एसईईका लागि ७७ हजारभन्दा बढी जनशक्ति परिचालन


लेखक : सुन्दराञ्चल      चैत्र ११, २०८० मा प्रकाशित     
एसईईका लागि ७७ हजारभन्दा बढी जनशक्ति परिचालन

काठमाडौँ-चैत्र ११, माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि ७७ हजार भन्दा बढी जनशक्ति परिचालन गरिएको छ । चैत १५ गतेदेखि देशभर नै सञ्चालन हुन लागेको एसईईका लागि ७७ हजार ४८५ जना जनशक्ति परिचालन हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एसईईका लागि प्रति केन्द्र १ जनाका दरले केन्द्राध्यक्ष खटाइनेछ । देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन् । त्यस्तै १५० विद्यार्थी बराबर एक जनाका दरले चार हजार १२८ जना सहायक केन्द्राध्यक्ष, प्रति २० विद्यार्थी बराबर एक जनाका दरले २५ हजार २२२ जना निरीक्षक खटाइएको पौडेलले बताए ।

त्यस्तै प्रति १०० विद्यार्थी बराबर एक जनाका दरले पाँच हजार ५४ जना परीक्षा सहायक समेत खटाइनेछ । त्यस्तै प्रति ५० विद्यार्थी बराबर एक जना कार्यालय सहयोगी समेत खटाइनेछ । १० हजार ८१ जना कार्यालय सहयोगी खटाइने पौडेलले बताए ।

त्यस्तै प्रति केन्द्र १५ जनाका दरले ३० हजार ९६० जना सुरक्षाकर्मी परिचालन गरिनेछन् । यो वर्ष पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले एसईई दिदैछन् ।

Copy link
Powered by Social Snap