चिसो बढेपछि कैलालीको टीकापुरमा दाउरा वितरण


लेखक : सुन्दराञ्चल      पुस २०, २०८१ मा प्रकाशित     
चिसो बढेपछि  कैलालीको टीकापुरमा दाउरा वितरण

  २० पुस टीकापुर , कैलालीको टीकापुर क्षेत्रमा चिसो बढेपछि चोकचोकमा दाउरा वितरण थालिएको छ । विभिन्न सङ्घसंस्था र सामुदायिक वन मिलेर चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालिएको हो ।

तराई क्षेत्रमा विगत पाँच दिनयता चिसो बढेको छ । हुस्सु, कुहिरो तथा शीतलहरले जनजीवन कष्टकर भएपछि नेपाल कम्युनिष्ट पार्टी ९एमाले० नगर कमिटीले भुराखानी सामुदायिक वनसँग रूखका जरा मागेर बजार क्षेत्रका चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाएको छ । एमालेका नगर अध्यक्ष लक्ष्मण थापाले पार्टीले ट्याक्टर र जेसिबीको सहयोगमा सामुदायिक वनसँग दाउरा मागेर बजारका केही चोकमा आगो ताप्ने व्यवस्था मिलाएको बताए ।

यस्तै टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले समेत ज्येष्ठ नागरिक उपभोक्तालाई दाउरा वितरण गर्ने तयारी गरेको छ । अध्यक्ष जीतराम चौधरीका अनुसार विगतका वर्ष झैँ यस वर्ष पनि सामुदायिक वनमा रहेका रूखका जरा निकालेर दाउरा वितरण गरिनेछ ।

“गत वर्ष ७० चोकमा दाउरा वितरण गरेका थियौँ”, उनले भने, “यस वर्ष पनि तिनै ठाउँमा दाउरा दिइनेछ । चिसो बढेकाले वनसँगै जोडिएका गैरउपभोक्तालाई पनि दाउरा उपलब्ध गराउने गरेका छौँ ।” चोकचोकमा आगो बालेमा बाटोमा हिँड्ने नागरिकलाई समेत सुविधा हुने स्थानीय बताउँछन् । रासस

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap