इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । पहिलो टिपाइलाई ‘फस्ट फल्स’ समेत भनेर चिनिने पहिलो टिपाइ अन्य सिजनभन्दा गुणस्तरीय चिया मानिन्छ ।
जिल्लाको तल्लो क्षेत्रमा चियाको मुना पलाउन थालेसँगै टिपाइ सुरु भएको हो । माथिल्लो क्षेत्रमा भने चिया पलाउन सुरु मात्र भएको छ । दुई पात एक सुइरो भएको चिया टिप्न सबैभन्दा राम्रो मानिन्छ ।
यस वर्ष समयमा नै पानी परेकाले चिया किसानसमेत हर्षित छन् । जिल्लाका लेकाली क्षेत्रमा भने अझै पूर्णरुपमा चिया पलाउन सकेको छैन । गर्मी बढेका क्षेत्रमा चियापत्ती टिप्न सुरु गरिएको हो । उत्पादन कम भए पनि फस्ट फ्लस चियाको मूल्य उच्च हुने भएकाले किसानले छिट्टै चियापत्ती टिपाइ सुरु गरेका हुन् । रासस