धनगढी- मङि्सर १४,आगामी पुस ९ गतेदेखि कैलालीको धनगढीमा नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा शैक्षिक महोत्सव हुने भएको हो ।
संघले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएको छ । सुदूरपश्चिमको पर्यटन, शिक्षा, स्टेशनरी, मसलन्द तथा छपाई व्यवसायको विकास तथा संस्कृतिको प्रवर्द्धनका साथै शिक्षासँग सम्बन्धित विकासका सम्भावनाहरु उजागर गर्ने उदेश्यले महोत्सवको आयोजना गर्न लागिएको संघका कैलाली जिल्ला अध्यक्ष भीम पडालले जानकारी दिए ।
उनले शैक्षिक रुपले सुन्दर सुदूरपश्चिमलाई आर्थिक रुपमा समेत समुन्नत बनाउन टेवा पुर्याउने महोत्सवको उद्देश्य रहेको उनले बताए ।
उनले भने ‘महोत्सवले यस क्षेत्रको शैक्षिक, आर्थिक एवम् सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने तथा देश र सुदूरपश्चिमको शैक्षिक उन्नत विकासका लागि टेवा पुग्ने आशा लिएका छौँ ।’
महोत्सवमा सुदुरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामग्री र शिक्षासँग सम्बन्धित निकायहरुका गरी एक सय ५० स्टल रहने आयोजकले जनाएको छ । महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै ५ करोड बढीको कारोबार हुने अनुमान गरिएको अध्यक्ष पडालले जानकारी दिए ।
महोत्सव सपन्न गर्न करिब दुई करोड बढी खर्च हुने प्रक्षेषण गरिएको उनले बताए । महोत्सवको करिब ४० प्रतिशत तयारी भएको र महोत्सव पुस १५ गतेसम्म धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा आयोजना हुने जनाइएको छ ।
Related