कैलाली- बुधबार, चैत ,कर्णालीको पुलबाट नदीमा हामफालेर पौडी खेल्ने क्रममा बेपत्ता भएका ३० वर्षीय लोकेन्द्र शाहीको खोजी कार्य जारी रहेको छ । कैलाली र बर्दिया जिल्ला जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट फागुपूर्णिमाको दिन दिउँसो १७ जनाले हामफालेका थिए । सोमध्ये १६ जना पौडी खेलेर पार भए पनि लोकेन्द्र बेपत्ता रहेका छन् । फागुपूर्णिमाको रमझमपछि मादक पदार्थ सेवन गरेका १७ जना युवाले पुलबाट हामफालेको बताइन्छ । उनीहरू पाइन्ट र जुत्तासहित नदीमा हामफालेका थिए ।
लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीका अनुसार सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय युवाको समूहले तीन वटा ¥याफ्टिङ, डुङ्गा प्रयोग गरेर बेपत्ता शाहीको मङ्गलबार बिहानदेखि नै खोजी जारी राखेको छ । चिसापानी बजारमा तरकारी पसल गरेर परिवारसँग बस्दै आएका शाही साथीभाइको लहलहैमा सोमबार कर्णाली पुलबाट हामफाल्न पुगेका थिए ।
प्रहरी निरीक्षक डाँगीले हामफाली पौडिएर निस्केका युवालाई खोजी सोधपुछ गर्ने कार्य भइरहेको बताए । हामफाल्ने युवा २० देखि ३० वर्षसम्मका रहेको र सबै कर्णाली नदीमा पौडिने गरेको जनाइएको छ । उनले कर्णाली पुललाई सुरक्षाको दृष्टिकोणले निगरानी राख्न आफूले समेत पहल गर्ने बताए ।कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले होलीको दिनमा जिल्लाको शान्तिसुरक्षा बुझ्न दिनभर आफू फिल्डमै रहेको र चिसापानीबाट निस्केको एक घण्टामा घटना भएको बताए । लम्कीचुहा नगरपालिकाका प्रमुख सुशीला शाहीले होलीको दिन स्थानीय युवाको समूहले पौडी खेल्ने नाममा ज्यानै जोखिममा पारेर हामफालेको घटनालाई गम्भीर रूपमा लिएको बताए ।