‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका किसान दङ्ग


लेखक : सुन्दराञ्चल      अशोज ११, २०८१ मा प्रकाशित     
‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका किसान दङ्ग

असोज ११, आफ्नै जिल्लामा फलेको ‘अर्ग्यानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका किसान धनबहादुर रावल दङ्ग छन् । नजिकिएको चाडपर्वका समयमा स्याउको माग बढेपछि उनी यतिबेला बिक्रीका लागि धनगढी पुगेका छन् ।

बिक्रीका लागि बुधबार धनगढी ल्याइपुर्‍याएको चार सय १७ पेटी (छ हजार दुई सय ५५ किलो) स्याउ दुई दिनमै बिक्री भइसक्यो’, उनले भने, स्याउखेतीमा लागेका किसानले उत्पादन क्षेत्रमा उचित मूल्य नपाउँदा भने केही खल्लो महसुस भएको छ ।’

यो स्याउ धनगढी बजारमा भने एक सय २० मा बिक्री भएको छ । बाजुराबाट यसपालि सुर्खेतमा तीन ट्रक, छिन्चुमा दुई र कैलालीको बौनिया र धनगढीका लागि एक–एक ट्रक स्याउ बजारीकरणका लागि ल्याइएको विक्रेताको भनाइ छ । किसान दानबहादुरले सडकको भरपर्दो सुविधा नहुँदा उत्पादित स्याउ बजारसम्म पुर्याउन मुस्किल भएको बताए ।

सरकारी निकायबाट किसानको अपेक्षाअनुसार सहयोग नपाउँदा स्याउको बजारीकरणमा समस्या भइरहेको गुनासो पनि किसानको छ । बाजुराको अर्ग्यानिक स्याउ धनगढी पुगेपछि स्थानीय उपभोक्ताले पनि यसको स्वाद पनि लिन पाएका छन् ।

धनगढीका फणिन्द्र जोशीले बाजुराको स्याउ रसिलो र स्वादिलो भएको अनुभव सुनाए । सुदूरपश्चिम प्रदेशको धनगढीलगायतका सहरी क्षेत्रका फलफूल बजारमा भारतबाट आयातित स्याउको कारोबार हुने गरेको छ । रासस

Copy link
Powered by Social Snap