एनपीएलको माहोलमा फस्टाएको खुद्रा व्यापार


लेखक : सुन्दराञ्चल      मंसिर २१, २०८१ मा प्रकाशित     
एनपीएलको माहोलमा फस्टाएको खुद्रा व्यापार
काठमाडौं मंसिर २१, सडक पेटीमा बसेर खुद्रा व्यापार गर्नेहरुका लागि कुनै ठूलो मेला लागे त्यसको बेग्लै महत्त्व हुन्छ । धेरै मानिसको जमघट भएका वेला व्यापार फस्टाउने र राम्रो आम्दानी हुने भएकाले उनीहरू ती ठाउँमा पुग्छन् । अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग चलिरहेका वेला दैनिक हजारौं मानिस पुग्ने भएकाले आसपासमा खुद्रा व्यापार समेत फस्टाएको छ ।विश्वमै खेलकुदलाई आर्थिक वृद्धि र पर्यटन विकासको ठूलो माध्यमको रूपमा हेर्ने गरिन्छ । कीर्तिपुरको त्रिवि मैदानमा भइरहेको नेपाल प्रिमियर लिगले पनि यसको प्रमाणित गरिरहेको छ । किनकि कीर्तिपुरमा अहिले दैनिक हजारौं व्यक्ति खेल हेर्न पुग्ने गरेकाले खुद्रा व्यापारीको व्यापार फस्टाएको छ । अघिपछि ग्राहक कुर्न सडक पेटीमा घण्टौं प्रतीक्षा गर्ने व्यापारीलाई अहिले भ्याइनभ्याई छ ।

मैदान बाहिर पानी, चट्पटे, पानीपुरी, बदाम, आइसक्रिम र पोलेको मकैको व्यापार फस्टाएको छ । यस्तो व्यापारले दर्शकलाई पनि सजिलो भएको छ ।

रोचक त के छ भने यही ठाउँमा विना लगानीको व्यवसाय पनि चलिरहेको छ । त्यो हो- हेल्मेट कुरुवा । एनपीएल आयोजकले सुरक्षाका कारण दर्शकलाई मैदानभित्र हेल्मेट लैजान नदिएपछि कुरुवालाई निश्चित शुल्क बुझाएर राख्न दिने गरेका छन् । कुरुवाले एउटा हेल्मेट राखिदिए बापत ५० रुपैयाँ लिने गरेका छन् । यस्ता व्यक्तिले दैनिक पाँच हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।एनपीएलकै कारण ठूला होटल र अन्य व्यापार व्यवसाय समेत चलायमान बनेको छ । एनपीएलले एक अर्बको अर्थतन्त्र चलायमान बनाउने आकलन छ । यो प्रतियोगिताले खुद्रा व्यापारदेखि लगानी विनैको व्यापार समेत फस्टाएको छ । एउटा खेलले यति धेरै अर्थतन्त्र चलायमान बनाउँछ भने राज्यले भलिबल, फुटबल लगायत अन्य सम्भावनायुक्त खेलको पूर्वाधारमा पनि लगानी गरी ठूला प्रतियोगिता गर्न सके देशको अर्थतन्त्र बलियो बनाउन पक्कै पनि सहयोग पुग्न सक्छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap