मान्छे किन लोभमा फस्न थाले ? किन भ्रष्टाचार भयो ?महाविर पुन


लेखक : सुन्दराञ्चल      चैत्र २५, २०७८ मा प्रकाशित     
मान्छे किन लोभमा फस्न थाले ? किन भ्रष्टाचार भयो ?महाविर पुन

समाजलाई कसरी बदल्ने भन्ने चिन्तनमा नेता सकारात्मक ढंगले निरन्तर लागिरहनु पर्छ।

२५ चैत  मान्छे किन लोभमा फस्न थाले ? किन भ्रष्टाचार भयो ? यो सबैको जरो भनेको समाजको विकृति हो। यो विकृतिलाई नहटाएसम्म हालको विकृत अवस्था रहिरहन्छ। समाजमा विकृति कसले ल्यायो भन्ने प्रश्न आउँछ। समाजमा बस्ने मानिसले नै ल्याएको हो अर्थात् हामीहरूले नै ल्याएका हौं। तपाईं हामी जो पनि एउटा कारण हुन सक्छौं। इष्टमित्र, आफन्त जोकोही पनि कारण हुन सक्छन्। साथीभाइ पनि हुन सक्छन्। हामी सबै मिलेर यस खालको विकृतिको सिर्जना गरेका हौं।

राजनीतिक दलहरू भनेका पनि यही समाजका अंग हुन्। हामीले फरक आँखाले हेर्नु हुँदैन। समाजमा देखिएका विविध विकृतिकै परिणाम हो राजनीतिक दलमा देखिएका विकृति पनि। समाजका सदस्य नै संस्थागत ढंगले जोडिएका हुन्। समाज स्वच्छ भए मात्र सबै कुरा स्वच्छ हुँदै जान्छ। एउटा विकृति फैलिएपछि त्यसको असर त सबैलाई पर्छ नै। किनकि समाजका हरेक गतिविधि एउटा सञ्जालमा जोडिएका छन्। यस्तो विकृति परिवारबाटै हुने हो। परिवारमा विकृति हुने कुरो सबैको केही न केही मात्रामा हुन्छ। कोही निर्दोष होला, अर्थात् उसले त्यो काम नगरेको होला। तर, ऊ पनि समाजको अंग भएकाले कहीँ कतै प्रत्यक्ष वा परोक्ष रूपमा जोडिन सक्छ। झैझगडा हुन्छ, भ्रष्टाचार हुन्छ भने एक्लै सम्भव छैन। यो जे हुन्छ, त्यो समाजको उपज हो।

समाजमा सबै मिलेर नियन्त्रण हुने कुरो हो यी सबै। मिले त विकृति नियन्त्रण हुन बेर लाग्दैन। मिलेन भने त कसरी नियन्त्रण हुन्छ र ? सामाजिक होस् वा राजनीतिक विकृति, कसरी नियन्त्रण हुन्छ ? भन्ने प्रश्नको चाहिँ ठ्याक्कै यही वा यसरी नै भन्ने उत्तर भने हुँदैन। समाधानका विभिन्न तरिका हुन सक्छन्। फेरि एउटा समाजको एउटा विषय जुन ढंगले समाधान गरिएको हुन्छ, त्यस्तै विषय भए पनि अर्को समाजमा लागू हुन्छ भन्ने हुँदैन। खासगरी विषय हेरी त्यससँग जोडिएका मानिसबीच नै निकास खोज्नुपर्ने हुन्छ, सकिन्छ पनि। सरोकार नभएकाले समाधान खोज्ने कुरो पनि भएन।

नेपालको समस्या समाधान गर्न कुनै देश गएर वा विदेशी बोलाएर होला त ? हुँदैन। नेपाली नै हुनुपर्छ। कोही सही मान्छे उदाहरणीय हुन्छन् तर ती पनि समयक्रमसँगै जोडिने वा मुछिने अवस्था हुन्छ। यस्ता मान्छे कसरी सही भइरहने वा बनाइराख्ने ? धेरैको चासोको विषय हुन सक्छ। यसमा पनि यही नै भन्ने उत्तर हुन्न। सूत्र पनि हुँदैन। विज्ञान होस् वा गणित, त्यहाँ समस्याको समाधान गर्ने सूत्र हुन्छ। सामाजिक सन्दर्भमा सूत्र लागू हुन्न। कुरा गर्नेहरूले भन्छन्, यसो गर्‍यो भने हुन्छ उसो गर्‍यो भने भइहाल्छ, के नै ठूलो कुरो हो र ? भनेर। ती गफ गर्ने मेसो मात्र हुन्। भनिसकें, कतै कुनै काम भयो भने त्यही काम कुरो अर्को समाजमा हुन सक्छ भन्ने हुँदैन। नेपाली समाजमा भाषा, जात, जाति, संस्कृति, भूगोल आदि विविध कारणले विविधता छ। एउटा समुदायमा काम गर्ने कतिपय कुरा अर्कोमा पच्दैन।

मान्छेहरू विभिन्न संस्कारमा हुर्किएका हुन्छन्। को कस्तोमा हुर्किएको हो भन्ने कुरा त्यसमा भर पर्छ। बोलेको कुरा पुर्‍याउने संस्कारमा हुर्किएको भए ऊ सही नागरिक बनेर निस्कन्छ। होइन भने बोल्ने, बोलेर पनि नपुर्‍याउने अनि नपुर्‍याएकोमा समेत कुनै पछुतो नमान्ने स्वभाव हुन्छ मान्छेको। विकृतिको यो एउटा सानो स्वरूप मात्र हो। संस्कार परिवारबाट दिन सुरु गरिन्छ। परिवार भनेकै समाजमा रहेको हुन्छ। कतै सानो समाज हुन्छ त कतै ठुलो हुन्छ। विभिन्न आकारमा समाज रहन्छ। परिवार नराम्रो संस्कारको भए पनि समाज राम्रो छ भने मान्छे नबिग्रन सक्छ। अन्ततः ऊ सही निस्कन सक्छ। समाजले राम्रो संस्कारमा लैजान सक्छ। परिवार राम्रो छ तर वरिपरिको समाज विकृत छ भने जति नै राम्रो व्यक्तिमा पनि समाजको असर पर्न सक्छ।

विश्व परिवेश पनि नियाल्नु पर्छ। आफूलाई सोहीअनुसार समायोजन गर्दै अघि बढ्नु पर्छ। सही र राम्रा कुरा सिक्नुपर्छ। गलत कुरा त्यहीँ छोडेर अघि बढ्नुपर्छ।

विद्यालयबाट बालबालिका सही निकाल्न सकिन्छ नि ? भनेर पनि कसैको मनमा जिज्ञासा उत्पन्न हुनसक्छ। म त भन्छु, विद्यालयमा अध्यापन गराउने पनि त समाजकै सदस्य हुन् नि। त्यसैले विद्यालय पनि समाजअनुसारको हुन्छ। समाजले बनाएको विद्यालय भए पनि शिक्षकशिक्षिका कस्ता छन् भन्ने पनि हुन सक्छ। जस्तो समाज उस्तै विद्यालय हुन्छ नि। मान्छेको जिन्दगी हावाहुरी जस्तो हो, नदी वा खोलाजस्तो पनि हुन्छ। एकै ठाउँमा जन्मिएको, हुर्किएको, अध्ययन गरेको भए पनि परिस्थितिले कसलाई कहाँ पुर्‍याउँछ ? कस्तो ठाउँमा पुर्‍याउँछ ? संगत कस्तो हुन्छ ? उसले जिन्दगीमा कति हन्डर र ठक्कर खान्छ भन्ने पनि हुन्छ। एउटै आमाको कोखबाट जन्मिएको दुई बालकमा पनि त फरक हुन्छ।

समाजले कुनै पनि व्यक्तिलाई सधैं नै आफ्नो छत्रछायाँमा राखेर त हुर्काउन सक्दैन। हातखुट्टा लागेपछि विभिन्न वातावरणमा जानुपर्छ, काम गर्नुपर्छ। विभिन्न समुदायसँग घुलमिल भएर काम गर्नुपर्छ। भोग्दै जाँदा परिस्थितिले के, कसरी अगाडि बढाउँछ ? सही सिकाउँछ वा गलत भन्न सकिन्न। कसैलाई स्वदेशमै राख्छ कसैलाई विदेश पुर्‍याउँछ। युवा रोजगारीका लागि विदेश जाने कुरा सबै सामान्य हो। नेपालबाट कोही किन विदेश जान्छन् ? स्वदेशमा रोजगारी छैन र विदेश जान्छन्। स्वदेशमै रोजगार दिन त सरकार सक्षम हुन पर्‍यो नि। नत्र जहाँ रोजगारी पाउँछन्, त्यहाँ जान्छन्। जुन स्वाभाविक कुरा हो। कुनै नौलो वा अचम्मको कुरा पनि भएन।

कतिपय निजी क्षेत्र, संस्था वा व्यक्तिसमेतले रोजगार दिएका उदाहरण प्रशस्तै छन्। हरेक नेतृत्व आफ्नो क्षेत्र वा विषयमा उदाहरणीय बन्न सक्नुपर्छ। यो समाजमा राजनीति गर्न चुनाव लड्नेलाई मात्र नेता भनेर बुझिन्छ, त्यो गलत हो। मानव सभ्यताको इतिहासमा जेजस्ता काम भइरहेका छन्, खासमा भन्ने हो भने अहिले जसरी चलिरहेको छ, त्यसरी चल्दैन। चल्न पनि दिनु हुँदैन। परिवर्तन भइरहन्छ, गर्नु पनि पर्छ। अहिले जति पनि काम भइरहेको छ, त्यो पुरानो पुस्ताको आधारमा भइरहेको छ। अब नयाँ पुस्ताले पुरानो पुस्ताबाट सिकेर चल्नुपर्छ। कि त पुरानोले सिकाएअनुसार काम गर्नुपर्छ। होइन, पुरानो पुस्ताले गरेको काम वा सिकाएको तरिका ठीक भएन भने नयाँ तरिकाले चल्नु पर्‍यो। यसको अन्तिम निर्णय नयाँ पुस्ताले गर्नुपर्छ।

विश्व परिवेश पनि नियाल्नु पर्छ। आफूलाई सोहीअनुसार समायोजन गर्दै अघि बढ्नु पर्छ। विदेशीले जे गरे त्यही कुरो जस्ताको तस्तै नक्कल गर्नुपर्छ भन्ने होइन। सही र राम्रा कुरा सिक्नुपर्छ। गलत कुरा त्यहीँ छोडेर अघि बढ्नुपर्छ। नत्र अघि माथि भनिए जसरी हरेक क्षेत्रमा सामाजिक विकृति देखिइरहन्छ। यस्तै कुराले हो समाज विकृत हुँदै जाने। के ग्रहण गर्ने के नगर्ने भन्ने विवेक हरेक नागरिकसँग हुनुपर्छ। नागरिक हरपल सचेत हुनुपर्छ। सचेत नागरिक बनाउन सही र संस्कारी शिक्षा दिने काम सरकारको हो। विकृति ‘फिल्टर’ गर्न नसक्नेहरू नै हुन् समाजमा विकृति ल्याउने। आफ्नो परिवेश, हावापानी, स्थिति सुहाउने गरी नक्कल गर्न सकिन्छ। आवश्यकता वा हावापानीअनुसार प्रयोग गर्नुपर्छ। विदेशीले जे काम जसरी गरे त्यही शैलीमा बग्नु भने हुँदैन।

जो नेताले देश चलाइरहेका छन् जसरी चलाइरहेका छन् त्यो वर्तमान विषय हो। स्थानीय जनप्रतिनिधिदेखि प्रदेश हुँदै संघीय सरकारसम्म सञ्चालन गर्ने नेता आदि सबै यही समाजकै सदस्य भएकाले यसरी पनि बुझ्नुपर्छ। तर, यही ढंगले पनि चल्दैन, विकासले पनि गति लिँदैन। समाजलाई कसरी बदल्ने भन्ने चिन्तनमा नेता सकारात्मक ढंगले निरन्तर लागिरहनु पर्छ। कुनै न कुनै समयमा एउटा त्यस्तो समय आउँछ
कि समाज एकदमै सही अवस्थामा पुग्नेछ। तर कहिले आउँछ ? कसरी आउँछ ? भन्ने कुरा चाहिँ थाहा हुँदैन। अर्नपूर्ण

Copy link
Powered by Social Snap