१३ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको दोस्रो साबा (दक्षिण एसियाली बास्केटबल संघ) महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता बनेको छ । श्रीलंकाले लगातार उपाधि जित्दा नेपाल भने उपविजेता बन्यो ।
बुधबार भएको आफ्नो अन्तिम खेलमा नेपालले भुटानमाथि सहज जितसहित उपाधि जित्ने सम्भावना कायम राखेको थियो । तर बुधबारै राती नै श्रीलंकाले घरेलु टोली माल्दिभ्सलाई ७२-५९ ले हराउँदै च्याम्पियन बन्यो ।
यस पटक पनि भारत सहभागि नहुँदा नेपालले उपाधि जित्ने लक्ष्यसहित माले पुगेको थियो ।
नेपालसहित जम्मा चार टिम मात्र सहभागि च्याम्पियनसिप राउण्ड रोविन लिगको आधारमा खेलाइएको थियो । जसमा नेपाल पहिलो खेलमै घरेलु टोली माल्दिभ्ससँग ५१-४७ ले पराजित भयो । तर त्यसपछि नेपालले पुनरागमन गर्दै श्रीलंकालाई ५५-४९ ले हरायो भने लिगको अन्तिम खेलमा भुटानलाई ६५-२६ ले पराजित गर्यो ।
च्याम्पियनसिपको अन्तिम लिग खेल आज माल्दिभ्स र भुटानबीच हुनेछ । भुटानले खेलेको दुई खेल नै हारेको छ । माल्दिभ्सले एक खेल जितेको छ भने एकमा पराजित भएको छ ।