किन डाटा सुरक्षित हुँदैन ?किन भयो लोकसेवाको डाटा डिलिट ?


लेखक : सुन्दराञ्चल      बैशाख १९, २०८० मा प्रकाशित     
किन डाटा सुरक्षित हुँदैन ?किन भयो लोकसेवाको डाटा डिलिट ?

बैशाख १९,यतिबेला लोकसेवा आयोगमा दरखास्त दिएर परीक्षाको घडी कुरिरहेका करिब चार लाख आवेदकको तथ्यांक हराएको छ । सिंहदरबारमा रहेको गभर्मेन्ट इन्ट्रिगे्रटेड डाटा सेन्टर (जीआईडीसी) मा समस्या देखिएपछि लोकसेवा आयोग लगायत ६० वटा भन्दा बढी सरकारी निकायहरूको डाटा हराएको हो । हाल राष्ट्रिय सूचनाप्रविधि केन्द्र (एनआईटीसी) ले जीआईडीसी सञ्चालन गर्छ ।

एक जना प्राविधिक व्यक्तिले केही मिनेटभित्र एक हजार रुपैयाँमा पाइने पेन ड्राइभमा ती डाटाहरूलाई कपी गरेर दैनिक सुरक्षित गर्न सक्थ्यो । तर, महिनौंसम्म त्यसको लेखाजोखा नगर्दा डाटा हराउनुको असर भयावह भएको हो ।

कम महत्वको डाटालाई पनि दिनको एकपटक ब्याकअप (अर्को कपी बनाएर राख्ने प्रक्रिया) गरेर मुख्य कपी राखेको कम्प्युटर भन्दा अर्को कम्प्युटरमा राख्ने चलन संसारभर नै छ । बैंक तथा वित्तीय संस्था, सामाजिक संजालको डाटा त झन् एकै पटक जति सक्दो धेरै सर्भर (क्लाउड) मा राख्ने गरिन्छ ।

यसो गर्दा एक ठाउँको डाटामा क्षति भएमा अर्को ठाउँको डाटाबाट काम चलाउने गरिन्छ । आवश्यकता र प्रचलन एकातिर छ तर सरकारले एक हजार रुपैयाँमा बजारमा पाइने पेन ड्राइभमा समेत डाटा नसार्दा आज लाखौं जनताले सास्ती व्यहोरिरहेका छन् ।

लोकसेवाको डाटा (तथ्याङ्क) जीआईडीसीमा

लोकसेवाको प्रतिस्पर्धामा भाग लिने आवेदकले अनलाइनमा भरेका डाटाहरू इन्टरनेटको माध्यमबाट जीआईडीसीको सर्भर (अनलाइन सेवा दिने शक्तिशाली कम्प्युटर) सम्म पुग्दछन् । ती डाटाहरू जीआईडीसीका सर्भरमा राखिएका विभिन्न डाटावेसमा गएर बस्दछन् । सर्भरमा पनि हाम्रो कम्प्युटरको जस्तै हार्ड डिस्क हुने गर्दछ । हार्ड डिस्क भित्र बनाइने फोल्डर जस्तै गरी एउटै हार्ड डिस्क भित्र सयकडौं डाटावेस रहने गर्दछन् ।

ती डाटावेसमा भएका तथ्यांकलाई आधिकारिक व्यक्तिले मात्र पढ्न र कुनै परिवर्तन गर्न वा मेट्न सक्दछ । सेवाग्राहीका डाटालाई थप सुरक्षित गर्ने र निरन्तर सेवा दिन टेवा पुगोस् भनेर लोकसेवाले एक करोडभन्दा बढी पर्ने ओरेकल सर्भरबाट सेवा दिइरहेको छ ।

किन डाटा सुरक्षित हुँदैन ?

अहिले प्रचलित डाटावेस (डाटाको भण्डार गर्ने) सफ्टवेयरमध्ये ओरेकल सबैभन्दा महँगो हो । कुनै पनि सिस्टम आफैंमा सुरक्षित वा असुरक्षित हुने होइन । विभिन्न देशका बैंक, धेरै मान्छेलाई सेवा दिने कम्पनी, ठूला वित्तीय कारोबार गर्ने कम्पनीले समेत डाटावेसको लागि माइक्रोसफ्टको एसक्यूएल सर्भर पनि प्रयोग गर्ने गर्दछन् । एसक्यूएल सर्भरको डाटा सुरक्षित हुने भएर नै रोजाइमा परेका हुन् । सुरक्षित र निरन्तर सेवा दिने भनेर सरकारले ओरेकल त किन्यो तर डाटा सुरक्षाको लागि गर्नुपर्ने आधारभूत काम नै नगर्दा डाटा मेटियो ।

डाटावेस सफ्टवेयर, सर्भरमा हुने विभिन्न मानवीय गतिविधिलाई निगरानी गर्ने र रिपोर्टिङ गर्ने सफ्टवेयर, सर्भरमा हुने लोड व्यालेन्स, डाटावेस व्याकअप गर्ने जस्ता सफ्टवेयर सर्भरको लागि अति आवश्यक पक्ष हुन् । यस्ता सफ्टवेयर लामो समय लगाएर ठूलो अनुसन्धानबाट बनाइएका हुन्छन् । यस्ता सफ्टवेयरले सही काम गरेनन् भने त्यो सफ्टवेयर फिर्ता गर्न पनि पाइन्छ । लोकसेवाको सर्भरमा मामुली १०-२० हजार रुपैयाँमा पाइने सफ्टवेयर नराखेर आजको स्थिति आएको हो भने त्यो गम्भीर कुरा हो ।

असुरक्षित ठाउँमा करोडौंको घर बनाएर राम्रो चाबी किन्न कन्जुस्याईं गर्नुहुँदैन । सानो कमजोरीका कारण एकदिन पनि सार्वजनिक सेवा प्रवाहमा अवरोध सृजना हुन्छ भने त्यसको क्षति सफ्टवेयर किन्ने पैसा भन्दा कैयौं गुणा ठूलो हुने गर्दछ । यदि रु.२० हजार भन्दा थोरै पैसामा आउने डाटावेसको अटोमेटिक ब्याकअप गर्ने सफ्टवेयर जडान गरिएको भए आजको अवस्था आउने थिएन ।

डाटा (तथ्यांक) हराउने भनेको के हो ?

इन्टरनेटमा आधारित भएर सेवा प्रवाह गर्ने कम्पनीले त झन् एउटा कम्प्युटर सर्भरमा मात्र भर पर्दैनन् । कुनै पनि समयमा केही भइहाल्यो भने कमभन्दा कम नोक्सानी होस् भनेर ती डाटाहरूलाई छिन-छिनमा अर्को टाढाको कम्प्युटरमा कपी गरेर राख्ने गरिन्छ ।

सामान्य अर्थमा कम्प्युटरमा राखिएको डाटा हराउँदैन । कल्पना गर्नुस् लोकसेवाको डाटा हराए जसरी नै हाम्रा बैंकको डाटा हराउने हो भने के होला ? यसको अर्थ जुन सर्भरमा डाटा राखिएको थियो त्यसको पूरै भर परियो, त्यो डाटाको ब्याकअप गरिएन । ब्याकअप गरिएको भए पनि त्यसलाई त्यही सर्भरमा नै राखियो । ब्याकअपलाई सोही सर्भरमा नै राख्नु भनेको ढोकामा भोटे ताल्चा लगाएर छेउमा चाबी झुण्ड्याउनु जस्तै हो ।

यसकारण भएको हुनसक्छ डाटा डिलिट

विभिन्न कारणले डाटा हराएको हुनसक्छ । पहिलो, डाटाको ब्याकअप गरिएन । अथवा, ब्याकअप गरिएको भए पनि त्यही कम्प्युटरमा राखियो । जुन काम बजारमा १ हजार रुपैयाँमा पाइने पेन ड्राइभमा गर्न सकिन्थ्यो । अथवा, हार्ड डिस्कमा समस्या आएको र बिग्रिएको हुनसक्छ ।

¥यान्समवेयर (ह्याकरबाट डाटा लक गर्ने र अनलक गर्न ठूलो रकम फिरौती माग्ने) बाट आक्रमण भएर पनि यस्तो भएको हुनसक्छ । मानवीय त्रुटिका कारण खराब कमाण्ड (कम्प्युटर स्क्रिप्ट) का कारण डाटा मेटिएको हुनसक्छ । डाटा कसरी डिलिट भयो स्पष्ट रूपमा बाहिर ल्याइएको छैन । पीडितलाई यो के भएको हो भन्ने विस्तृत जानकारी पाउने हक हुन्छ ।

यदाकदा नेपाल सरकारका विभिन्न पोर्टलहरू ह्याकरको कब्जामा पुग्ने गरेका छन् । केही समय अगाडि राष्ट्रपति कार्यालयको वेबसाइटमा भएको ह्याक त्यसको उदाहरण हो । सरकारी डाटा सेन्टरको सुरक्षा कमजोरी पहिचान गरेर ह्याकरहरूले पहुँच पाएको खण्डमा हाम्रा डाटा डिलिट हुने मात्र होइन ती डाटाहरूको गम्भीर दुरुपयोग हुने अनि नेपालमाथि अन्तर्राष्ट्रिय सुरक्षा चुनौती पनि थपिनसक्छ ।

‘सर्भर डाउन भयो’

एकातर्फ सरकारी सेवाग्राहीले खोज्ने सेवाको चाप अनुसारको सर्भर व्यवस्थापन हुनसकेको छैन । अर्कोतर्फ सर्भरमा आउने सामान्य समस्यामा पनि अर्को सर्भरबाट सेवा दिनुपर्नेमा सर्भर नै अफ गर्ने परिपाटीले सरकारी सर्भरहरू डाउन भइरहन्छन् । यसरी सर्भर नै अफ हुँदा विमानस्थल, अस्पताल, राजस्व तिर्ने ठाउँ, लाइसेन्स, भन्सार, मालपोत जस्ता सरकारी सेवाका लाइफलाइन नै बन्द भएका धेरै उदाहरण छन् ।

यो पनि पढ्नुहोस

विमानस्थलमा अध्यागमनको सर्भर चलेन, अन्तर्राष्ट्रिय उडान प्रभावित

सेवा स्थगित र आलटाल गर्नको लागि अहिले एउटा सजिलो बहानाको विकास भएको छ-सर्भरले काम गरेको छैन । मानिलिऔं, त्यो सर्भर भन्ने चिज अर्को कुनै ग्रहबाट परिचालित छ । किन बिग्रियो, बिग्रिने सर्भर किन किनेको ? सर्भर बिग्रिएर पाएको सास्ती कसलाई सुनाउने ? यस्ता प्रश्नको उत्तर कसैले दिंदैन ।

काममा नआएको डीआर सेन्टर

डीआर सेन्टर भनेको प्राकृतिक विपत्तिका कारणले डाटामा क्षतिको बखतलाई सुरक्षित गर्ने ठाउँ हो । मानिलिऔं, काठमाडौंमा ठूलो भूकम्प गएर जीआईडीसी नै ध्वस्त भयो अथवा जीआईडीसीमा आगलागी भएर पूरै सर्भर जलेर नष्ट भयो, त्यस्तो अवस्थामा हाम्रा डाटाहरू पनि नष्ट हुने जोखिम हुन्छ ।

यस्ता प्रकोप हुँदा पनि तुरुन्त र दुरुस्त डाटासहित सेवा प्रवाह गर्नलाई सरकारले हेटौंडामा डीआर सेन्टर बनाएको छ । तर त्यसको प्रयोग भएको भए यस्तो अवस्था आउँदैनथ्यो । महिनौंसम्म एक कपी ब्याकअप गरेर राख्न नसक्ने सरकारी निकायबाट प्रकोपपश्चात् पनि दुरुस्त डाटा पाइएला भनेर आम नागरिकले विश्वास गरिरहनु परेको छ ।

२४ घण्टा सेवा दिने बैंकले पनि यस्तै डाटा सेन्टरमा डाटा राख्ने गर्छन् । तर, एक ठाउँमा राखेको डाटा तत्कालै काठमाडौंभन्दा बाहिर राखिएको अर्को सर्भरमा एक कपी सुरक्षित हुन्छ । अझ यस्ता डाटाहरू एकपटक स्टोर गरिसकेपछि कुनै पनि फेरबदल गर्न नसक्ने डिस्क (राइट ओन्स रिड मेनी, डब्लुओआरएम) मा समेत राखिन्छ ।

हरेक दिन बेलुका मुख्य सर्भरको डाटालाई अटोमेटिक ब्याकअप गरिन्छ र त्यो ब्याकअप भए/नभएको कुरा कर्मचारीले पुष्टि पनि गर्दछन् । त्यो ब्याकअपलाई मुख्य शहर भन्दा बाहिरको सर्भरमा लिएर सुरक्षित भण्डारण गरिन्छ । दिनभरको डाटा दुरुस्त भएको कुरा यकिन भएपछि मात्र त्यो दिनको काम सकिएको मानिन्छ । यो प्रक्रिया ३६५ दिन नै गरिन्छ ।

अब के गर्ने ?

दुनियाँ सूचनाप्रविधिको हो तर त्यसको प्रयोग सही ढंगले गरिएन भने मान्छेलाई झनै सास्ती र हण्डर हुन्छ । अहिले लोकसेवा आयोगले इन्टरनेटको माध्यमबाट सेवा प्रवाह गर्ने भनेको छ तर त्यसको लागि चाहिने पूर्वाधार, दक्ष जनशक्ति, इन्टरनेट, वैकल्पिक सेवा, डाटा ब्याकअपको उचित प्रबन्ध नभएको कुरा जगजाहेर भयो ।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीहरूलाई विभिन्न तालिम दिइरहेको हुन्छ । अबको सेवा प्रवाह प्रविधिमा आधारित भएको हुँदा कर्मचारीहरूलाई सूचनाप्रविधिको ज्ञान तथा तालिमको खाँचो छ । सरकारी डाटालाई नेपालभित्रको डाटा सेन्टरमा नै राख्नुपर्दछ भन्ने मान्यता पुरातन र साँघुरो सोच हो ।

वर्तमान विश्व इन्टरनेट क्लाउडमा अडेको छ । माइक्रोसफ्ट, गुगल, एमाजन जस्ता ठूला क्लाउड कम्पनीहरू पनि विश्वव्यापी मापदण्डको आधारमा चलेका हुन्छन् । उनीहरूले डाटा र सुरक्षासँग सम्बन्धित विभिन्न नियमको परिधिमा रहेर सेवा दिनुपर्दछ । यसर्थ हाम्रा डाटाहरूलाई यस्ता क्लाउडमा राख्ने मार्गप्रशस्त गर्नुपर्दछ ।

इन्टरनेट आफैंमा असुरक्षित छ । दिनप्रतिदिन नयाँ–नयाँ चुनौती थपिइरहेका छन्। हिजो र आजको साइबर खतरा एकनास हुँदैन । हामी भोलिको लागि काम गर्ने हो । हामी सुरक्षित हुने हरसम्भव कोशिश त गर्ने हो । समस्या सन्निकट छ, समस्याबाट पन्छिन सकिंदैन ।

समस्या परिहालेमा सामान्य अवस्थामा आउन धेरै समय लगाउँदैनौं भन्ने अवधारणा आजको विश्वको संकल्प हो । यसलाई साइबर रेजिलेन्स भनिन्छ । साइबर हमला जतिबेला पनि हुन सक्दछ, सिस्टम डाउन जतिबेला पनि हुन सक्दछ । यदि त्यसो भएको खण्डमा पनि हामी छिन भरमा सेवालाई निरन्तरता दिन सक्छौं भन्ने प्रतिबद्धता व्यक्त गरौं ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap