धनगढी पुष ०८, भोलिदेखि धनगढीमा ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा शैक्षिक महोत्सव हुन लागेको हो ।
महोत्सवमा सुदुरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामाग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्वन्धित निकायहरुका गरी एक सय बढी स्टल रहेको संघका कैलाली जिल्ला अध्यक्ष भीम पडालले जानकारी दिए ।
महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने बताउँदै उनले सुदूरपश्चिमका परिकारसहितका खाना र खाजाका स्टल राखिएको बताए । शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयहरुमा बहस पनि सञ्चालन तथा त्यसमा मदन पुरस्कार विजेता साहित्यकारहरुका साथै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुको पनि सहभागीता रहने जनाइएको छ ।
महोत्सव अवलोकनका लागि विद्यालय र क्याम्पसका विद्यार्थीहरु सामुहिक रुपमा पोशाकमा आएमा निशुल्क प्रवेश,अन्य विद्यार्थी स्वस्फुर्त रुपमा आएमा रु. ५० टिकटदर राखिएको,सर्वसाधारणलाई रु. १०० राखिएको छ ।
जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तीहरुलाई महोत्सवमा प्रवेश निशुल्कको व्यवस्था गरिएको जनाइएको छ ।
