बैतडी मंसिर २, : सुदूरपश्चिम प्रदेशमा गएको चार महिनाको अवधिमा १३३ वटा सवारीसाधन दुर्घटना हुँदा ५९ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन् । तीमध्ये गम्भीर घाइते भएका ११४ जना उपचाररत छन् । सुदूरपश्चिम प्रदेशमा २०८१ साउनमा तीन वटा बस, भदौमा दुई, असोजमा पाँच, कात्तिकमा तीन गरेर चार महिनामा १३ वटा बस दुर्घटना भएका छन् । यही अवधिमा माइक्रो पाँच वटा र आठ वटा बोलेरो जिपसमेत दुर्घटना भएका छन् ।
शुक्रबार बिहान ४ बजे दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भयो । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् । दुर्घटना भएको जिपमा दार्चुलास्थित मालिकार्जुन मेलाको दर्शन गरेर घर फर्किंदै गरेका यात्रु सवार थिए । गएको असोज ३० गते डडेलधुरा बस दुर्घनामा बैतडी पुर्चौका एकै परिवारका चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । दसैँलगत्तै कञ्चनपुरबाट बैतडी आउँदै गरेको बस डडेलधुरामा दुर्घटना भएको थियो ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये पहाडी क्षेत्रमा बढी दुर्घटना हुने गरेका छन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार दसैँका बेला गएको असोज महिनामा ५१ वटा सवारी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् । घाइतेमध्ये ३६ जना गम्भीर छन् । तिहारका बेला कात्तिक महिनामा ३४ वटा सवारीसाधन दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् । घाइतेमध्ये ३३ जनाको अवस्था गम्भीर भएको तथ्याङ्कमा उल्लेख छ ।
दुर्घटना हुने सवारीसाधनको प्रकृति अनुसार मोटरसाइकलपछि बढी दुर्घटना हुने सवारीसाधनमा बस, जिप, टेम्पो र माइक्रो रहेका छन् । सवारी दुर्घटनामा बर्सेनि ठुलो मानवीय क्षति भए पनि घटनाको गम्भीर छानबिन हुने गरेको छैन । मृतकको ठेगाना भएका केही स्थानीय तहले शोक बिदाबाहेक सडक सुरक्षाका उपायकाबारेमा चासो दिएको पाइँदैन ।
सङ्घीय सरकार मातहत रहने गरेर सुदूरपश्चिम प्रदेशको अत्तरियामा २०७९ सालमा स्थापना भएको सवारी परीक्षण कार्यालय कर्मचारीविहीन बनेको छ । सुदूरपश्चिम प्रदेशबाट बाहिरी जिल्लाको लामो दूरीमा चल्ने सवारीसाधनको परीक्षण गर्दै आइरहेको कार्यालयमा उपसचिव स्तरका मेकानिकल इन्जिनियरको दरबन्दी भए पनि लामो समयदेखि निमित्तको भरमा चलेको छ ।
प्रदेशस्थित सवारी परीक्षण कार्यालयमा उपसचिव स्तरका इन्जिनियरसहित पाँच जना मेकानिकाल इन्जिनियरको दरबन्दी भए पनि लामो समयदेखि पद रिक्त रहेको हो । परीक्षण कार्यालय एक जना मेकानिकल इन्जिनियरको भरमा सञ्चालन भइरहेको कार्यालयका सूचना अधिकारी नन्दराज पन्तले बताए । उनले प्रदेशबाट काठमाडौँ चल्ने कालो प्लेट भएका सवारीसाधनको छ महिनामा एक पटक परीक्षण हुने भए पनि दरबन्दी अनुसारका मेकानिकाल इन्जिनियर नभएको र परीक्षण गर्ने मेसिन बिग्रिएको जानकारी दिए ।
प्रदेशको अत्तरियामा रहेको सवारी परीक्षण कार्यालयमा मेकानिकल इन्जिनियर नहुँदा सवारी परीक्षणको काम प्रभावित भएको अवस्थामा सोही ठाउँमा रहेको हेबी इक्विपमेन्ट कार्यालय गोदावरीमा ३३ जना मेकानिकल इन्जिनियर रहेका छन् । गोदावरी मातहत रहेको बुडरस्थित यान्त्रिक कार्यालयमा थप १२ जना गरेर प्रदेशमै ४५ जना मेकानिकल इन्जिनियर रहेका छन् ।
प्रदेशको तराई–पहाड जोड्ने सडक प्राकृतिक विपत्मा बन्द भए गोदावरी र बुडर कार्यालयले सुचारु गर्ने जिम्मेवारी वहन गर्दै आइरहेका छन् । ठुला उपकरण र यान्त्रिक कार्यालयले सरकारी मेसिन उपकरण भाडामा लगाएर आम्दानीसमेत गर्दै आइरहेको छ । योबाहेक प्रदेश, स्थानीय तह र अन्य सरकारी कार्यालयका सवारीसाधन मर्मतसमेत प्रदेशमै हुँदै आइरहेका छन् ।
नेपाल सरकारले सुदूरपश्चिम प्रदेशका बैतडी, दार्चुला र बझाङलगायतका पहाडी जिल्लाको सडक सुरक्षामा वार्षिक आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेको छ । तराईका जिल्ला र लामो दुरी काठमाडौँ चल्ने सवारीसाधन पुरानो भएपछि पहाडी जिल्लामा चल्ने गरेको पाइएको छ । दार्चला, बैतडी र बझाङका सडक सुधारमा ४० करोड रुपियाँ खर्च गरेर मोड सुधार गरेको तीन जिल्लाको सडक हेर्दै आइरहेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका इन्जिनियर लक्ष्मीदत्त जोशीले बताउनुभयो । उहाँले पहाडी जिल्ला जोड्ने मुख्य लोकमार्गमा मोड सुधार गरी सडक किनारमा प्यारापिट पर्खाल लगाउने काम सम्पन्न भएपछि सडकको भौतिक अवस्था ९० प्रतिशत सुधार भएको दाबी गरे ।
सरकारले सडक सुधारमा वार्षिक आठ करोड रुपियाँ खर्च गर्दै आए पनि पहाडी रुटमा चल्ने सवारीसाधनको अवस्था परीक्षण हुने गरेको छैन । पहाडी जिल्लामा ट्राफिक प्रहरीले जरिबाना गरेको कागजको भरमा २० वर्ष पुराना गाडी निर्वाध चलिरहेका छन् । ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कारबाहीका नाममा जरिबानाको रसिद काटेर गन्तव्यतर्फ जान दिने गरेको पाइएको छ ।