मंसिर ३, अमेरिकाले अन्तत: रुसको भित्रि भागसम्म मार हान्न युक्रेनलाई अनुमति दिएको छ । राष्ट्रपति जो बाइडनले अमेरिकाले दिएको लामो दुरीको मिसाइल रुसको भित्रि भागसम्म आक्रमण गर्न अनुमति दिनुभएको हो ।
विगत लामो समयदेखि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र पश्चिमा राष्ट्रलाई लामो दुरीको मिसाइल रुसको भित्रि भुभागसम्म मार हान्नका लागि अनुमति दिन आग्रह गरिरहनुभएको थियो । रुसले युक्रेनविरुद्ध केही दिनयताकै ठूलो आक्रमण गरेपछि बाइडन प्रशासनले युक्रेनलाई यस्तो अनुमति दिएको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्प ह्वाइट हाउस फर्केसँगै युक्रेनलाई अमेरिकाले दिने सहायतामा कटौति हुनसक्ने भन्दै बाइडेनले आफ्नो कार्यकालमै युक्रेनलाई सहयोग बढाउन खोजिरहनुभएको छ ।
बाइडन प्रशासनले युक्रेनलाई लोमो दुरीको मिसाइल प्रयोगको अनुमति दिएको विषयलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीले समेत पुष्टि गर्नुभएको छ । गत महिना नै अमेरिकाले युक्रेनलाई लामो दुरीको मिसाइल पठाएको थियो । तर, प्रयोगको अुनमति भने दिएको थिएन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि नै युक्रेनलाई लामो दूरीको मिसाइल प्रयोगको अनुमति दिए युक्रेन युद्धमा रुसको पश्चिमा राष्ट्र र नर्थ एटलान्टिक सन्धि संगठन-नेटोसँग प्रत्यक्ष यद्ध हुने चेतावनी दिनुभएको थियो । रुसले युक्रेनको उर्जा संरचना र पूर्वाधार लक्षित आक्रमणलाई तीब्र पारिरहेको छ ।
जेलेन्स्कीले रुसले युक्रेनमाथि १ सय २० क्षेप्यास्त्र र ९० वटा ड्रोनले आक्रमण गरेको बताउनुभएको छ । सामाजिक सञ्जाल टेलिग्राममा जेलेन्स्कीले युक्रेनी हवाई रक्षा संयन्त्रले एक सय ४० भन्दा बढी लक्ष्यलाई निस्तेज पारेको उल्लेख गर्नुभएको छ ।