२७ भदौ, सिद्धबाबा भनिने कृष्णबहादुर गिरीबाट बलात्कृत भएको बताएकी पीडित महिलाले जिल्ला अदालतको फैसलाबाट न्याय नपाएको बताएकी छन् ।
उनले न्यायका लागि माथिल्लो तहको अदालतबाट आशा रहेको बताएकी छन् । बुधबार जिल्ला अदालत सुनसरीमा न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बलात्कार मुद्दामा गिरीलाई सफाइ दिएको थियो ।
‘तीन/चार हप्तादेखि पेसी सरिरहेको थियो, हिजो पनि सार्छन् भनेर बसेका थियौं, तर सार्दै नसारी (फैसला) गरिहालेछन् । बहसका लागि वकिलहरु तयार हुनुहुन्थ्यो, तर बुधबार छुट्टी हुने हल्ला थियो, बिदाको हल्लाले हाम्रो दुई जना वकिल बहस गर्न जान पाउनुभएन’, उनले भनिन् ।
यो फैसलाले नेपालमा पहुँचवालालाई कानुन नलाग्ने रहेछ भन्ने मान्यता स्थापित भएको उनले बताइन् । ‘उसले अदालतबाट सफाइ पाएको सुन्दा न्याय पाउने आश गर्नु नै बेकार रहेछ कि जस्तो लागिरहेको छ । हिजो धर्मको नाम जोडेर मलाई बदनाम गर्न खोजे, प्रभावमा पनि पार्न खोजे । संवेदनशील मुद्दामा फैसला गर्न यत्रो वर्ष लगाइदिए’, पीडित महिलाले भनिन् ।
गिरीमाथि सुनसरीको चतरास्थित आश्रममा काठमाडौंबाट आएकी महिला अनुयायीमाथि २०७६ कात्तिक ३ गते राति बलात्कार गरेको आरोप छ । पीडित महिलाले ११ मंसिर २०७६ मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा गिरीविरुद्ध जाहेरी दिएकी थिइन् ।
सुरुमा जाहेरी दर्ता गर्न आनाकानी गरेको प्रहरीले ढिला गरी गिरीलाई पक्राउ गर्यो, गिरीले हिरासत अवधि विराट नर्सिङ होममा बसेर कटाएका थिए । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले दायर गरेको मुद्दामा १४ फागुन २०७६ मा जिल्ला अदालतमा न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
तर ९ माघ २०७६ मा उच्च अदालत विराटनगरका तत्कालिन मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदेश दिएको थियो ।
आदेशकै दिन भारत गएका उनी २० फागुन २०७६ फर्किएपछि कारागार चलान भएका थिए । २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । त्यसपछि गिरी रिहा भएका थिए ।
३ जेठ २०७९ मा उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको इजलासले जवरजस्ती करणी मुद्दामा सफाइ दिने जिल्लाको फैसलामा गम्भीर त्रुटि देखाउँदै पुन प्रमाण बुझेर न्याय निरुपण गर्न आदेश दिएको थियो ।
उच्चको आदेशपछि मुद्दा जिल्लामै फर्किएको मुद्दा जिल्लामा २०७९ असार १४ गते पुनः मुद्दा दर्ता भएको थियो । पुनः दर्ता भएको मुद्दा अदालतले दाबी नपुग्ने ठहर गरेको हो ।
चार वर्षसँग अनेक तनाव सहेर न्याय पाउने आश गरेको तर जिल्ला अदालतले न्याय नदिएको पीडित महिलाले बताइन् । ‘उच्च अदालत छ, नभए सर्वाेच्च अदालत छ । न्याय पाउने आश अझै जीवितै छ’, उनले भनिन् ।
बलात्कार आरोप सम्बन्धी मुद्दा विचाराधीन हुँदा सिद्धबाबा धार्मिक गतिविधिमा हिँडिरहेका छन् ।