हैन साँच्ची नै नेपालमा भविष्य नभएकै हो त ?


लेखक : सुन्दराञ्चल      मंसिर २३, २०८० मा प्रकाशित     
हैन साँच्ची नै नेपालमा भविष्य नभएकै हो त ?

मंसिर २३ हिजोआज घर–घरमा, गल्ली–गल्लीमा, चोकचोकमा चल्ने, सुन्ने कुरा विदेशकै छ । समाचारका हेडलाइन ‘यति विदेशिए, उति विदेशिए’ देखिन्छ । सामाजिक सञ्जालतिर विमानस्थलमा लाइन लागेका युुवाका फोटा देखिन्छन्, राहदानी विभागतिरका फोटा आउँछन्, ठेलमठेल ।यही दृश्य देख्दादेख्दा राम्रोसँग ननिदाएको पनि धेरै भएछ । बिहान उठ्छु, यसो मोबाइलमा हात जान्छ । देख्छु–कन्सल्टेन्सीको बधाईका पोस्ट । यसो स्क्रोल गर्छु । देखिन्छ, ‘शुभयात्रा साथी, भाञ्जा, भाइबहिनी, छोराछोरीहरु !’यी सबै कुरा छोडेर आफ्नै कामलाई फोकस गर्छु भन्छु । फेरि त्यही कुराले छोड्दैन । घरमा पियारी भन्छिन्, ‘बाबा, हैन हजुर नजाने हो भने म नै जान्छु ।’ कति रहर हो हामीलाई अरूको देशमा गएर, अरूको पाउ मोलेर पेट पाल्न ।

हैन साँच्ची नै नेपालमा भविष्य नभएकै हो त ? दिक्क लाग्छ र लाग्छु झोला बोकेर डाँडाकाँडा । त्यता जाँदा नि छाड्दैनन् यही कुराले यसो गाडीका गुरूजीलाई सोध्छु, ‘कस्तो छ कमाइ ?’उत्तर पाउँछु, ‘कमाइत यताउता गरेर राम्रै हुन्छ । तर, बच्दैन । अब बाहिर जान लागेको, भिसा कुर्दैछु ।’ यी सबै कुरा लेख्छु भनेर उतार्दाउतार्दा फेरि दिक्क लाग्छ । तर, सानो आशाको दियो बाँकी नै छ । सुन्नु छ ‘यहीँ छ भविष्य छ’ भनेर भनिदिने कोही भेट्छु कि भन्ने ।

एक दिन कफी खाँदै गर्दा एकजना दाइ टुपुलुक्क आइपुग्नु भो । उहाँसँग यी भडास पोखें । आशा थियो–दाइबाट केही न केही राम्रै, कानले सुन्न चाहेको कुरा सुन्न पाउँछु । तर, फेल भएँ ती दाइ पनि २ महिनापछि क्यानडा सपरिवार जाँदै हुनुहुँदो रहेछ । भन्नुभो, ‘भाइ लागे हुन्छ तिमी पनि ।’

‘हुन्छ दाइ जाने हो । तर, अहिले केही राम्रै छ व्यापारमा अल्लिपछि तिर सोच्नु पर्ला’, उत्तर दिएँ ।

‘तिमी हाम्रो जिन्दगी जसोतसो काटौला ! तर, बच्चाको भविष्य हेर्नुपर्छ’, दाइको सुझाव ।

आफ्नै भविष्य बनाउन लागिरहेको बेला छोराको भविष्य म कसरी सोच्न सकुँदा ? पहिला आफ्नो भविष्य राम्रो बनाउन सक्नुपर्छ र बनाउँछु भन्ने हो । मेरो भविष्य गतिलो भएपछि त पक्कै पनि छोरोको राम्रो हुनेछ ।

सयौं दाइ, भाइ, दिदीबहिनी बुबाआमाहरूसँग सल्लाह मागीमागी दिक्दार भएँ । कोही भेटिएनन्, जसले भनिदेओस्–यहीँ छ भविष्य छ । म आफूले पनि जहिल्यै स्वदेशमै आफ्नो भविष्य देख्न खोजें । विदेश नछिरी यही आफ्नो मूलथलोमै जरो गाड्न खोजें ।

एक दशक वेटर, क्याप्टेन, सुपरभाइजर म्यानेजर हँुदै हजारौं जुठाभाँडा उठाइउठाई काम गरें । व्यवसायमा आएर पनि २/३ कम्पनी चुर्लुम्म डुबाएर यहाँसम्म आएँ । यति गर्दा पनि के यो देशमा मेरो भविष्य छैन त ?

दु:ख मेहनत गरी अहिले १२/१४ जना कर्मचारीलाई रोजगार दिई कुनै दिन पनि उनीहरूको मन नदुखाई ‘बेस्ट ओनर’ बन्न खोज्दैछु । उनीहरू सँगसँगै आफ्नो चुलो पनि बालिरहँदा अझै म मेरो भविष्य खोज्नुपर्ने हो ? मैले आफ्नो भविष्य खोज्दै गर्दा उनीहरूको भविष्यचाहिँ के हो?

मेरो सानैदेखिको सपना थियो, ‘मेहनत गर्छु र एक दिन भविष्यमा राम्रो साहु बन्छु ।’ अहिले सब ठीकठाक छ, व्यापार राम्रै छ । आफ्नो कामप्रति, प्राप्तिप्रति खुसी नै छु । र पनि कोही हुरीझैं आउँछन् र भनिहाल्छन्, ‘यो देशमा तेरो भविष्य छैन । विदेश कहिले जान्छस् ?’

मलाई थाहा छैन–यो देशमा भविष्य छ या छैन । मलाई थाहा छैन – भविष्य भनेको के रहेछ ?

केही समय पहिले विदेश जान्छु भनेर विदेशिएका सबै मित्रसँग कुराकानी गरेँ । अहँ त्यहाँ पनि कहाँ सजिलो रैछ र ? एकरात छिमेकीको घरमा गएर सुतेजस्तो दुखजिलो होइन रहेछ परदेश । यहाँ त कुरा छ अरूको देशमा गएर कमाएर जीविका चलाउनु छ ।

अनि अझै बस्न, कमाउन र भविष्य सुनिश्चित गर्न पीआर लिनुपर्ने रे ! अनि, फेरि सर्वस्व त्यागेर त्यसैको पछि डौडिनुछ । पीआर पाए त केही हदसम्म ठीकै होला, नपाए ? के हो यस्तो बाध्यता ? जसले देशै छोड्न बाध्य पारिरहेको छ । आफ्नै जन्म थलोलाई सरापीसरापी अर्काको देशको दोस्रो दर्जाको नागरिक भएर बाँच्नु नै भविष्य हो त हाम्रो ?

के हामीले आफ्नो काम, व्यापारमा विदेशमा जतिनै मेहनत र समय दिएका छौं त ? अन्योल नै अन्योलको जिन्दगीमा बाँच्नुपर्ने हामी सबै हौं या ममात्र ? समस्या आखिर कहाँ छैन होला ! आफ्नै ठूलो महत्वाकांक्षा या देशको व्यवस्था ?

हो केही हदसम्म ठूलो महत्वाकांक्षी जीवनयापन पनि होला । सरल जीवनयापनले यो त सल्टेला तर देशको सिस्टम ? मेरो सोचाइभन्दा बाहिरको कुरो पर्‍यो । गर्ने चाहिँ के ? ‘यही बस, हामी साथ दिन्छौं’ भन्न नसक्ने यो हाम्रो कस्तो राज्य ?

दोषचाहिँ कसको ? बुझ्न नसकेको हामी या बुझाउन नसकेको यो राज्य व्यवस्था ? जब विदेश गइरहेको देश देख्छु । दुख्छु र, यसैउसै भडास पोख्न मन लाग्छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap