३० वैशाख, नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै करिब १ खर्ब रुपैयाँ बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को चैतसम्म शिक्षातर्फ ९५ अर्ब ८५ करोड रुपैयाँ विदेशिएको छ । यो अधिल्लो वर्षको तुलनामा धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा शिक्षातर्फ ६७ अर्ब १९ करोड रुपैयाँ मात्र विदेशिएको थियो ।
यसअवधिमा नेपालले विदेशी पर्यटकका माध्यमबाट भने ६० अर्ब ४५ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको यसै अवधिमा करिब ४० प्रतिशत धेरै हो । सो वर्ष भ्रमण आय ४३ अर्ब १७ करोड थियो । सेवा खाता अन्तर्गत मुलुक भित्रने भन्दा विदेशिने रकम हुँदा यस्तो खाता घाटामा देखिन्छ ।९ महिनाको अवधिमा सेवा खाता ५२ अर्ब २३ करोड रुपैयाँले घाटामा छ । सेवा खाता अघिल्लो वर्षको यसै अवधिमा ६३ अर्ब ९१ करोड रुपैयाँले घाटामा थियो । यस वर्ष पर्यटन आय बढ्दा घाटा केही कम भने भएको देखिन्छ ।