यसरी तयार भएको थियो लोकप्रिय तीज गीत : तीजको रहर आयो बरिलै…


लेखक : सुन्दराञ्चल      भदौ २४, २०७८ मा प्रकाशित     
यसरी तयार भएको थियो लोकप्रिय तीज गीत : तीजको रहर आयो बरिलै…

तीजका कयौं गीत आए । हरेक वर्ष थुप्रै संख्यामा नयाँ–नयाँ तीजका गीतहरु सार्वजनिक हुन्छन् । तिमध्ये अधिकांश गीतहरु आएकै वर्ष हराउँछन् । तर एउटा तीज गीत छ, जुन वर्षौदेखि तीजमा गुञ्जिदै आएको छ । सो गीतमा महिलाहरु वर्षौंदेखि नाचिरहेका छन् । त्यो गीत तीजको पर्याय नै बनेको छ ।

र, त्यस गीतलाई उछिन्न अन्य गीतहरुले सकेका छैनन् ।

त्यो गीत हो, ‘तीजको रहर आयो बरिलै’ ।

०००

२०४८ सालको कुरा हो । प्रकाश थापा ‘कन्यादान’ चलचित्रको तयारीमा थिए । सोही चलचित्रको गीतको लागि गीतकारको खोजीमा लागेका थिए उनी । सोही क्रममा उनी चेतन कार्कीकहाँ पुगे ।

प्रकाशले कार्कीलाई प्रस्ताव राखे, ‘नयाँ चलचित्र कन्यादान बनाउँदैछु । त्यसका लागि गीत लेख्न भ्याउनुहुन्छ ?’

थापाले कार्कीलाई गीतको सन्दर्भबारे बताएका थिए ।

थापाले भनेअनुसार त्यसलाई कल्पना गरेर कार्कीले लेखे ;–

‘गाऔं स्वर खोलेर दिदी र बहिनी

नाचौं न मिलेर दामली सैनी

तीजको रहर आयो बरी लै

तीजको रहर आयो बरी लै’

गीतलाई संगीत भरे, मनोहरि सिंहले । अनि स्वर दिइन् सुष्मा श्रेष्ठ (पूर्णिमा)ले ।

भिडियोमा चलचित्र ‘कन्यादान’की मुख्य कलाकार गौरी मल्ल, सुभद्रा अधिकारी, बसुन्धरा भुषाल लगायतको अभिनय छ । गौरी मल्ल एकल महिलाको भूमिकामा, शुभद्रा उनकी सासू को भूमिकामा, अनि बसुन्धरा गाउँले संगीको भूमिकामा छन् । यीनै पात्रलाई समेटेर सो तीजको गीतको भिडियो तयार भयो । बसन्त श्रेष्ठको कोरियोग्राफीमा गीतको भिडियो बनेको हो । गीतको सुरुआतमा तीज आएको जनाउँदै दीदीबहिनीलाई स्वर खोलेर गाउन र मिलेर नाच्न संगीसाथीलाई आग्रह गरिएको छ ।

नौडाँडा काटेर गएका चेली भाग्यले भेट हुन पाएको, अर्को वर्ष भेट होला नहोला ? को कहाँ पुग्ने केही थाहा नभएकाले दुःख बिर्सिएर मनको धोको पुर्याएर गाउन आग्रह गरिएको छ ।  चेलीलाई माइत आउन भदौंरे भेलले नरोकेको भाव ब्यक्त गरिएको छ । त्यस्तै, सासू, आमाजू, नन्दले दिने गरेका दु:ख बिर्सिएर रमाउन आग्रह गरिएको छ । गीतमा श्रीमानको दीर्घायुको कामना गरिएको छ ।

चलचित्र सार्वजनिक भएसँगै गीतको निकै चर्चा पायो । र, हरेक स्रोता एवं दर्शकको प्रिय गीत बन्यो । हरेक वर्ष तीजमा यस गीत अनिवार्यजस्तै बन्न पुग्यो ।

अन्य केही नेपाली चलचित्रमा तीजको गीत समावेश गरियो । तर, यस गीतले जति लोकप्रियता अरुले कमाउन सकेनन् । यसअर्थमा यो गीत तीजको लागि, महिलाहरुको लागि, स्रोताहरुको लागि एउटा स्वर्णीम कोशेली बन्यो ।

चलचित्रका निर्देशक प्रकाश थापाको वर्षौ अगाडि निधन भइसकेको छ । चलचित्रकी कलाकार एवं यस गीतको भिडियोमा देखिएकी कलाकार सुभद्रा अधिकारीको दुई वर्ष अगाडि निधन भयो । त्यस्तै, यसका गीतकार चेतन कार्कीको यसै वर्ष निधन भयो ।

तीजको पर्याय

‘कन्यादान’ र सो गीतकी कलाकार बसुन्धरा भुषाल ‘तीजको रहर आयो बरिलै…’ लाई आफूले कहिल्यै बिर्सिन नसक्ने बताउँछिन् । उनले सो गीतले आफ्नो करिअरमै विशेष स्थान बनाएको बताइन् ।

‘यो गीत कहिल्यै पुरानो भएन । अहिले पनि तीजमा जहाँ गए पनि यही गीत बजाएको, सुनेको पाउँदा एकदमै गर्व लाग्छ’ उनले भनिन् । गीत सार्वजनिक भएपछि आफूलाई तीज विशेष धेरै कार्यक्रममा प्रमुख अतिथि बनाएर बोलाएको उनी बताउँछिन् ।

‘धेरैले प्रमुख अतिथि बनाएर बोलाउन थाल्नुभयो । अहिलेसम्म बोलाउनुहुन्छ । अनि सोही गीतमा नाच्न भन्नुहुन्छ’ उनले सुनाइन् ।

गीत सदावहार हुनुमा मौलिकपन रहेको उनी बताउँछिन् । भनिन्, ‘गीतले आम चेलीहरुको भावना बोलेको छ । तीजको संस्कृति बोकेको छ । त्यसैले सबैले मन पराउनुभएको जस्तो लाग्छ ।’

तीज भन्नेबित्तिकै आफूले सुरुमा यही गीतलाई सम्झने गरेको वरिष्ठ कलाकार नीर शाह बताउँछन् । उनले अनलाइनखबरसँग भने, –‘तीजको सन्दर्भ आएपछि सबैभन्दा बढी म चेतन दाइलाई सम्झन्छु । उहाँको यो गीतलाई सम्झन्छु ।’

उनी पछिल्लो समय तीजको साँस्कृतिक पक्ष कमजोर हुँदै गएको र उच्छृङ्खल पक्ष अगाडि आएको भन्दै त्यो राम्रो नभएको बताए । त्यसैले हिजोआजका तीज गीतहरु आफूले कमै सुन्ने शाहले बताए ।

…अनि रिमेक

यस गीतको ८ वर्षअगाडि रिमेक (परिमार्जित) बनेको छ । रिमेकमा शम्भुजित बासकोटाले संगीत भरे भने मञ्जु थापाले स्वर दिएकी छिन् । रिमेक भिडियोमा नेपाली चलचित्रकी अभिनेत्री करिष्मा मानन्धरसँगै बसुन्धरा भुषाल, सुभद्रा अधिकारी र सुप्रिया थापाको अभिनय छ ।

रिमेक गरिएको मिठास पहिलेकोजस्तो नभए पनि युट्युबमा राम्रो भ्यूज पाएको छ । अहिले रिमेक गरिएको गीतको भिडियोको भ्यूज १ करोड ९५ लाख वरिपरी छ । भिडियोलाई लोकदोहोरी गीतका चलेका निर्देशक एवं मोडल शंकर बिसीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् ।

१७ वर्षअगाडिको ‘चिटिक्कै भा छु रे’

तीजको अर्को सदावहार गीत हो, ‘चिटिक्कै भा छु रे’ । यो २०६१ सालतिर सार्वजनिक गीत हो । गीत लेखेका हुन्, राजकुमार बगरले । यसमा सुदाम थापाले संगीत भरेका हुन् भने सिन्धु मल्लले स्वर दिएकी छिन् ।

संगीतकार सुदाम र सिन्धु श्रीमान–श्रीमती हुन् । उनीहरुसँग सल्लाह गरेर गीत तयार पारेको राजकुमार बताउँछन् ।

गीत सार्वजनिक भएसँगै निकै चर्चा पाएको थियो । हरेक वर्ष यस गीतमा पनि महिलाहरु नाच्दै आए । लोकप्रियताकै खातिर गीतलाई दुई वर्ष अगाडि रिमेक गरिएको छ । शिव वि.कको कोरियोग्राफी एवं निर्देशनमा बनेको भिडियोमा अभिनेत्री आँचल शर्मा फिचरिङ छिन् । गीतलाई १ करोड ७५ लाख पटक हेरिएको छ । गीतकार राजकुमार गीतमा महिलाहरुको साझा कथा भएको हुनाले नै गीत रुचाइएको बताउँछन् ।

पहिले थुप्रै गीतहरु लोकप्रिय भएका छन् । यद्यपि युट्युबको व्यापकता नहुँदै सार्वजनिक ती गीतको भ्यूज कम पाइन्छ । कतिपय गीतहरु युट्युबमा भेटाइँदैन । हरिदेवी कोइराला, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, प्रजापति पराजुली, विष्णु माझी लगायत कलाकारहरुका तीजगीत लोकप्रिय छन् । पछिल्लो समय सार्वजनिक थुप्रै गीतले युट्युबमा करोड भ्यूज पाएका छन् ।

सात वर्ष अगाडि सार्वजनिक तीलक वली र आकृति खड्काको स्वरमा रहेको ‘हङकङको साडीले’ लाई अहिलेसम्म १ करोड ५२ लाख पटक हेरिएको छ ।

दुर्गेश थापाले दुई वर्ष अगाडि गाएको ‘बिच्च बिच्चमा’लाई युट्युबमा १ करोड ६० लाखले हेरेका छन् । त्यस्तै दुर्गेशकै गत वर्ष सार्वजनिक ‘बिच्च बिच्चमा २’लाई १ करोड ४१ लाख बढी पटक हेरिएको छ । खेम सेञ्चुरी र मधु क्षेत्रीको स्वर रहेको ‘सोँचेझै जिन्दगी रैनछ’लाई युट्युबमा १ करोड ७५ लाख पटक हेरिएको छ ।

कमला घिमिरे र खेम सेञ्चुरीको स्वरमा गत वर्ष नै सार्वजनिक तीज गीत ‘लरि लरिलै’लाई १ करोड १ करोड ४३ लाख पटक हेरिएको छ । यस वर्ष सार्वजनिक ‘चरी जेलैमा’ ‘कुरा बुझ्न पर्च’ लगायतका केही तीज गीत पनि युट्युबमा करोड बढी पटक हेरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap