्यवसाय सुरु गर्न गाउँमा ऋण खोज्दा कसैले पत्याएनन् ।’ उनले भनिन्, ‘आफ्नै व्यवसाय गर्न चाहन्छु भनेपछि किसान सहकारीले पत्यायो र सजिलै ऋण पाएँ ।’ किसान सहकारीको समूहमा आवद्ध भएपछि सजिलैसँग ऋण लिएर व्यवसाय गर्न सकिने बुझेको उनी बताउँछिन् । पसलबाट हुने आम्दानीले बैंकको किस्ता तिर्न, घर खर्च र छोराछोरीको पढाइ खर्च धानेको उनले सुनाइन् ।‘स–सानो खर्चका लागि पनि पहिलेको जस्तो अभाव भोग्नु परेको छैन ।’ शोभा भन्छिन्, ‘व्यवसाय पनि ठीकै छलेको छ ।’ मासिक २०–२५ हजार आम्दानी हुने गरेको उनी बताउँछिन् । किसान सहकारीअन्तर्गत गाउँको महिला समूहमा नियमित बचत पनि गर्ने गरेको उनले बताइन् ।
कैलालीको लम्कीमा केन्द्रीय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ऋण लिएर महिलाहरु उद्यमी बनेका यी केही प्रतिनिधि उदाहरण हुन् । यो सहकारीबाट ऋण लिएर धेरै महिला उद्यमी बनेका छन् । सहकारीबाट सहजै ऋण पाएपछि व्यवसायीक तरकारी खेती, बंगुरपालन, कुखुरापालन, किराना पसल, सिलाइकटाइजस्ता उद्यममा लाग्ने महिलाको संख्या ठूलो छ ।
किसान सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहले सहकारीबाट करिब ३० हजार जनाले ऋण लिएकोमा तीमध्ये करिब २९ हजार महिला रहेको जानकारी दिए । ऋण लिएका महिलामध्ये करिब ४० प्रतिशत उद्यमी बनेका उनले बताए । ‘आर्थिक अवस्था न्यून भएका दिदीबहिनीहरुलाई ऋण लगानी गरेर कृषि, पशुपालन, सिलाइकटाइ, व्यापार आदि मार्फत् उद्यमी बन्न प्रोत्साहन र सहयोग गरिरहेका छौँ ।’ महाप्रधन्धक शाह भन्छन्, ‘हाम्रो सहकारीबाट ऋण लिएर राम्रो प्रगति गरेको थुप्रै उदाहरण छन् ।’ विनाधितोसमेत सहकारीले ऋण प्रवाह गर्ने गरेको उनले बताए । महिलालाई उद्यमसँग जोड्नेसँगै गाउँगाउँमा समूह गठन गरेर बचत गर्नका लागि प्रोत्साहन पनि गर्ने गरेको सहकारीले जनाएको छ ।