नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने,


लेखक : सुन्दराञ्चल      माघ १६, २०७९ मा प्रकाशित     
नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने,

 काठमाडौं  १६ माघ, ।  नेपाल राष्ट्र बैंकले मंगलबार ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । नेपाल सरकारको राष्ट्र ऋण उठाउने तालिका अनुसार राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले मंगलबार ५ वर्ष अवधिको ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्न लागेको हो ।

विकास ऋणपत्र २०८४ ‘झ’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल १७ माघ मंगलबार हुनेछ भने निष्कासन १८ माघमा हुने राष्ट्र बैंकले जनाएको छ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । देश विकासका लागि सरकारी खर्च गर्न आवश्यक साधन जुटाउन सरकारले विभिन्न किसिमका ऋणपत्रहरु जारी गर्ने गर्दछ ।

ऋणपत्रको बोलकबोलका लागि बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । ऋणपत्रको ब्याजदर बोलकबोलबाट नै तय हुने र ऋणपत्र धितोमा ऋण लिन र दिन सकिने राष्ट्र बैंकले जनाएको छ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने ऋणपत्रबाट आर्थिक ब्याजमा ब्याजकर लाग्दैन ।

ऋणपत्रको बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीलाई निष्कासित रकमको ८५ र अप्रतिस्पर्धी बोलकबोलका लागि १५ प्रतिशत रकम छुट्याएको राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धीलाई छुट्याइएको रकमको लागि पुरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धीलाई बिक्री गरिने र अप्रतिस्पर्धीलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलकबोल प्राप्त हुन आएमा समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

Copy link
Powered by Social Snap