चैत २४, चलचित्र ए मेरो हजुर–४ प्रदर्शनको तयारीमा छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा फिल्मका दुई ‘स्टार कास्ट’ अनमोल केसी र सुहाना थापा वैशाख १ गतेको व्यग्र प्रतीक्षामा छन् । उनीहरू भन्छन्, “झण्डै तीन वर्षको प्रतीक्षापछि हामी हलमा जाँदै छौँ । दर्शक फ्यान, फलोवर्सका बीचमा जाँदै छौँ, त्यसैले केही डर छ तर उत्साह पनि उत्तिकै छ ।”
यसबारेमा अभिनेता अनमोल भन्छन्, “फिल्ममा म सामान्य कफी बनाउने केटाको भूमिकामा छु, जुन भूमिका भयङ्कर छ, अहिलेसम्म कसैले देखेकै छैन त भन्दिनँ तर एउटा सुन्दर प्रेम कथा बोकेको चलचित्रमा एउटा ‘लभर ब्वाइ’को प्रेमको टेस्ट फरक पाउनु हुनेछ, सिङ्गो चलचित्रको स्वाद नै दर्शकले फरक पाउनु हुनेछ ।’
चक्लेटी हिरोको ट्याग पाएका अनमोल अब भर्सटायल अभिनेताका रूपमा देखिन चाहन्छन् । आफ्नो विगतलाई सम्झेर वा प्राप्त आलोचना र टिप्पणीलाई उनी सुझाव र सल्लाहको स्रोत मान्छन् । उनी आफैलाई प्रश्न गर्छन्, “म चलचित्र उद्योगमा आउँदा मात्र १७ वर्षको थिएँ । जतिबेला मैले डेब्यु गरेँ, त्यो समय मैले आफ्नो जीवन त बुझेको थिइनँ अभिनयलाई के बुझेको थिएँ होला र ?,” पुनः थप्छन्, “अहिले बल्ल २८ वर्षको भएँ, केही हदसम्म अब चाहिँ अभिनय बुझ्दै छु । पूरै बुझ्न धेरै बाँकी नै छ । अन्तर्राष्ट्रिय बजारमा भन्ने हो भने अहिलेको मेरो उमेर बल्ल एउटा अभिनेताले डेब्यु गर्ने उमेर न हो ।”
उनी उदाहरण दिँदै भन्छन्, “मान्छे भगवान्मा त खोट देख्छन् ! तर यति हो कि हरेक फिल्ममा म आफूलाई सुधार गर्दै लगिरहेको छु, त्यसमै अभ्यासरत छु ।” पछिल्लो समय अनमोलको बुझाइ प्रशंसकलाई टिकाइराख्ने अनि आलोचकलाई रुझाउनेतर्फ केन्द्रित छ । सुनाउँछन्, “फ्यान त जहिले पनि फ्यान नै रहन्छन् तर जब हामी आलोचकको कुरा गर्छौँ उहाँहरूको प्रतिक्रियालाई हेरेर सुनेर त्यहाँबाट अझ बढी सिक्दै जाने हो ।”
एउटा कालाकार अथवा अभिनेता अभिनेत्रीमाथि हुने आलोचना र टिप्पणीमाथि सुहाना केही भिन्न राय राख्छिन् । भन्छिन्, “मनोरञ्जन क्षेत्र र राजनीतिमा कोही टिकिरहनु छ भने, त्यहाँ दर्शक अनि जनताको साथ चाहिन्छ । अडियन्सले मन पराएरै यतिका वर्ष अनमोल टिकिरहेको छ ।”
अनमोलको कुरामा होमा हो मिलाउँदै सुहाना थप्छिन्, “अनमोलले भनेजस्तै कोही पनि पूर्ण हुँदैन । सबैलाई रिझाउन पनि सकिँदैन । रिझाए जतिलाई आफ्नो जे छ त्यो त दिइरहेको होइन्छ । त्यसैले सुधारका लागि सुझाव दिन्छ भने सुन्ने हो, कार्यान्वयनमा लाने हो अन्यथा आफ्नो काम गर्ने ।”
कोरोना कहरले सङ्कटमा पुगेको चलचित्र बजार बिस्तारै उठ्ने आशा गरिरहँदा चलचित्र ए मेरो हजुर–४ ले नेपाली दर्शकमाझ आफ्नो साख जोगाउने अपेक्ष गरिएको छ । तर वैशाख १ गते नै दक्षिण भारतीय चलचित्र ‘केजिएफ च्याप्टर–२’ पनि प्रदर्शनमा आउँदै छ । यसले ए मेरो हजुर–४ को सफलतामा शङ्का गरिएको छ भने निर्माण टिमको मनोविज्ञानमा पनि यसको असर देख्न सकिन्छ । यद्यपि निर्माण टिम नेपाली दर्शकले नेपाली चलचित्रलाई नै माया गर्नु हुनेमा विश्वस्त छन् । यस प्रसङ्गमा अनमोल र सुहाना पनि मनोरञ्जनका लागि, नेपाली कला र संस्कृतिका लागि अनि नयाँ वर्षमा नयाँ मनोरञ्जनको नयाँ स्वादका लागि भए पनि हलसम्म दर्शक आउनेमा ढुक्क छन् । राताेपाटी