कञ्चनपुर, ४ वैशाख ,विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको दैजी–जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ । बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालयले पनि स्वीकार गरेको छ ।
“काम बन्द नै छैन, तर गति भने निकै सुस्त छ”, प्रमुख अधिकारीले भने, “१३ किलोमिटरमध्ये चार–पाँच किलोमिटर सडक निर्माण अझै उस्तै छ । केही वर्षअघि सडकसँगै पहिरोले नाली, तारजालीलगायत संरचना भत्काएपछि सडकको यो अवस्था भएको हो । ” उनले सात–आठ किलोमिटर सडक कालोपत्र भए पनि पहिरोले धेरै ठाउँमा क्षति पुर्याएको बताए । दैजीबाट कञ्चनपुरको सिमाना पर्ने लिप्नासम्म २१ किलोमिटर सडकखण्डको निर्माणमा सरोकारवाला निकायले चासो नदेखाएको बेदकोट नगरपालिका–३ का स्थानीय बताउँछन् ।
बेदकोट नगरपालिका–३ का वडाध्यक्ष मोहनबहादुर गुर्धामीले सडक स्तरोन्नतिका लागि पटक–पटक पालिकास्तरबाट ताकेता हुँदै आएको बताए । “प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएका थियौँ”, वडाध्यक्ष गुर्धामीले भने “काम अघि बढाउँछौँ भनेर ठेकेदारका मान्छे भन्छन् मात्रै, गर्दैनन् ।”