महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु


लेखक : सुन्दराञ्चल      मंसिर १४, २०७९ मा प्रकाशित     
महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु

१४ मसिर, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ । सुकुम्वासी प्रतिरोधमा रहेका बेला महानगरको कदमविरुद्ध बोलेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मेयर बालेन्द्र साह (बालेन)ले जवाफ फर्काएका छन्, ‘सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।’

यसले जति विरोध र प्रतिरोध भए पनि महानगर बस्ती हटाउनबाट पछि नहट्ने स्पष्ट गरेको छ । महानगरपालिका स्रोतका अनुसार अहिले महानगरले परिपक्व ढंगबाटै बस्ती खाली गर्ने रणनीति बुनिरहेको छ ।

अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति पनि महानगरको साथमा उभिएको छ । उसकै जोडबलमा महानगर बस्ती हटाउन अघि सरेको थियो ।

४ मंसिरको समयसीमा राखेर समितिले खाली गर्न सार्वजनिक रुपमा आह्वान गरेको थियो । ६ मंसिरमा नै महानगरले बस्ती खाली गर्ने तयारी गरे पनि मतगणना र विजय र्‍यालीहरुमा सुरक्षाकर्मी व्यस्त हुने भन्दै १२ मंसिरका लागि सारिएको थियो ।

पूर्वयोजनाअनुसार सोमबार थापाथली पुगेको महानगरको प्रहरी टोलीमाथि स्थानीयले ढुंगा बर्सााएका थिए । नगर प्रहरी बलका प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भएपछि मंगलबार नगर प्रहरी थापाथलीमा जान सकेन ।
मंगलबार सुकुम्वासीहरुले गरेको प्रदर्शन
‘वडासँग कसैको समन्वय छैन’

थापाथलीको सुकुम्वासी बस्ती काठमाडौं–११ मा पर्छ । बस्ती हटाउन महानगरपालिका अघि सर्दा वडाध्यक्षसहितका स्थानीय जनप्रतिनिधि मौन छन् ।

सुकुम्वासी वस्ती हटाउने योजनाबारे आफूलाई कुनै जानकारी नै नभएको वडाध्यक्ष हिरालाल तण्डुकार दाबी गर्छन् । ‘मलाई यो विषयमा खासै थाहा छैन, हिजो आन्दोलन भएपछि एक जनाले फोन गरेर सुनाउँदै थिए । मैले मलाई थाहा छैन, भनिदिएँ,’ उनी भन्छन्, ‘महानगर प्रहरीले मलाई जानकारी गराएन ।’

सुकुम्वासी बस्तीका बासिन्दाले आफूलाई समस्याको बारेमा केही नबताएको उनको दाबी छ । यो वडाले हेर्ने विषय नै नभएकाले सुकुम्वासी बस्ती र यो समस्याबारे आफू केही नबोल्ने भन्दै उनी पन्छिए । ‘यसमा मेरो आफ्नो धारणा भन्ने केही हुँदैन । यहाँबाट वर्षौंदेखि सुकुम्वासी बस्ती हट्नुपर्छ भनेर आवाज उठिरहेकै छ, समितिले निर्णय गरेर काम गरिरहेको छ,’ उनी भन्छन्, ‘यो नयाँ विषय होइन ।’

बालेन ‘ब्याक’ नहुने

काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) थापाथलीको सुकुम्वासी बस्तीलाई कुनै पनि हालतमा हटाएरै छाड्ने योजनामा छन् । बालेनको सचिवालयले बागमती नदी किनारको प्रमुख सरोकारवाला महानगर भएकाले किनार व्यवस्थित गराउने उद्देश्यले काम सुरु भएको बताएको छ । ‘यसमा पछि हट्ने कुरा छैन । बागमती सभ्यता विकास समितिको दायित्व भएता पनि प्रत्यक्ष सरोकार हामीसँग हुने भएकाले अपनत्व लिएर काम हामीले गर्दैछौं,’ सचिवालय स्रोतले भन्यो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह । फाइल तस्वीर

बालेनका प्रमुख स्वकीय सचिव भुपदेव शाहले महानगरले अब प्रशासनको सहयोगमा बस्ती खाली गर्ने बताए । ‘हामी बस्ती खाली गर्नै जाँदा प्रहरी–प्रशासन संयन्त्रले सहयोग गरेको देखिएन,’ उनले भने, ‘हामी तयार छौं, प्रशासनबाट सहयोग कुरिरहेका पनि छौं ।’

आन्दोलन र गस्ती

महानगर पछि नहट्ने संकेत पाएपछि मंगलबार काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुम्वासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ पनि गरे । काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेका अनुसार मंगलबार बिहान ३ सय भन्दा धेरै सुकुम्वासी बस्तीका स्थानीय महानगर घेर्न गएका थिए ।

थापाथलीबाट नारा जुलुस गर्दै गएका सुकुम्वासीले महानगरविरुद्ध नारा लगाए । फेरि थापाथली फर्किएर उनीहरु निरन्तर आन्दोलन र प्रतिकारको तयारीसहित गस्ती गरिरहेका छन् । उनीहरुलाई जतिबेला पनि महानगरको डोजर आउनसक्ने डर छ ।

आन्दोलनकारीहरुले मंगलबार बिहानदेखि अपराह्नसम्म थापाथलीको सुकुम्वासी बस्ती छिर्ने मुख्य बाटाहरुमा प्रदर्शन पनि गरेका थिए ।

आफूहरुलाई हटाउन लागेको विरोधमा सोमबार थापाथली क्षेत्रका सुकुम्वासीहरुले गरेको प्रदर्शन ।

विगत २७ वर्षदेखि सोही बस्तीमा बसिरहेको बताउने शंकर कामीले कुनै पनि हालतमा नहट्ने बताए । ‘हाम्रो आन्दोलन, हाम्रो अस्तित्वसँग जोडिएको छ । यहाँबाट उठाउनु भनेको हामीलाई मार्नु बराबर हो । हामी कुनै पनि हालतमा हट्दैनौं,’ उनले भने, ‘यहाँ हामी दैनिक काम गरी पेट पाल्ने श्रमिकहरु छौं, अन्य स्थानमा लगेर राखियो भने पनि हामीलाई काम गरिखान गाह्रो अप्ठेरोे हुन्छ ।’

Copy link
Powered by Social Snap