धनगढीमा सम्पन्न हाफ म्याराथन प्रथियोगितामा नेपाली सेनाका मुकेश विजयी


लेखक : सुन्दराञ्चल      बैशाख १, २०८१ मा प्रकाशित     
धनगढीमा सम्पन्न हाफ म्याराथन प्रथियोगितामा नेपाली सेनाका मुकेश विजयी

१ बैशाख : धनगढीमा सम्पन्न हाफ म्याराथन प्रतियोगितामा नेपाली सेनाका मुकेश बहादुरपाल विजयी भएका छन् । “अब धनगढी दौडिन्छ” भन्ने नाराका साथ साथ शानिबार नयाँ वर्ष २०८१ को आगमनको पहिलो दिन प्रतियोगिता सम्पन्न भएको हो ।
धनगढी जेसिसद्वारा आयोजित २१ किलोमिटर दुरीको हाफ म्याराथनमा मुकेशले १ घन्टा ०७ मिनेट ५७.३५ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान प्राप्त गरे । जीतसँगै उनले ६६ हजार ६६६ रुपैयाँको पुरस्कार प्राप्त गरे । प्रतियोगितामा दुर्गाबहादुर बुढाले १ घन्टा ०८ मिनेट १२.७७ मिनेटमा दुरी पार गर्दै द्वितीय स्थान प्राप्त गरे । उनलाई ४४ हजार ४४४ रुपैयाँ प्रदान गरियो ।
त्यस्तै, १ घन्टा ०८ मिनेट ४९.८६ सेकेन्डमा दूरी पुरा गर्दै तृतीय बनेका नरेन्द्रसिंह रावतले ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरे । हाफ म्याराथनमा निकै ठूलो संख्यामा खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो । हाफ म्याराथन धनगढी रंगशालाबाट सुरु भएर शहीद गेट, गेटा हुँदै गेटा मेडिकल कलेज मनेहरा पुल पुगेर पुनः धनगढी रंगशालामा पुगेर समापन भएको थियो ।
त्यस्तै, पुरुष ५ किलोमिटर दौडतर्फ कविर कामी १७ मिनेट ६५.७१ सेकेन्डसहित प्रथम, विकास बोहरा १७ मिनेट ८४.४६ सेकेन्डसहित द्वितीय र विकास सिंह १८ मिनेट २१.३१ सेकेन्ड तृतीय बने । ५ किलोमिटर महिला दौडतर्फ कमला बडुवालले १८ मिनेट ५०.४६ सेकेन्डमा दुरी पार गर्दै प्रथम, बागेश्वरी धामी १९ मिनेट ०३.२४ सेकेन्डसहित द्वितीय र तुलसी रावत १९ मिनेट ४४.२८ सेकेन्डसहित तृतीय बनिन् । दुवै विधाका विजेताहरूले क्रमशः ६ हजार ६६६, ४ हजार ४४४ र ३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गरे ।
धनगढी जेसिसका अध्यक्ष अरुण सिंहका अनुसार प्रतियोगिताको मुख्य प्रायोजक जेसिस एभरेष्ट स्कूल रहेको थियो । भने प्रायोजकमा चैतन्य पाठशाला रहेको थियो । प्रतियोगिताको प्रवर्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम युवा परिषद्, धनगढी उपमहानगरपालिका र नवजीवन को–अपरेटिभ्स लिमिटेड रहेका थिए ।
धनगढी जेसिसले १० वर्षदेखि हरेक नयाँ वर्षको पहिलो दिन धनगढी हाफ म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितालाई यसवर्षदेखि नेपाल एथलेटिक्स संघले मान्यता समेत दिइसकेको छ । प्रतियोगितामा बन्ने किर्तिमानहरू समेतले मान्यता पाउने जनाइएको छ ।

Copy link
Powered by Social Snap