कैलाली कार्तिक २७, सुदूरपश्चिम प्रदेश सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै एक सय दिनको उपलब्धी प्रदेश सरकारले सार्बजनिक गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री कमलबहादुर शाहलेएक सय दिनमा गरेको उपलब्धी प्रस्तुत गरेका छन ।‘सय दिनको यो अवधि शासकीय दृष्टिले राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा उपलब्धिमूलक रह्यो। तोकिएको समयभित्रै बजेट आउन नसकेको यस अवधिको सुरुवाती समयमा राजनीतिक, प्रशासनिक र आर्थिक विषयमा सहमति जुटाउने, प्रदेश सभाको विश्वास लिई राजनीतिक स्थायित्व र सुशासनको प्रत्याभूति दिने गरी विकास प्रयास र सेवा प्रवाहको बलियो जग बसाउने पथ तय गर्ने आधारभूत कार्य पूरा भएको छ’, उनले भने, ‘राजनीतिक रूपमा यो सरकारले स्थायित्व हासिल गरेको छ ।’
एक सय दिनको अवधि शासकीय दृष्टिले राजनीतिक, आर्थिक र प्रशासनिक पक्षमा उपलब्धिमूलक रहेको मुख्यमन्त्री शाहले दाबी गरेका थिए ।यस अवधिमा प्रदेश सरकारले प्रदेशभित्र वित्तीय पारदर्शिता, सुशासन प्रवर्द्धन, भ्रष्टाचार न्यूनीकरण तथा समग्र सेवा प्रवाह, विकास निर्माण र राजस्व संकलन लगायत नागरिक सरोकारका विविध पक्षहरूमा केन्द्रित रही काम गरेको उनले बताए ।
शाह नेतृत्वको सुदूरपश्चिम सरकार गठन भए यता बजेट सार्वजनिक गरिएको, विभिन्न नीति, ऐन, विधेयक तथा नियमावलीहरू निर्माण भइरहेको, सुशासनमा जोड दिइएको जस्ता विषय उल्लेख छन् ।
प्रदेश मातहतका सेती, महाकाली र टीकापुर प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक, एकल महिला र क वर्गका अपाङ्गता भएका नागरिकलाई निःशुल्क परीक्षण र औषधी व्यवस्थापनको सुरुवात गरिएको उपलब्धिमा उल्लेख छ ।