अपाङ मैत्री मतदाता शिक्षा नहुँदा अपाङता भएका मतदाताले समस्या भएको गुनासो गरे


लेखक : सुन्दराञ्चल      कार्तिक २९, २०७९ मा प्रकाशित     
अपाङ मैत्री मतदाता शिक्षा नहुँदा अपाङता भएका मतदाताले समस्या भएको गुनासो गरे

२९ कात्तिक, धनकुटा  । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षा धमाधम भइरहेको छ ।

तर, अपाङ मैत्री मतदाता शिक्षा नहुँदा अपाङता भएका मतदाताले समस्या भएको गुनासो गरेका छन् ।सांकेतिक भाषा शिक्षक तथा अपांग सेवा संघका सल्लाहकार श्रवणलाल राईले अपांगमैत्री निर्वाचन शिक्षा नभएको गुनासो आएको बताए ।

उनले सांकेतिक भाषामा मतदाता शिक्षा सञ्चालन हुनुपर्ने बताए । उनले हरेक मतदानस्थल अपांगमैत्री भनिए पनि ह्वील चियर लिएर जाने ठाउँ नभएको बताए ।

हिले क्याम्पसका सहायक प्रमुख प्रदीप फुयालले राजनीतिक दलले अपांगता भएका व्यत्तिबाट नाफा लिने तर, संरचना बनाउन कन्जुस्याइँ गर्ने गरेको बताए । उनले दृष्टिबिहीनले ब्रेल लिपीबाट मत हाल्न पाउने वातावरण बनाउनुपर्ने माग गरिरहेको बताए ।

दलका तथा उम्मेदवारको घोषणा पत्रमा कोठामा सिमित भएको बताउँदै हरेक स्थानीय तहमा पनि अपांगमैत्री संरचना नभएको उनले गुनासो गरे ।

फुयालले निर्वाचनमा अपांगको नाममा राजीतिक दलले इच्छा विपरीत आफैं मत हाल्ने गरेको यसअघिका निर्वाचनमा पाइएको बताए ।

‘अपाङता भएकालाई मतदान गर्न निर्वाचन आयोगले सहज तरिकाले व्यस्थापन गर्नुपर्ने हुन्छ,’ अपाङ सेवा संघ धनकुटाका सचिव सुमन बसेलले भने, ‘अपाङ मैत्री शिक्षा नहुँदा दिइएको मत समेत खेर जाने अवस्था छ ।’

धनकुटामा करिब ३ हजार ४ सयको हाराहारीमा अपांगता भएका व्यक्तिहरु रहेको अपाङ सेवा संघ धनकुटाका अध्यक्ष सेतुलाल आले मगरले जानकारी दिए । उनले हरेक मतदानस्थल अपांग मैत्री भनिए पनि यसअघिका निर्वाचनमा त्यस्तो नपाएको बताए ।

बसेलले राजनैतिक दल तथा उम्मेवारहरुले अपाङता भएका मतदाताहरुलाई भोटको अपेक्षा मात्र गर्ने गरेको बताए ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयराम श्रेष्ठले सरकारी मापदण्ड अनुसार अपांगमैत्री मतदानस्थल बनाउँदै आएको दाबी गरे । उनले यसपटक पनि अपांगमैत्री मतदानस्थल रहने तर, अपांगमैत्री मतदाता शिक्षा भने केन्द्रको कार्यक्रम नआएकाले त्यसो गर्न नसकिएको जानकारी दिए।

सामान्य नागरिकलाई मतदाता शिक्षाले सहज

धनकुटा नगरपालिका ६ की तेजकुमारी मगर महिला स्वयंमसेविका आएर मतदान गर्न सिकाएको भन्दै खुसी भइन् ।

मंगलबार बिहान मतदाता शिक्षा लिँदै गर्दा भेटिएकी मगर सरकारी निकायले मतदान गर्न सिकाएको भन्दै खुसी भएकी हुन् । मतदाता शिक्षाको लागि खटिएकी महिला स्वास्थ्य स्वयंसेविका माया तामाङले मतपत्रमा छाप लगाउने, मतपत्र पट्याउने तरिका सिकाएकी थिइन् ।

यसअघिका चनावमा पार्टीका मान्छेले आएर यहाँ छाप लाउनु है भनेर उनीहरुकै पार्टीको चुनाव चिन्हमा सिकाए,’ मगरले भनिन् ‘तपाईंलाई इच्छा लागेको चिन्हमा छाप लगाउनु, अन्य चिन्हमा छाप नछोइ पट्याएर बाकसमा खसाल्नु भनेर पहिलो पटक सिकेकी हुँ ।’

यस्तै धनकुटा ६ को गोपाल श्रेष्ठले पनि मत नबिगारी कसरी मत खसाल्ने भन्ने विषयमा जानकारी पाउँदा खुसी लागेको बताए । उनले मतदाता शिक्षा विगतका निर्वाचनमा कम हुने गरेको बताउँदै यो पटक मत दिन सहज हुने बताए ।

निर्वाचन आयोगले यसपटक महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरेर १५ दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । उनीहरुले मंसिर २ गतेसम्म मतदातालाई भेटेर बदर नगरि मतदान गर्न सिकाउने छन् ।

जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठले मतदान गर्न सिकाउने र बदर मत कम गर्न मतदाता शिक्षाले सहयोग पुर्‍याउने बताए ।

निर्वाचन कार्यालयका अनुसार गएका निर्वाचनमा धनकुटामा सरदर १० प्रतिशत बदर हुने गरेको छ ।अनलाइनखबर

Copy link
Powered by Social Snap