भदौ १२, समृद्धि बारे विभिन्न क्षेत्रका भिन्न–भिन्न बुझाइ छन्। अंग्रेजी शब्दकोशले जनताको उच्च जीवनस्तर, कार्यमा सफलता, प्रशस्त धन भएको अवस्था, उन्नत स्थिति, वित्तीय सफलता र राम्रो भविष्य भएको अवस्थालाई समृद्धि भनेको छ।
हिन्दु धर्मले कडा मिहिनेत गरेर प्रशस्त धन कमाउनु र दान गर्नुलाई समृद्धि मानेको छ। बुद्ध धर्मले सामूहिक आध्यात्मिकता र त्यसबाट आउने आनन्दलाई समृद्धि ठानेको छ। क्रिश्चियन धर्मले समृद्धि स्वास्थ्य, धन, सफलता र विश्वास हो, यो आर्थिक आशिष र शारीरिक भलाइ पनि हो र परमेश्वरको इच्छा अनुसार प्राप्त हुन्छ भनेको छ। इस्लाम धर्मले समृद्धि परमेश्वरको उपहार हो र यो कडा मिहिनेत र भक्तिभावबाट प्राप्त हुन्छ भनेको छ।
एउटा व्यापारीको लागि सकारात्मक सोच र धारणाले धन, शान्ति र सुख प्राप्त गर्नु समृद्धि हो। असल लेखकको लागि समृद्धि भौतिक सुख र पैसा मात्र होइन सोच्ने र जिउने एक उत्तम कला हो। एउटा राजनीतिज्ञको लागि उसका मतदाता प्रशन्न देखिनु समृद्धि हो। एउटा सैनिक जनरललाई उसका जवान आज्ञाकारी रहनु र आफ्नो आर्थिक उन्नयन र पदोन्नति हुनु समृद्धि हो। एउटा प्रशासकलाई उसको पदोन्नति हुनु र धन कमाउनु समृद्धि हो।
सारमा समृद्धि एक उन्नत अवस्था हो जहाँ बुद्धि र विवेकको उच्चतम अभ्यास भएको हुन्छ। सबैलाई रोजगार उपलब्ध हुन्छ, हरेक व्यक्तिले आफ्नो आत्मसम्मान महसुस गरेको हुन्छ, अनुसन्धानले नयाँ प्रविधि सृजना गरी उत्पादन बढाएर जनतालाई धनी र सुखी बनाएको हुन्छ। यो कोरा कल्पना र सिद्धान्त होइन, मानिसको बुद्धि, विवेक, सृजना, कडा मिहिनेत, काम र उत्पादनको उपज हो।
समृद्धिको सपना
एउटा लेखकले पैसाको पछि नलागी जीवनमा चाहिने सबै प्राप्त गर्ने उद्देश्य राखेर उत्कृष्ट लेखन गरे समृद्धि प्राप्त हुने सपना देख्न सक्छ। एउटा प्रेमीले धेरै प्रेम बाँडेपछि समृद्धि प्राप्त हुने महसुस गर्न सक्छ। एउटा व्यापारीले धन र मनको सकारात्मक सम्बन्ध बनाई ज्ञानमा आधारित व्यावसायिक रणनीति बनाउने, निर्दिष्ट दिशा तय गरेर लगातार काम गर्ने र उच्च मनोबलका साथ व्यावसायिक क्षमता प्रदर्शन गरे समृद्धि प्राप्त हुने बाटो देखेको हुनसक्छ।
एउटा राजनीतिज्ञले सस्ता, राम्रा र टिकाउ सामाजिक सेवाहरू प्रदान गर्ने, सम्पूर्ण श्रम बलको लागि रोजगार सृजना गर्ने, सबै नागरिकको सुरक्षा प्रत्याभूति गर्ने र आर्थिक बजारमा प्रतिस्पर्धा गर्न नवविचारको बढावा दिनाले समृद्धि प्राप्त हुने सपना देखेको हुनसक्छ।
समृद्धि प्राप्तिबारे अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले भनेका छन्, ‘मैले धरासायी हुन लागेका बैंकमा ८२५ खर्ब डलरको उत्तेजक प्याकेज लागु गरें र अमेरिकी अर्थतन्त्रलाई समृद्धिको बाटो देखाएँ।’ बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले भनेकी छन्, ‘बङ्गलादेश एक आधुनिक सफलताको कहानी भएको देश हो। यो अहिले मध्य आय भएका देशको समूहमा सामेल भएको छ। सन् १९९१ देखि २०१० को बीचमै हामीले दुई करोड पाँच लाख गरिबको जीवनस्तर माथि उठायौं।
अब हामीले नयाँ रोजगारको सृजना र निर्यात वृद्धिको अर्को चरणबाट समृद्धि प्राप्त गर्नेछौं।’ मलेशियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले भनेका छन्, ‘सन् २०२० सम्ममा मलेशिया एकताबद्ध, उच्च नैतिकमूल्य, लोकतान्त्रिक, उदारवादी, प्रगतिशील र सहनशील समाज र गतिशील अर्थतन्त्र भएको विकसित र समृद्ध देश हुनेछ।’ समृद्धिबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, ‘सन् २०१८ को संघीय बजेट भारत समृद्धिको एक ट्रेलर हो।
यसले १२ करोड किसान, ३० करोड मध्यम वर्ग र ४० करोड अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारको समृद्धिको सपना बोकेको छ।’ चीनका राष्ट्रपति सी जिनपिङले आफ्नो नयाँ विकास दर्शनमा भनेका छन्, ‘विद्यमान असमानता हटाई साझा समृद्धि प्राप्त गर्नु चिनियाँ कम्युनिष्ट पार्टीको शासनको मुख्य आधार हो।’
नेपालका पूर्वप्रधानमन्त्री केपी ओलीले समृद्धि बारे भनेका छन्, ‘एशियाली देशहरूको स्तरमा हाम्रो उचाइ तब मात्र देखिनेछ जब हाम्रो आर्थिक र सामाजिक विकासले फड्को मार्छ। बलियो आर्थिक विकासको जगमा उभिएको राष्ट्रिय भावनाले मात्र हामीलाई माथि उठाउन सक्छ। समृद्धिको उचाइमा पुग्ने हाम्रो सपना हुनुपर्छ र एक्काइसौं शताब्दीसम्ममा समृद्ध नेपाल र सुखी नेपाली बनाउने लक्ष्यका साथ हामीले काम गर्नुपर्छ।’
भारतका राष्ट्रपिता महात्मा गान्धीको विचारमा औद्योगिक राष्ट्रको रूपमा आफ्नो अस्तित्व राख्न सक्षम राष्ट्रलाई मात्र समृद्ध राष्ट्र भनिन्छ। दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको विचारमा समृद्धि समावेशी समाजद्वारा निर्मित एक बलियो सामाजिक अनुबन्ध हो, जहाँ प्रत्येक व्यक्तिको मौलिक स्वतन्त्रता र सुरक्षाको प्रत्याभूति भएको हुन्छ।
चीनका पूर्व राष्ट्रपति देङ सिआवो पिङको विचारमा केही मानिस र क्षेत्र पहिले समृद्ध बन्दछन् र त्यसपछि क्रमशः अन्य व्यक्ति तथा क्षेत्र हुँदै साझा समृद्धि प्राप्त हुन्छ।
सिंगापुरका पूर्वराष्ट्रपति लि क्वान युको विचारमा देशको जनसंख्यालाई उच्चस्तरीय कामदारमा परिणत गर्नु, तेज युवा पुस्तालाई उद्यमशीलतामा पोख्त बनाउनु, लगातार नवप्रवर्तनमा जोड दिनु र आर्थिक वृद्धि गरिरहनु समृद्धि प्राप्त गर्ने उत्तम बाटो हो।
सारमा, समृद्धि धन भन्दा फरक हो र यो सबै मानिसहरूलाई फस्टाउने र स्वतन्त्र रूपमा काम गर्ने वातावरणमा मात्र प्राप्त हुन्छ। यो एकल प्रयासले सम्भव हुँदैन र सबैको साझा प्रयास आवश्यक पर्दछ। नागरिकले प्राप्त गरेको ज्ञानलाई सीपमा बदल्ने, सीपलाई उद्यममा, उद्यमबाट उत्पादन बढाउने, उत्पादनबाट आउने प्रतिफल नवप्रवर्तन र मानव कल्याणमा लगाउनु समृद्धि प्राप्त गर्ने उत्तम मार्ग हो। यो एकल प्रयासले सम्भव हुँदैन र सबैको साझा प्रयास आवश्यक पर्दछ।
समृद्धिको नेपाली बाटो
समृद्धि पानी, हिउँ र असिना झैं आकाशबाट आफैं बर्सिंदैन र कुनै मित्रराष्ट्र वा शुभेच्छुकबाट उपहारस्वरूप पनि प्राप्त हुँदैन। यो त देशभित्रका नागरिकको आफ्नै अनवरत मिहिनेत, उद्यमशीलता, नवप्रवर्तन, व्यापार वाणिज्यको कुशल व्यवस्थापन, औद्योगीकरण, नियमित उच्च बचत, आर्थिक वृद्धि र असल शासन भएको अवस्थामा मात्र प्राप्त हुन्छ।
नेपाल विकासको प्रारम्भिक चरणमा भएकोले समृद्धि प्राप्त गर्न पूर्व तयारीको रूपमा निश्चित कामहरू सम्पन्न गर्नुपर्दछ। नेपालले तय गर्नुपर्ने पूर्वतयारीमध्ये समग्र जनतामा समृद्धि प्राप्त गर्ने चेतनाको विकास, विश्वका असल र सफल अभ्यासहरूको अनुकरण, समृद्धिको नेतृत्व गर्ने राजनेताको विकास, शिक्षा क्षेत्रमा सुधार, उद्यमशीलताको विकास, औद्योगीकरण, कानुनको शासन, गुणवत्ता नीति, एकीकृत सामाजिक सुरक्षा आदिको अभ्यास, जनताको संयुक्त प्रयास र कडा मिहिनेत मुख्य छन्।
नागरिकमा समृद्धि चेत अभिवृद्धिको प्रश्न
कोभिड-१९ को प्रकोप समयमा पठनपाठन र बैठक लगायत अन्य दैनिक कार्यालय तथा गृहस्थ सञ्चालन भौतिक रूपमा उपस्थित भएर गर्न सम्भव नभएकोले डिजिटल प्रविधिको माध्यमबाट भयो। युवाहरूमा डिजिटल प्रविधि लोकप्रिय बन्दै गयो र यस प्रविधिको प्रयोगले हाम्रा शिक्षित युवाहरूले विकसित देशमा विकास भएका शिक्षण विधि, प्रविधि, पूर्वाधार, आर्थिक विकास, रोजगार र सामाजिक सुरक्षाबारे जानाकारी लिए र उनीहरूले विकास गरेका सुविधाहरू प्रयोग गर्न लालायित भए।
यसको प्रभाव स्वरूप विदेश जाने युवाहरूको संख्या ह्वात्तै बढेर गयो। देशभित्र रहेको यस समूहमा समृद्धिको भावना ह्वात्तै बढेर गयो। तथापि वयस्क र वृद्धहरूमा समृद्धिको आकांक्षा छ तर मुखरित भएको छैन। त्यस्तैगरी नेपाली समाजमा पछाडि पारिएका वर्ग, दलित र अन्य सीमान्तकृत वर्गले पनि समृद्धिको खोजी गरिरहेका छन् तर मूर्तरूपमा व्यक्त गर्न सकेका छैनन्। तसर्थ समृद्धि कुनै एक उमेर समूहको मात्र माग नभएर सम्पूर्ण नेपालीको साझा अभिलाषा हो भन्ने चेतना सबै नेपाली नागरिकमा विकास गर्नुपर्दछ।
साथै जनतालाई अनुदान खोज्ने आसे होइन कर तिरेर विकास खोज्ने जिम्मेवार नागरिक बनाउनुपर्छ। जनतालाई मनग्य उपभोग, उच्च बचत, कम सामाजिक खर्च र उत्पादनमा उच्च लगानी गर्ने मन्त्र सिकाउनुपर्छ। विकासका सम्भावना खोजिरहने राजनीतिक नेतृत्वको खोजी गर्ने र गर्छु र गर्न सक्छु भन्ने भाव भएको राजनीतिक नेतृत्व चयन गर्न सिकाउनुपर्दछ।
नेपाल सन् २०२६ मा अतिकम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुँदैछ। नेपाल अतिकम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुँदा प्रारम्भिक चरणमा हामीलाई व्यापारमा केही घाटा लाग्छ तर हामीले अनुदान मागेर देश चलाउनुभन्दा उद्यम गरेर देश चलाउनुपर्दछ भन्ने आम धारणाको विकास गर्नुपर्दछ।
विश्वका असल र सफल अभ्यासबाट सिकौं
देशलाई समृद्धिको बाटोमा डोर्याउन विभिन्न देशमा विकास भएका असल र सफल अभ्यासबाट पाठ सिक्न र अनुकरण गर्न उपयुक्त देखिन्छ। यी असल अभ्यासमध्ये जापानीहरूले विकास गरेको उद्यमशीलता र अनुशासनप्रियता, कोरियनहरूले विकास गरेको उच्च बचत गर्ने बानी उदाहरणीय छ।
आफू व्यवसायमा असफल भए पनि अरुलाई दोष नदिई आफ्नै गल्ती महसुस गरेर फेरि सम्हालिने हङकङका व्यवसायीहरूको बानी, पुराना पुस्तक पढेरै भए पनि बुद्धि र ज्ञान विस्तार गर्ने ताइवानीहरूको बानी, आफूलाई आवश्यक पर्ने जेसुकै वस्तु पनि आफैं बनाउन सक्ने चिनियाँहरूको खुबी मननीय छन्।
प्रतिभावान विद्यार्थीलाई स्वदेश फर्काउने र उच्चस्तरको जनशक्ति बनाउने सिंगापुरको गुणवत्ता नीति, पूर्वी एशियाका देशमा कन्फुसियस धर्मले सिकाएको कडा मिहिनेत र उच्च बचत गर्ने बानी र आफूभन्दा पहिले समाजलाई हेर भन्ने दृष्टिकोण, जनताको क्रयशक्ति अनुसार उपभोग्य वस्तु उत्पादन गर्ने भारतको अभ्यास मननीय छन्।
अमेरिकाले विकास गरेको सिर्जनशीलता, पश्चिमी युरोपले विकास गरेको कानुनको शासन, जर्मनीका मजदुर संगठन र व्यवसायीबीचको सहकार्यले निर्माण भएको औद्योगिक वातावरण, थाइल्याण्डमा विकास भएको बोलचालमा नम्रता र व्यावसायिक शिष्टता, दक्षिण अमेरिकामा विकास भएको फुटबलको व्यावसायिकता, अष्ट्रेलिया र दक्षिण अफ्रिकामा विकास भएको सामाजिक अन्तरघुलन अनुकरणीय छन्।
नेपालले आफ्नो समृद्धिको बाटो पहिचान गर्न र त्यसअनुरूप प्रतिफल हासिल गर्न विश्वमा विकास भएका यस प्रकारका असल अभ्यासमध्ये नेपाललाई उपयुक्त हुने अभ्यासलाई आफ्नो परिवेशमा ढाली अनुकरण गर्न उपयुक्त देखिन्छ।
समृद्धिको नेतृत्व गर्ने राजनेताको विकास
समृद्ध मुलुक आफैं बन्दैन र जनताको साझा प्रयासले बनाउने हो। समृद्ध मुलुक बनाउन दृढ इच्छाशक्ति, अठोट, योजना र आँट भएको कुशल राजनेताको नेतृत्व चाहिन्छ। नीतिलाई पनि डोर्याउने राजनीति असल भएन भने देश समृद्धिमा जान सक्दैन। तसर्थ नेपालको समृद्धिको लागि राजनीति र समृद्धिलाई सँगसँगै परिचालन गर्ने राजनेताको विकास आवश्यक पर्दछ। समृद्धिको नेतृत्व गर्ने राजनेताको चरित्र र मनोवृत्ति सदासर्वदा सीमान्तकृत तथा तल्लो वर्गका कुरा सुन्ने र उनीहरूका समस्या समाधान गर्नुपर्छ।
आफ्नो टिममा क्षमतावान र स्वार्थरहित शासन प्रणाली सञ्चालन गर्ने साथीहरू रोज्नुपर्छ। समृद्धिको लागि सोच बदल्न समय लाग्छ तर बदल्न सकिन्छ भन्ने आत्मविश्वास जनतामा विकास गर्न सक्नुपर्छ। कुनै काम गर्दा देशलाई नाफा वा घाटा के हुन्छ भनी विश्लेषण गरेर देशलाई फाइदा हुने गरी निर्णय लिन सक्नुपर्छ।
सत्तामा पुग्ने बित्तिकै मात नचढ्ने, जनताबाट टाढा नहुने र स्वार्थ समूहबाट घेरिनुहुँदैन। राम्रो कामको तारिफ र गलत कामको विरोध गर्ने प्रतिपक्षको विकास गर्न दत्तचित्त रहनुपर्छ। विदेशी सामानको प्रयोग भन्दा स्वदेशी सामानको उत्पादन र प्रयोगमा रमाउनुपर्छ।
विदेशी अनुदानमा रमाउनु भन्दा स्वदेशी उद्योग सञ्चालनमा जोडदिनुपर्छ। कालोधन हुनेसँग टाढिने र सेतोधन हुनेसँग नजिकिनुपर्छ। राम्रा कुराहरू आकाशबाट झर्दैनन् र जनतासँगको निरन्तर अन्तरघुलन र कार्यक्रम कार्यान्वयनको अभ्यासबाट आउँछ भन्नेमा विश्वास गर्नुपर्छ।
चुनावमा विजय प्राप्त गर्ने राजनीतिक दलले सबैथोक पाउँदैनन् र उनीहरूका निर्णय सर्वमान्य पनि हुँदैनन् भनेर विश्वास गर्नुपर्छ। राजनीतिक पार्टीले बोकेको दर्शनले वर्तमान अवस्थामा काम गर्छ कि गर्दैन भनी विश्लेषण गरी तदनुरूप आफ्ना नीतिलाई समायोजन गर्न सक्नुपर्छ।
सत्तामा पुग्नु भनेको आफूले विगतमा गरेको सबै दुःखको ब्याज असुल गर्ने अवसर हो भन्ने मनोवृत्ति हुर्कन दिनुहुँदैन। पूर्व शासकहरू जस्तै राणा, शाह र पञ्च आदिको आलोचना गरेर आफ्नो कर्तव्य पूरा हुँदैन भन्ने चेत भएका र अरुको आलोचना गर्ने ऊर्जा उद्यममा लगाउने मनोवृत्ति भएका राजनेताको विकास आवश्यक पर्दछ।
उच्च शिक्षा प्रणालीमा सुधार गरौं
राणाशासनको पतनपश्चात् विकास भएको नेपालको उच्च शिक्षा प्रणालीको मूल ध्येय देशलाई साक्षर बनाउने र देशको शासन सत्ता चलाउन आवश्यक जनशक्ति उत्पादन गर्नु थियो। हालसम्म पनि यसमा तात्विक सुधार भएको छैन र वर्तमान शिक्षा प्रणालीले देशलाई औद्योगीकरणतर्फ लैजान बजारको माग अनुसार प्राविधिक जनशक्ति उत्पादन गर्न सकेको छैन।
विश्वविद्यालयहरूले सरकारसँग कुन कुन विषयको पढाइ गरौं भनी सोधनी गर्दैनन् र सरकारले पनि यी–यी विषयहरूको पढाइ गर्नु भनी विश्वविद्यालयलाई भन्दैन। सरकार र विश्वविद्यालय बीचको अन्तरसम्बन्ध कमजोर रहेको छ। हाम्रो उच्च शिक्षा प्रणालीमा साधारण शिक्षाको वर्चस्व छ, पाठ्यक्रम पुराना छन्, सिकाइ सैद्धान्तिक छ र प्रयोगात्मक हुनसकेको छैन। कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञान प्रशासनिक तथा उत्पादन इकाइमा काम गर्न व्यावहारिक छैन। विश्वविद्यालयका पाठ्यक्रम बजारको माग अनुरूप परिमार्जन हुनसकेका छैनन्।
बजारले माग नगरेका पुराना विषय धेरै थपिंदा बजारले माग गरेका नयाँ विषय कम मात्रामा थपिन्छन्। प्राध्यापकहरू विद्यार्थी पढाएर र सत्ताको आलोचना गरेर आनन्द लिन्छन् र उनीहरूका अन्वेषणबाट आएका सिद्धान्त तथा व्यावहारिक ज्ञानलाई सरकारसँग सहकार्य गरेर कार्यान्वयन गर्न कम मात्रामा दत्तचित्त देखिन्छन्।
समृद्ध नेपाल निर्माण गर्नको लागि देशलाई औद्योगीकरणमा लैजानु पूर्वशर्त हो। तसर्थ सरकारले विषयगत आवश्यक जनशक्तिको प्रक्षेपण गरी विश्वविद्यालयहरूलाई स्रोत सहित जनशक्ति उत्पादन गर्ने कोटा दिने र विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रमहरू आफ्नै अनुसन्धानका नतिजा र बजारको माग अनुसार पुनर्लेखन गरी व्यावहारिक ज्ञान र उद्यमशीलता सहितको प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी वर्तमान उच्च शिक्षा प्रणालीमा व्यापक सुधार गर्न आवश्यक छ।
गुणवत्ता (मेरिटोक्रेसी) नीति
कुनै संगठन वा सरकारले आफूलाई आवश्यक पर्ने नयाँ नेता तथा कर्मचारीको छनोट गर्दा वा जिम्मेवारी तोक्दा उनीहरूको योग्यता र प्रदर्शन गरेका क्षमताको आधारमा गर्ने गुणवत्ता नीति हो। प्रशासनिक तथा व्यवस्थापन क्षेत्रको विश्व अनुभवले के सिद्ध गरेको छ भने निम्न तहको ज्ञान भएका व्यक्तिलाई तालिम दिएर कामको जिम्मा दिंदा मध्यम तहका मात्र नतिजा निकाल्न सकिन्छ।
मध्यम तहको ज्ञान भएका व्यक्तिलाई तालिम दिएर कामको जिम्मा दिंदा मध्यम तहका नतिजामा केही सुधार मात्र गर्न सकिन्छ तर उत्कृष्ट नतिजा निकाल्न सकिंदैन। उत्कृष्ट नतिजाको लागि उत्कृष्ट ज्ञान भएका मानिसलाई कामको जिम्मा लगाउनुपर्दछ।
नेपालले समृद्धि प्राप्त गर्न राजनीतिक तथा प्रशासनिक क्षेत्रमा गुणवत्ता नीति लागु गर्नुपर्दछ। विश्वविद्यालयमा ग्य्राजुयट हुन लागेका उत्कृष्ट विद्यार्थीलाई कामको अग्रिम अवसर प्रदान गर्न सकिन्छ। विदेशका विश्वविद्यालयमा गई उत्कृष्ट अंक ल्याएका र काममा पनि उच्च योग्यता प्रदर्शन गरेका विशेषज्ञ नेपालीलाई थप सुविधा दिएर स्वदेश फिर्ता बोलाई कामको जिम्मा दिन सकिन्छ।
राज्यका सबै निकायमा नयाँ नियुक्ति गर्दा वा जिम्मेवारी दिंदा हाम्रा होइन, राम्रा र ठिक व्यक्तिलाई ठिक ठाउँको जिम्मेवारी दिने र उत्कृष्ट नतिजाको अपेक्षा गर्ने गुणवत्ता नीति लागु गर्नुपर्दछ।
हरेक नेपाली नागरिकमा उद्यमशीलताको विकास
उद्यमशीलता सिर्जना हो र उद्यमी एउटा सर्जक, तसर्थ उद्यमशीलता देश विकासको मेरुदण्ड हो। कुनै उद्यम, व्यापार वा व्यवसायको सिर्जना गर्नु उद्यमशीलता हो। यसमा उद्यम, व्यापार वा व्यवसाय सिर्जना गर्ने सोचदेखि लिएर दीर्घकालीन रूपमा उद्यमशीलता सञ्चालन गर्ने सीपसम्मका कुरा पर्दछन्। उद्यमी हुनु भनेको आफ्नो मालिक आफैं हुनु हो।
उद्यमीले उद्यम तथा व्यवसाय सुरु गरी विचारको सिर्जनाबाट चुनौतीलाई अवसरमा परिणत गरी वस्तु तथा सेवा उत्पादन गर्दछ। उद्यमशीलताले उद्यमीलाई प्रत्यक्ष र देशलाई अप्रत्यक्ष तरिकाले आर्थिक रूपमा सबल बनाउँछ र यसले देशको आर्थिक विकासमा ठूलो सहयोग गर्दछ। उद्यमशीलताले उत्पादकत्व बढाउँछ र नयाँ रोजगारीको सिर्जना गर्दछ।
विश्व बैंकले सन् २०२१ मा प्रकाशन गरेको ‘नेपाल डिप्लोमेन्ट आउटलुक’ प्रतिवेदन अनुसार नेपालमा उद्यमशीलताको विकास कमजोर हुनाले वर्षेनि नेपालले रु.१२ खर्ब बराबरको वस्तु तथा सेवा विदेश निर्यात गर्ने अवसर गुमाइरहेको छ।
नेपाललाई औद्योगीकरण गरी यस अवसरलाई यथार्थमा बदल्न नेपाली नागरिकलाई जागिर खोज्न हिंड्ने हैन, उद्यम सञ्चालन गर्न हिंड, विदेश जाने हैन स्वदेशमै उद्यम गर, घरपरिवारबाट टाढा भएर हैन, सँगै बसेर काम गर भन्ने अभियान सञ्चालन गरी हरेक नेपाली नागरिकमा उद्यमशीलताको विकास गर्नुपर्दछ।
गार्हस्थ्य मागले नेतृत्व गरेको औद्योगीकरण
औद्योगीकरण भनेको ठूलो अनुपातमा देशभित्रै उपभोग गर्न तथा विदेश निर्यात गर्न मेसिन र प्रविधि प्रयोग गरी कच्चा पदार्थबाट प्रशोधित वस्तु उत्पादन गर्ने प्रकृया हो। यसले उत्पादनको समय र लागत घटाउँछ, नयाँ रोजगारीका अवसर सिर्जना गर्दछ। देशको कुल गार्हस्थ्य उत्पादन बढाउँछ र समाज रुपान्तरणमा मद्दत गर्दछ।
नेपालले अपेक्षा गरेको समृद्धि प्राप्त गर्न पहिलो चरणमा देशको लागि आवश्यक वस्तु देशभित्रै उत्पादन गरी आयात प्रतिस्थापन गर्न गार्हस्थ्य मागले नेतृत्व गरेको औद्योगीकरणमा जोड दिने र दोस्रो चरणमा प्रविधि र सीपमा परिमार्जन गरी निर्यात प्रवर्धन औद्योगीकरणमा जोड दिनुपर्दछ।
औद्योगीकरणको लागि प्रत्येक प्रदेशमा कम्तीमा एक विशेष आर्थिक क्षेत्र, एक औद्योगिक क्षेत्र, एक गाउँपालिका एक उद्योग ग्राम र एक नगरपालिका वडा एक उद्योगग्रामको विकास गर्नुपर्दछ।
औद्योगीकरणको लागि चाहिने सीप र प्रविधि विकसित देशबाट प्राप्त गर्नुपर्छ। उद्योगको दर्ता र नवीकरण आदिको लागि एकद्वार प्रणाली लागु गर्नुपर्छ। सरकारले दिनुपर्ने पानी, बत्ती, सडक, सञ्चार र सुरक्षा जस्ता सुविधा उद्यमीलाई उपलब्ध गराउनुपर्छ। हरियाली र सफा सडक, भरपर्दो ऊर्जा, हँसिला कर्मचारी आदिको व्यवस्था गर्नुपर्छ।
युवा पुस्ताका प्रतिभा सम्पन्न उद्यमीलाई उद्योग सञ्चालन गर्ने जिम्मा दिनुपर्छ भने उनीहरूको बुद्धिमत्ता, ऊर्जा, चासो र एकबद्धतालाई हरसम्भव सहयोग गर्नुपर्छ। उद्योगले मजदुरलाई तालिम दिनुपर्छ भने तालिमको खर्च सरकारले व्यहोर्नुपर्छ। मजदुरलाई लगानीको महत्व बुझाउने र उनीहरूलाई आफू काम गर्ने उद्योगमा लगानी गर्न दिनुपर्छ।
औद्योगीकरण गर्न कुशल राजनीतिक नेतृत्वको विकास गर्नुपर्छ। प्रभावशाली र समन्वयकारी प्रशासनिक संयन्त्रको विकास गर्दै औद्योगिक अनुशासन कायम गर्नुपर्छ। मजदुरहरूलाई उद्यमशीलता र अनुशासन बारे नियमित तालिम दिनुपर्छ।
उद्योगीहरूमा उद्यमशीलता र राष्ट्रको लागि केही गरौं भन्ने भावना विकास गराउनुपर्छ। व्यवसायी (इन्टरप्रेनर) र लगानीकर्ता (इन्भेष्टर) दुवैलाई खतरा मोल्न र असफलतालाई प्राकृतिक मानी पुनः उठ्न प्रेरित गर्नुपर्छ।
कम्पनी बदल्न र नयाँ व्यवसाय सुरु गर्न सक्षम बनाउनुपर्छ। सरकारी संस्थान तथा उद्योग बेच्ने हैन, सही व्यवस्थापकीय टोलीलाई जिम्मा लगाउनुपर्छ। नेपालको औद्योगीकरणमा पश्चिमा पूँजीवादी खुला अर्थतन्त्र र कल्याणकारी राज्यको सिद्धान्तहरूले पनि काम गरेनन्। तसर्थ व्यावहारिक औद्योगीकरण र असल अर्थतन्त्र निर्माण गर्ने घरेलु नीति निर्माण गरी लागु गर्नुपर्छ।
देशमा भएको पैसा परिचालन गरौं
नेपालका वित्तीय संस्थामा देशको कुल गार्हस्थ्य उत्पादन बराबरको पूँजी जम्मा भएको छ। त्यसको अतिरिक्त कर्मचारीको सञ्चय कोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष, युवा स्वरोजगार कोष, बीमा कोष आदिमा पनि ठूलो मात्रामा रकम जम्मा भएको छ। देशभित्रै विभिन्न स्रोतमा उपलब्ध पैसालाई खातामा सुत्न नदिई उत्पादनमूलक क्षेत्रमा लगाउने नीति ल्याई कार्यान्वयन गर्नुपर्दछ।
नेपालका वित्तीय संस्थामा बचत रकम जम्मा गरी ब्याज खाने सेवानिवृत्त कमर्चारी, शिक्षक, सेना, प्रहरी, शहरी क्षेत्रका घरधनी र उच्च विप्रेषण प्राप्त गर्ने व्यक्तिलाई बैंकमा पैसा जम्मा गर्नु भनेको पैसालाई सुत्न दिनु हो भन्ने बुझाउनुको साथै उनीहरूलाई पैसाको उत्पादकत्व बारे ज्ञान दिएर उनीहरूको बचत उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्दछ।
कानुनी शासन सुदृढीकरण
शासक र शासित दुवै कानुनद्वारा प्रशासित हुने व्यवस्था कानुनको शासन हो। यसले संवैधानिक सर्वोच्चता, विधिको शासन, प्रभावकारी प्रशासन, निष्पक्ष न्यायपालिका, मौलिक हकको प्रत्याभूति र सभ्य राजनीतिक संस्कारमा विश्वास गर्दछ। देशलाई समृद्धिमा लैजान कानुनको शासन पूर्वशर्त हो।
कानुनी शासनमा मात्र औद्योगिक वातावरण निर्माण हुन्छ र उद्यमीहरू उत्पादनमा लाग्दछन्। यसको अतिरिक्त बुढा सरकारी कर्मचारीलाई विस्तारै सेवा निवृत्त गरी नयाँ र ऊर्जावान् युवालाई निजामती सेवामा भित्र्याउने र समृद्धिको यात्रालाई सहजीकरण गर्न लगाउनुपर्छ। कर्मचारीलाई समृद्धिको यात्रामा नियामक मात्र नभएर सहजकर्ता बन्न पनि उत्प्रेरणा दिने जस्ता कार्य गर्नुपर्दछ।
एकीकृत सामाजिक सुरक्षा कार्यक्रम लागु गरौं
खुला बजार अर्थतन्त्रमा सक्नेले आफैं कमाउँछन् र कमाउन नसक्ने वृद्ध, एकल महिला, अपाङ्गता भएका र सीमान्तकृत वर्गलाई एकीकृत सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी उनीहरूको उचित संरक्षण र सम्वर्धनको व्यवस्था गर्नुपर्छ।
संवत् २१०० मा नेपालले कल्पना गरेको समृद्धि
नेपालले २०७६ सालमा १५औं पञ्चवर्षीय योजना निर्माण गर्दा संवत् २१०० सम्ममा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्ने दीर्घकालीन उद्देश्य तय गरेको थियो। समृद्धिको चरणमा देशमा आर्थिक क्रियाकलाप बढ्न गई औद्योगीकरणले गति लिनेछ।
नवप्रवर्तनले नयाँ प्रविधि ल्याउनेछ र नेपालको अन्य देशसँगको आबद्धता सघन हुनेछ। नेपाली नागरिक सीपयुक्त भई उद्यममा लाग्नेछन्। शिक्षा क्षेत्र उद्योगसँग जोडिनेछ, शिक्षा क्षेत्रको अन्वेषणले औद्योगिक क्षेत्र लाभान्वित हुनेछ र देशले उच्च उत्पादकत्व प्राप्त गर्नेछ।
देशका सबै घरपरिवार एकै प्रकार र स्तरका खाना खान सक्ने क्षमता हुनेछन्। उस्तै गुणस्तरका कपडा लगाउन, बालबच्चालाई एउटै गुणस्तरको विद्यालयमा पढाउन र हिंडडुलको लागि आफैं गाडी चलाई जान सक्षम हुनेछन्। विकसित देशका नागरिक सरहको प्रतिव्यक्ति आय हुनेछ र नेपाली नागरिकले विकसित देशका नागरिकसरह समृद्ध नागरिकको अनुभूति गर्नेछन्।
समृद्धि एक उन्नत अवस्था हो जहाँ बुद्धि र विवेकको उच्चतम अभ्यास भएको हुन्छ, सबैलाई रोजगार उपलब्ध हुन्छ, हरेक व्यक्तिले आफ्नो आत्मसम्मान महसुस गरेको हुन्छ, अनुसन्धानले नयाँ प्रविधि सृजना गरी उत्पादन बढाएर जनतालाई धनी र सुखी बनाएको हुन्छ। नागरिकले प्राप्त गरेको ज्ञानलाई सीपमा बदल्ने, सीपलाई उद्यममा बदल्ने, उद्यमबाट उत्पादन बढाउने, उत्पादनबाट आउने प्रतिफल नवप्रवर्तन र मानव कल्याणमा लगाउनु समृद्धि प्राप्त गर्ने उत्तम उपाय हो।
समृद्धि आफैं आकाशबाट बर्सिंदैन र कुनै मित्रराष्ट्र वा शुभेच्छुकबाट उपहारस्वरूप प्राप्त पनि हुँदैन। यो आफैं काम गरेर प्राप्त हुने परिश्रमको प्रतिफल हो र यसको प्राप्ति व्यक्तिको एकल प्रयासबाट सम्भव छैन र सबैको साझा प्रयास आवश्यक पर्दछ।