कम्बोडियामा आफू बसेको होटलमा आगलागीमा मृत्यु भएका पाण्डेको अन्त्येष्टि


लेखक : सुन्दराञ्चल      माघ ८, २०७९ मा प्रकाशित     
कम्बोडियामा आफू बसेको होटलमा आगलागीमा मृत्यु भएका पाण्डेको अन्त्येष्टि

माघ ८  कम्बोडियामा आफू बसेको होटलमा आगलागी भएपछि झ्यालबाट हाम फाल्दा ज्यान गुमाएका झापाका निराकर पाण्डेको शव झापा ल्याइएको छ ।

कम्बोडियामा १४ पुसमा भएको भीषण आगलागीमा ज्यान बचाउन १२ औं तलाबाट हाम फाल्दा मृत्यु भएका उनको शव शुक्रबार काठमाडौं आइपुगेको थियो । शनिबार दिउँसो साढे १२ बजे विर्तामोड निवासमा शव ल्याइएलगत्तै कनकाई नदीको तटमा अन्तिम संस्कार गरिएको छ ।

मृतक पाण्डे विर्तामोड नगरपालिका–१ वडाध्यक्ष अग्नि पाण्डेका छोरा समेत हुन् । मृत्युअघि घरपरिवारसँग उनले गरेको भावुक कुराकानी सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि परिवारका सदस्यहरुलाई भेटेर शव ल्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

बीबीसीका अनुसार घटना भएको दिन राति ११ बजेदेखि पाण्डे बसेको होटल क्यासिनोमा आगलागी भएको थियो । पाण्डेले मृत्यु हुनु अघि परिवारलाई बताए अनुसार आगो लागेपछि उनलाई करिडोरमार्फत माथि जान सुझाइएको थियो । तर, करिडोरमा समेत आगो लागि सकेकाले झ्यालबाट हाम फाल्नुको विकल्प थिएन ।

ज्यान जोगाउन भोलिपल्ट बिहान ४ बजे हामफाल्दा उनको मृत्यु भएको थियो । पाण्डे व्यवसायको सिलसिलामा भिजिट भिसामा कम्बोडिया गएका थिए ।

Copy link
Powered by Social Snap