ईपीएस कोरिया शाखाले आवेदन फारम भर्दा बढी काटिएको पैसा फिर्ता गर्ने


लेखक : सुन्दराञ्चल      माघ ४, २०८० मा प्रकाशित     
ईपीएस कोरिया शाखाले आवेदन फारम भर्दा बढी काटिएको पैसा फिर्ता  गर्ने

 माघ ४,  रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाका लागि आवेदन फारम भर्दा बढी गएको पैसा फिर्ता गरिएको छ । ईपीएस कोरिया शाखाले आवेदन फारम भर्दा बढी काटिएको पैसा फिर्ता गरेको हो ।
ईपीएस मार्फत कोरियामा रोजगारीका लागि गत पुस २ देखि ६ र १६ गतेदेखि २० गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि आवेदन फारम आह्वान गरेको गरिएको थियो । त्यो बेला १ लाख ६४ हजार भन्दा बढीले आवेदन फारम भरेका छन् । धेरै व्यक्तिले एकैपटक आवेदन फारम भर्ने क्रममा अनलाइन सिस्टम नै स्लो भएको थियो । जसले गर्दा पैसा तिरेको नदेखिने तर, सिस्टमले पैसा भने काटेको थियो । कतिपयको एक पटकभन्दा बढी पटक पैसा काटेको थियो । ईपीएस कोरिया शाखाले उक्त बढी भुक्तानी भएको पैसा फिर्ता गरेको हो ।ईपीएस कोरिया शाखाले एक पटकभन्दा बढी आवेदन शुल्क भुक्तानी भएको आवेदकहरूको बढी भुक्तानी भएको शुल्क जुन एकान्टबाट भुक्तानी भएको थियो सोही एकाउन्टमा फिर्ता गरिएको जनाएको छ । परीक्षा फारम भर्दा प्रयोग गरेको आफ्नो एकाउन्ट चेक गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
यो पटक उत्पादनमूलक क्षेत्रका अहिलेसम्मकै सबैभन्दा बढीले आवेदन फारम भरेका छन् । पानी जहाज निर्माण क्षेत्रका लागि २०२३ मा आवेदन फारम भरेकाहरूलाई समेत अवसर दिएपछि आवेदन फारम भर्नेको संख्या १ लाख ६४ हजार ७१६ पुगेको थियो ।
आवेदन शुल्क २८ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । उक्त संख्यामा फारम भर्दा ४६ लाख १२ हजार ४८ अमेरिकी डलर शुल्क उठेको थियो । उक्त रकमको नेपाली रूपैयाँमा हिसाब गर्दा (एक डलर बराबर १३२.९८ रूपैयाँ) ६१ करोड ३३ लाख १५ हजार ६७७ हुन आउँछ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap