के छन् एजेन्डा ?भोलिदेखि नेपाल-बंगलादेश ऊर्जा वार्ता,


लेखक : सुन्दराञ्चल      बैशाख ३१, २०८० मा प्रकाशित     
के छन् एजेन्डा ?भोलिदेखि नेपाल-बंगलादेश ऊर्जा वार्ता,

वैशाख ३१ आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न नेपाल र बंगलादेशले छलफल गर्ने भएका छन् । भोलि सोमबारदेखि बंगलादेशमा सुरु हुने नेपाल–बंगलादेश ऊर्जा वार्तामा यसबारे छलफल हुनेछ ।

बैठकमा पहिलो दिन संयुक्त कार्य समूहको बैठक बस्ने छ भने दोस्रो दिन नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्नेछ । बैठकमा नेपालको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले गर्नेछन् भने बंगलादेशकातर्फको नेतृत्व त्यहाँका ऊर्जा सचिव हाबिबुर रहमानले गर्नेछन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधुप्रसाद भेटवालका अनुसार दुई देशबीच ऊर्जा व्यापार सुरु गर्नेबारे पनि बैठकमा महत्वका साथ छलफल हुनेछ ।

विद्युत व्यापार थाल्नेबारे नेपालको विद्युत प्राधिकरण र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)बीच समझदारी (एमओयू) गर्ने बारे पनि छलल हुने उनको भनाइ छ । समझदारीपत्रको मस्यौदा बनाएर अहिले दुवै देशले छलफल गरिरहेका छन् ।

बंगलादेशमा लिखु–४ जलविद्युत आयोजनाको बिजुली बेच्ने प्रस्ताव छ । उक्त प्रस्ताव भारत सरकारले स्वीकृत गरेर आफ्नो प्रसारणलाइन प्रयोगको अनुमति दिएपछि बंगलादेशसँग आगामी वर्षायामअगावै विद्युत व्यापार गर्ने योजना छ ।

‘४० देखि ५० मेगावाट विद्युत बंगलादेश पठाउनेबारे भारत सरकारसँग सहयोग लिनेबारे हामीले पनि कुरा उठाएका छौं, भारत सकारात्मक छ, सम्भवतः बंगलादेशले पनि यो विषय भारतसँग उठाएको हुनुपर्छ,’ भेटवालले भने, ‘यो पाटोमा अब कसरी समन्वय गरेर जाने भन्नेबारे पनि बैठकमा छलफल हुनेछ ।’ नेपाल र बंगलादशेबीच प्रसारण पूर्वाधार निर्माणबारे पनि बैठकका छलफल हुनेछ ।

सांकेतिक रुपमा मात्रै भएपनि बंगलादेशसँग बिजुलीको व्यापार सुरु गर्न सके त्यो महत्वपूर्ण हुने भएकाले यसबारे छलफल हुने प्रवक्ता भेटवालले बताए । बैठकका बंगलादेशले सोलार बिजुली उत्पादनको अनुभव र नेपालले जलविद्युत आयोजना विकासको अनुभव पनि साटासाट गर्ने कार्यतालिका छ ।

‘बंगलादशेको निजी क्षेत्र पनि नेपालमा जलविद्युतमा लगानी गर्न इच्छुक छ, त्यसमा कसरी जान सकिन्छ भन्नेबारे पनि छलफल हुन्छ,’ उनले भने, ‘भारतीय कम्पनीले बनाउने माथिल्लो कर्णालीको बिजुली भारतीय भूमि हुँदै बंगलादेश लैजाने कुरा छ, त्यसबारे पनि छलफल हुन्छ ।’

बैठकमा सुनकोशी–३ को आयोजना विकासका सम्बन्धमा छलफल हुनेछ । यो परियोजना नेपाल र बंगलादेशले संयुक्त रुपमा बनाउने सहमति भइसकेको छ र त्यसअनुसार नेपालले बंगलादेशलाई सम्भाव्यता अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बंगलादेशलाई पनि उपलब्ध गराएको छ । यसबारे अध्ययन गरेर आयोजना अघि बढाउने सहमति अनुसार बैठकमा सुनकोशी–३ को निर्माणका लागि संयुक्त कम्पनी स्थापनाबारे छलफल हुनसक्ने सम्भावना छ ।

९ भदौ २०७९ मा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन बंगलादेशलाई दिने सहमति भएको थियो । सो प्रतिवेदन अध्ययन गरेर लगानी मोडालिटी तय गर्न बंगलादेशको सहमतिअनुसार अब आयोजनाका लगानीको मोडालिटीमाथि छलफल हुनेछ ।

Copy link
Powered by Social Snap