आजदेखि एसइई परीक्षा : सुदूरपश्चिम प्रदेशबाट ५५ हजार सहभागी


लेखक : सुन्दराञ्चल      चैत्र १५, २०८० मा प्रकाशित     
आजदेखि एसइई परीक्षा : सुदूरपश्चिम प्रदेशबाट ५५ हजार सहभागी

चैत्र १५,आज बिहिबार देखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदै छ । एसइईमा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० जना विद्यार्थी सहभागी हुँदै छन । तीमध्ये २७ हजार २४४ छात्र र २७ हजार ७६६ छात्रा रहेका छन ।
सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्णबहादुर बोहोराले एसइईको सम्पूर्ण तयारी सकिएको जानकारी दिए । यस प्रदेशका नौ वटै जिल्लाका लागि २ सय ११ परीक्षा केन्द्र, २ सय ११ केन्द्राध्यक्ष, ३ स य ७४ सहायक केन्द्राध्यक्ष तोकिएको बोहोराले बताए ।
परीक्षाका लागि आवश्यकता अनुसार दुई हजार ७ सय ४३ निरीक्षक, ५ सउ ५५ सहायक कर्मचारी, एक परीक्षा केन्द्रमा १५ जना खटिने गरी तीन हजार १ सय ६३ जना नेपाल प्रहरीका साथै एक हजार ९५ विद्यार्थीका सहयोगी गरेर आठ हजार १ सय ४३ कर्मचारी परिचालन गरिने छ ।
परीक्षामा सहभागी हुनेमध्ये सबैभन्दा बढी कैलालीबाट १८ हजार ७ सय २० र कञ्चनपुरबाट १० हजार ३ सय ३५, बैतडीबाट पाँच हजार ८७, अछामबाट चार हजार ९ सय ५० विद्यार्थीले एसइई दिने छन । बझाङबाट चार हजार ३ सय ८०, डोटीबाट तीन हजार ३ सय २८, बाजुराबाट दुई हजार ९ सय ३४, दार्चुलाबाट दुई हजार ७ सय ५० र डडेलधुराबाट दुई हजार ५ सय ५७ विद्यार्थी परीक्षामा सहभागी हुने निर्देशनालयले जनाएको छ ।
१२ वटा परीक्षा केन्द्र रहेको डडेल्धुरामा दुई हजार ५ सय ५७ परीक्षार्थीले एसइई दिने शिक्षा समन्वय समिति डडेलधुराले जनाएको छ । एक हजार १ सय ३ छात्रा र छात्रको सङ्ख्या एक हजार २ सय ५४ रहेको छ ।

Copy link
Powered by Social Snap