‘युद्धमा नगई सुखै छैन’रुसी सेनामा नेपालीलाई


लेखक : सुन्दराञ्चल      पुस २, २०८० मा प्रकाशित     
‘युद्धमा नगई सुखै छैन’रुसी सेनामा नेपालीलाई

सम्झौता रद्द गरी नेपाल फिर्ता पठाइदिन परिवारद्वारा रुसी सरकारलाई आग्रह

काठमाडौँ — कान्छो छोरा रुसी सेनामा भर्ती हुन घर छोडेदेखि नै सुरुङ–२, सप्तरीकी ७० वर्षीया गीता बस्नेतलाई चैन थिएन । त्यसमाथि डोनेस्क, युक्रेनमा खटिएका ३२ वर्षीय छोराले पटकपटक गोली खाइरहेको खबरले गीतालाई भोक न प्यास छ । कान्छी बुहारी रेखा त खबर सुनेदेखि नै अर्धचेत छिन् ।

चार वर्षकी छोरी, एक वर्षका छोरा र वृद्धआमा गीताको जिम्मेवारी पत्नी रेखालाई छाडेर सन्तोष बस्नेत साउन ७ मा रुस पुगेका थिए । त्यसको १६ दिनपछि उनी रुसी सेनामा भर्ती भए । त्यसपछि युक्रेनको डोनेस्कमा ६९ दिन सैन्य तालिम लिएपछि ५ पटक युक्रेनविरुद्धको युद्धमा सहभागी भइसकेका छन् । तीन पटक त गोली नै खाइसकेका छन् । अहिले उनी सैन्य क्याम्पमा स्वास्थ्य लाभ गरिरहेका छन् । ‘गोली खाएपछि पूरै आराम गर्न पाएको छैन । अलिअलि खुट्टा टेक्नेबित्तिकै युद्ध लड्न पठाउँदो रहेछ,’ गीताले भनिन्, ‘हामीलाई पीरचिन्ता हुन्छ भनेर छोरो आफैं केही भन्दैन । साथीहरूसँग सोधखोज गर्नुपर्छ ।’

उनीहरू बस्नेतलाई जतिसक्दो छिटो सेनाबाट निकाल्न चाहन्छन् । अहिलेसम्म कतैबाट आडभरोसा मिलेको छैन । ‘लौन बाबु, हामी त मर्ने बेला भइसक्यो । तपाईंहरूको बोली लाग्छ,’ गीताले कान्तिपुरसँग भनिन्, ‘कतिलाई भनिसकियो । यता चिन्ताले बुहारी मर्ने भई ।’ झन् श्रीमान्ले बाँच्ने अवस्था एक प्रतिशत पनि नभएको खबर सुनाउँदा रेखाको ओठमुख सुकेको छ । ‘कतिखेर लडाइँमा लैजान्छ, केही थाहा हुँदैन रहेछ । युद्धमा गएपछि कोही सद्दे फर्केका छैनन् । कि मरेका छन् कि घाइते भएर आएका छन्,’ रेखाले भनिन्, ‘रुस जानुभयो । युद्ध पनि लड्नुभयो । भाग्यले तीन पटक बाँच्नुभयो । अब उहाँ सकुशल नेपाल आएको हेर्न चाहन्छौं । उहाँलाई पठाइदिन रुसलाई बिन्ती चढाउँछौं । हामीलाई पैसा चाहिएन । तलब पनि पर्दैन । मेरो श्रीमान्लाई पठाइदेऊ । भो, अब नराख । म तनावले डिप्रेसनमा गइसकेको छु ।’

प्रधानमन्त्री पुष्पकमल दाहालको दाबीअनुसार रुसी सेनामा दुई सय नेपाली भर्ती भएका छन् । रुसी सेनामा भर्ती भएका नेपालीका अनुसार भने कम्तीमा ७ सय जना छन् । भर्ती भएका नेपालीहरू रुस–युक्रेनको बोर्डरमा छरिएका छन् ।

कान्तिपुरको सम्पर्कमा आएका नेपालीहरूले अवस्था सोचेको भन्दा निकै डरलाग्दो रहेको बताए । ‘हामीसँग दुईवटा विकल्प मात्रै छ । कि मार्नुपर्ने हुन्छ । कि घाइते भएर क्याम्पमा फर्कनुपर्छ । युद्धमा गएर सकुशल भएर फर्केका नेपाली विरलै छन्,’ एक घाइते नेपालीले कान्तिपुरलाई भने, ‘कसैको आँखा छैन । कसैको खुट्टा छैन । कसैको हात । सद्दे मान्छे नै छैन ।’

उनका अनुसार आफ्नो समूहमा घाइते भएर फर्केका केही नेपालीको त उपचार नै सम्भव नभएर त्यत्तिकै अस्पतालमा राखिएको छ । उनले धेरै संख्यामा नेपालीको मानवीय क्षति भइसकेको बताए । ‘हामीले सोचेभन्दा शून्य प्रतिशत पनि यहाँ मिलेन । मैले भारत र पाकिस्तानको जस्तै वारिपारिमा बसेर लडाइँ हुन्छ होला भनेर सोचेर आएको थिएँ,’ ती नेपालीले भने, ‘युक्रेनको भूमि कब्जा गर्न भेडाबाख्रालाई चराउन लगे जसरी पठाउँछ । अगाडि र पछाडि भन्ने हुँदैन । युक्रेनीहरू डिफेन्स लिएर बसेका हुन्छन् । हामी खुला रूपमा अगाडि बढ्नुपर्छ । डिफेन्स लिएर बसेको युक्रेनी निसानाबाजले ड्याम्म ड्याम्म हानेर बाटोमा नै सिधाइदिन्छ । यहाँ मार्ने मात्रै हुँदो रहेछ । बाँच्ने अवस्था नै हुन्न । आँखा अगाडि मान्छे मरेको देख्दा रुन मन लाग्छ । सम्झिँदै पनि मुटु फुल्छ । मैले यस्तो जिन्दगीमा कहींकतै देखेको थिइनँ । फिल्ममा पनि देखेको थिइनँ ।’

अर्का नेपालीले लडाइँमा गएकामध्ये १० प्रतिशत पनि बाँचेर क्याम्प नफर्किने बताए । ‘हामी रुसी सेनासहित ४० जना गएका थियौं । ८–१० जना मात्रै फर्कियौं । त्यसमा सबै घाइते नै थिए,’ उनले भने, ‘असिना झरेजस्तै गोली बर्सिन्छ । कसरी बाँचेर आउने ? घरतिर रुवाबासी छ । अहिले यहाँ भएका केटाहरू डिप्रेसनमा गइसके ।’ अर्का एक नेपालीले करिब सय जना सम्पर्कविहीन रहेको बताए । ‘रुसले भर्ना गर्ने बेला हाम्रो ह्वाट्सएपको समूह बनाइदिएको छ । अहिले यो समूहमा सय जना सम्पर्कमा छैनन् । सबै आ–आफ्ना साथीहरूले खोजिरहेका छन् । कहाँ कस्तो अवस्थामा छन्, कसैले पत्ता लगाउन सकेका छैनन् । सबैले आआफ्नो समूहबाट सम्पर्कविहीन भएका साथीहरूको संख्या दिइरहेका छन् ।’

मिथिला नगरपालिका–७ ढल्केवार, धनुषाका पवन गजमेरले असोज ११ देखि आफ्नो काइँला भाइ विमलकुमार सम्पर्कविहीन भएको बताए । दुबईमा बाइक राइडरको काम गरिरहेका विमल गत भदौ २४ मा रुसी सेनामा भर्ती भएका थिए । सेनामा भर्ती भएको १८ औं दिनमा नै विमललाई युद्ध क्षेत्रमा खटाइएको थियो । ‘मेरो भाइसँग अन्तिम पटक असोज ११ मा भिडियो कल भयो । उसले आफ्नो समूहमा ३० जना रहेको देखायो । त्यसमध्ये ९ जना अरू ठाउँमा जाँदै छन् । भाइले लैजान लागेको गाडी देखायो,’ पवनले कान्तिपुरसँग भने, ‘त्यसपछि अहिलेसम्म भाइ सम्पर्कमा आएको छैन । दिनहुँ फोन र म्यासेज गर्ने कोसिस गरे पनि अनलाइनमा आएनन् ।’

उनले भाइसँग रहेका धेरैसाथीसँग सम्पर्क गर्दा पनि नभेटिएको बताए । ‘मेरो भाइलाई चिन्ने रामचन्द्र श्रेष्ठलाई सम्पर्क गरें । उनी रुसी सेनाबाट भागेर केही दिन अगाडि मात्रै नेपाल पुगेका रहेछन् । उनले पनि भाइलाई नभेटेको खबर सुनाए । मेरो भाइ कुन अवस्थामा छ भन्ने कसैले बताउँदैन,’ कुवेतमा कार्यरत पवनले भने, ‘मेरो भाइको अवस्थाबारे रुसी सेनाले पनि केही बताउँदैन । अहिले मेरो परिवार दुःखमा छ । मेरो बूढा बुबाआमा आफैंलाई सम्हाल्न असमर्थ हुनुहुन्छ । एक दिन भाइ फर्केर आउनेछ भन्ने विश्वासमा छौं ।’ सबैभन्दा बढी नेपालीहरू युक्रेनको डोनेस्क, बागुमत र मारियापुल क्षेत्रमा तैनाथ छन् । कतिपय घाइतेहरूलाई मस्को पनि लगिएको छ । घाइते भई क्याम्पमा राखिएकाहरूको भने सामान्य औषधि उपचार भइरहेको छ । ‘हामी १५ जना नेपालीको समूह थियो । पाँच जना घाइते भएर फर्केका छौं । अरूको साथीहरूबारे थाहा छैन,’ उनले भने, ‘सामान्य घाइते भएकाहरू युद्ध क्षेत्रमा घाइते बोक्न गइराख्नुपर्छ । मेरो गोली लागेको खुट्टा दुखिरहेको छ । तैपनि घाइते बोक्न गइराख्नुपर्छ ।’

४२ जनाको समूहबाट सम्पर्कमा आएका एक नेपालीले आफूहरूको दिमागले नै काम नगरेको बताए । ‘यहाँ मान्छे मर्ने र मार्नेभन्दा अर्को काम हुँदैन रहेछ । ४२ जनाको समूह थियो । यो टोलीका सबै मान्छे छैनन् । ६ जना मेरो पोस्टबाट हराए,’ उनले भने, ‘यस्तो लडाइँ त विश्वयुद्धमा पनि भएको थिएन होला । गएपछि मरेर वा मारेर आउनुपर्‍यो । कि घाइते भएर आउनुपर्‍यो । त्यत्तिकै फर्केर आउन पाइँदैन ।’ उनीहरूले आफूहरूलाई छिट्टै नेपाल फर्काउन सरकारसमक्ष अपिल गरेका छन् । सरकारले रुसलाई नेपालीलाई आफ्नो सेनामा भर्ती नगर्न र भर्ना गरेकालाई फिर्ता पठाउन आग्रह गरिसकेको छ । तर, रुसले नेपाली भर्नालाई खारेज गरेको छैन । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेना भर्नाका बारेमा नेपालले काठमाडौंस्थित रुसी राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर नेपालको धारणा स्पष्ट रूपमा राखेको बताए । होम कार्की

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap