काठमाण्डौँबाट धनगढीसम्म एक यात्रुको भाडा सत्र हजार रुपैयाँ


लेखक : सुन्दराञ्चल      अशोज १३, २०८१ मा प्रकाशित     
काठमाण्डौँबाट धनगढीसम्म एक यात्रुको भाडा सत्र हजार रुपैयाँ

काठमाण्डौँ, १३ असोज : काठमाण्डूबाट भारतको राजधानी “नयाँदिल्लीको भन्दा धनगढीको भाडादर महँगो” भएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ । अनलाइन टिकट बुकिङ एपबाट हेर्दा पनि काठमाण्डूबाट धनगढीसम्म एक यात्रुका लागि १७,००० रुपैयाँमा टिकट बिक्रीमा राखेको पाएको छ ।
टिकटको मूल्य महँगो बनाएको विषयमा वायुसेवा सञ्चालकहरूको संस्था वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष र नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग कुरा गरेको छ । विपत्तिको समयमा महँगो भाडादर लिइएको विषयमा व्यापक प्रश्न उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुक पेजमार्फत् भाडादर नबढाउन अनुरोध गरेका छन् । “हवाई सेवा दिँदै आएका एअरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ,” प्रधानमन्त्रीले भनेका छन् ।

ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिका गएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले पनि भाडादर नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । राजमार्गहरू बन्द रहेको अवस्थामा आवतजावतको विकल्पको रूपमा रहेको हवाई यातायात विमान सेवा कम्पनीहरूले “आफूखुसी हवाई भाडा बढाउँदा सर्वसाधारण नागरिकमा यसले ठूलो असर पारेको” ठहर गर्दै संसदीय समितिले “हवाई भाडा दरमा नियन्त्रण गर्न” सरकारलाई निर्देशन दिएको छ ।
भाडादरबारे बीबीसीले सोधेको प्रश्नमा वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले आफूहरूले सरकारले तोकिदिएकै भाडादर लिएको दाबी गरे । कार्कीका अनुसार बुधवारसम्म वायुसेवा कम्पनीहरूले अधिकतम भाडा नलिने सहमति नागरिक उड्डयन प्राधिकरणसँग भएको छ । अब वायुसेवा सञ्चालकहरूले मध्यम र न्यूनतम मूल्यमै सबै टिकट बिक्री गर्ने उनले जानकारी दिए ।
“बुधवारसम्म अधिकतम मूल्य नलिने। मध्यम मूल्य र न्यूनतम मूल्यमा नै सबै टिकट बिक्री गर्ने भन्ने भएको छ,” उनले भने । “सरकारले विमान कम्पनीहरूका लागि प्रत्येक ठाउँको अधिकतम र न्यूनतम भाडादर तोकिदिएको छ । अहिले सडक अवरुद्ध भएका कारण हवाई यात्रुहरूको चाप देखिएको छ । यसकारण सस्तो टिकट सबै बिक्री भएका कारण अधिकतम मूल्यका टिकटहरू मात्रै उपलब्ध भएका हुन सक्छन्,” उनले भने । “अरू बेला माग कम भएका कारण सस्तोमा टिकट पाइन्थ्यो । अहिले माग बढी भएका कारण अन्तिम समयमा टिकट काट्दा सस्तोमा राखिएका टिकटहरू पाइँदैनन् ।”
तर वायुसेवा कम्पनीहरूले कति प्रतिशत टिकट न्यूनतम मूल्य र कति अधिकतम मूल्यमा बिक्री गर्छन् भन्ने कुनै सीमा नभएको कार्कीले बताए । “त्यो मागका आधारमा तय हुने कुरा हो। माग कम भएका समयमा धेरै सीट सस्तोमा बेच्नुप¥यो र बढी भएका समयमा बढीमा बिक्री हुने हो,” उनले भने । विपद्को समयमा मागका आधारमा बढी मूल्य लिइएको विषयमा भइरहेको आलोचनाबारे बीबीसीको प्रश्नमा कार्कीले भने, “त्यो प्रणालीले तय गर्ने कुरा हो। उच्च क्लासका टिकटहरू मात्रै बाँकी भएकाले हो ।” शुक्रवारबाटै देशका अधिकांश गन्तव्यहरूमा आन्तरिक उडान प्रभावित भएका कारण आइतवार र सोमवार टिकटको माग उच्च रहेको विमान सेवा कम्पनी सञ्चालकहरूको दाबी छ । “हामीले हिजोअस्ति रोकिएका यात्रुहरूलाई त्यही मूल्यमा उडाइरहेका छौँ,” उनले भने ।
वायुसेवा क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालकहरूलाई सरकारले नै भाडादर तय गरेका कारण आफूहरूले आग्रह मात्रै गर्न सक्ने बताएको छ । प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले प्राधिकरणले वायुसेवा सञ्चालकहरूलाई अनुरोध गरिरहेको बताए ।
“सरकारले नै धनगढीको अधिकतम भाडा १८,००० रुपैयाँसम्म तय गरेका कारण हामीले यसमा घटाऊ भन्न मिल्दैन । तर विपद्को समयमा अधिकतम भाडा नलिएर सहुलियत भाडादर नै लिन हामीले वायुसेवा सञ्चालकहरूलाई अनुरोध गर्दै छौँ,” उनले भने ।

Copy link
Powered by Social Snap