धनगढी फागुन ८,राष्ट्रिय समाचार समिति सुदूरपश्चिमले ६३ औँ वार्षिकोत्सव मनाएको छ । धनगढीमा मंगलबार “सुशासन र समृद्धिका लागि रासस” विषयक अन्तरक्रिया कार्यक्रम गर्दै रासस सुदूरपश्चिम प्रदेशले ६३ औँ वार्षिकोत्सव मनाएको हो । राष्ट्रिय समाचार समिति सुदूरपश्चिमका प्रमुख सिद्धराज भट्टको अध्यक्षत्यतमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी रहेका थिए ।
कार्यक्रममा बोल्दै सभामुख भण्डारीले राससले अहिले सम्म जसरी निष्पक्ष कलम चलाएको छ त्यसरी त्यसलाई निरन्तरता दिनुपर्ने बताए । राससले अहिले सम्म आफ्नो स्वाभिमान र अडानलाई लामो समय सम्म बचाइरहेको उनले बताए । उनले आगामी दिनमा पनि यसरी नै काम गर्नु पर्ने सुझाव दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन मिडियाको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।
यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले सुशासन र समृद्धिका लागि पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा बोल्दै काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले मिडिया राष्ट्रको चौँथो अंग भएको बताए । अहिले धेरै सञ्चार माध्यमले कपोलकल्पित समाचार लेख्ने गरेकोले यस्ता कार्य नियन्त्रण गर्न जरुरी रहेको उनले बताए । राष्ट्रिय समाचार समितिले राष्ट्रकै सबै भन्दा विश्वसनीय समाचार प्रदान गर्ने संस्था रहेको समेत उनले बताए । उनले थपे यसले राज्य सञ्चालनका सम्पूर्ण निकायलाई सुसूचित गराउने गर्दछ । लोकप्रियताको लागि पत्रकारिता राम्रो होइन ।
यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले राससले लामो समय देखि सञ्चार क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । सञ्चार माध्यमले सत्य तत्थ सूचना दिन चुक्नु नपार्ने उनले बताए । सूचना दिनमा पत्रकारले आफूले लेखेको समाचारमा सत्य तत्थ र निष्पक्ष छ कि छैन भन्ने कुरा बुझेर मात्र समाचार प्रकाशन गर्न अनुरोध गरेका छन् । अहिले सबै फेसबुक पेज खोलेर आफू पत्रकार भन्दै मिडियाको बद्नाम गरिरहेकाले यस्ता कार्य नियमन गर्नु जरुरी रहेको छ । सबै पत्रकार यसबाट सचेत रहनु पर्ने उनले बताए ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाह, जिल्ला अध्यक्ष हिमालय जोशी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन राससकी घोडाघोडी संवाददाता इन्दु केसीले गरेकी थिइन् भने स्वागत मन्तव्य राससका अत्तरिया संवाददाता सुरेन्द्र ताम्राकारले राखेका थिए । कार्यक्रममा पत्रकारहरूको सहभागिता रहेको थियो । 