काठमाडौं भाद्र ३१, आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग-२ कै ओडीआई खेलमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो । लिग- २ को पहिलो सिरिजमै घरेलु मैदानमा खराब प्रदर्शन गरेको नेपाललाई कमजोरी दोहोर्याउने कुनै अवसर हुने छैन ।फेब्रुअरी अन्तिम साता घरेलु सिरिजमा ४ मध्ये ३ खेल गुमाएको नेपाललाई यस पटक भने त्यो गल्ती दोहोर्याउने अवसर हुने छैन । लिग -२ को तालिकामा नेपाल २ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।
टी-२० विश्वकपपछि अन्तर्राष्ट्रिय खेल नखेलेको नेपालले यसै सिरिजका लागि भारतको बैगलुरुस्थित नेसनल क्रिकेट एकेडेमीमा दुई हप्ता अभ्यास गरेको थियो । त्यसपछि थप तयारीका लागि श्रीलंका पुगेको नेपालले श्रीलंका डेभलप्मेन्टसँग तीन अभ्यास खेल खेल्ने तालिका थियो ।
तर वर्षाका कारण सुरुवाती दुई खेल हुन नसक्दा तेस्रो खेलमा नेपाल पराजित भएको थियो । प्रशिक्षक मोन्टी देशाइले टिमको बिदाइमा नेपालको तयारी राम्रो रहेको र राम्रो नतिजा हात पार्ने विश्वास व्यक्त गरेका थिए । नेपाल र क्यानडाले हालसम्म एक अर्काविरुद्ध ३ ओडीआई खेल खेलेका छन् । जसमा नेपालले शतप्रतिशत नतिजा हात पारेको छ ।