सुदूरपश्चिम स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख हटाउन समितिको निर्देशन


लेखक : सुन्दराञ्चल      फाल्गुन १४, २०८० मा प्रकाशित     
सुदूरपश्चिम स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख हटाउन समितिको निर्देशन

फागुन १४ धनगढी, सामाजिक विकास समितिले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. नीरज अर्याललाई हटाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । आईतबार बसेको बैठकले फोहर मैला व्यवस्थापन प्लान्ट (अटोक्लेभ) खरिदमा अर्याल विवादमा मुछिएको भन्दै छानबिन नहुँदा सम्म हटाउन निर्देशन दिने निर्णय गरिएको हो ।
उक्त विषय छानबिनको लागि काठमाडौँबाट विज्ञ टोली मगाउने पनि समितिले निर्णय गरेको छ । ९ करोड २० लाख बजेट विनियोजन भएको उक्त कार्यक्रममा टीकापुर अस्पताल, महाकाली अस्पताल, बैतडी र बझाङ अस्पताल फोहर मैला व्यवस्थापन प्लान्ट स्थापना गर्ने भनिएको छ । जबकि, ती कुनै पनि अस्पतालको प्राथमिक माग फोहर मैला व्यवस्थापन प्लान्ट थिएन ।
उक्त अस्पतालमा फोहर मैला व्यवस्थापन उपकरण छँदै छ । कैलालीको टीकापुर अस्पतालमा फोहोर मैला व्यवस्थापन प्लान्ट सञ्चालनमा छ । आवश्क्तानै नभएको उपकरण खरिद गर्न लागेको भन्दै प्रदेश सभामा पनि यसको विरोध भइरहेको छ । आज यस विषयमा थप छानबिन गर्ने र त्यो बेला सम्म उक्त जिम्मेवारीबाट प्रमुख अर्याललाई हटाउन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको समितिका सदस्य ओमविक्रम भाट ले जानकारी दिए ।
यस विषयमा सामाजिक विकास समितिमा अघि नै यस उजुरी परेको थियो । मन्त्रालयलाई छानबिन गर्ने पनि भनिएको थियो । उक्त निर्णयमा तीन सांसदले असहमति जनाएका छन् । एमालेका हिरा सार्की, धर्मराज पाठक र निर्मला साउदले नोट अप डिसेन्ट लेखेका हुन् । एमाले सांसद तथा समिति सदस्य धर्मराज पाठकका अनुसार मन्त्रालयले दिएको प्रतिवेदनमा कानुन सम्मत भएको उल्लेख गरिएको छ । समितिको प्रतिवेदन सही वा गलत भन्ने विषयमा निर्णय गरेको छैन ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap