धनगढी फागुन १७, धनगढीको नवजीवन अस्पतालले निःशुल्क हेमो डाईलासिस सेवा सुरु गरेको छ । हेमो निःशुल्क डाईलासिस सेवा सुरु गरेको अवसरमा बिहीबार आयोजित पत्रकार भेटघाटमा अस्पतालले सेवाबारे विस्तृत जानकारी दिएको हो । अस्पतालका मेडिकल निर्देशक डा. विदूरमणी ढकालका अनुसार काठमाडौंस्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरसँगको सहकार्यमा निःशुल्क डाईलासिस सेवा आरम्भ गरिएको छ । नवजीवन अस्पतालमा सो सेवा सञ्चालन गर्न मार्क इन्टरनेशनल किड्नी सेन्टरको शाखा सुदूरपश्चिम इन्टरनेशनल डाईलासिस सेन्टरको सहकार्य रहेको छ ।
निःशुल्क डाईलासिस सेवा विपन्न परिवारका सेवाग्राहीका लागि प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मेडिकल निर्देशक डा. ढकालका अनुसार विपन्न परिवारका व्यक्तिले निःशुल्क डाईलासिस सेवा प्राप्त गर्न अस्पतालमा नागरिकताको प्रमाणपत्र पेस गर्नुपर्ने र अस्पतालले आवश्यक कागजपत्रसहित सम्बन्धित वडा कार्यालयमा पठाउने व्यवस्था गरेको छ । नवजीवन अस्पतालमा हाल १८ जनाले नियमित डाईलासिस सेवा लिइरहेका छन् । डाईलासिस युनिट अन्जना तन्डुकार श्रेष्ठका अनुसार अस्पतालमा ६ वटा डाईलासिस मेसिन सञ्चालनमा रहेका छन् । उनले भनिन्– यसमध्ये ५ वटा नियमित सेवाका लागि प्रयोग गरिएको छ । भने एउटा आइसियु र इमरजेन्सी सेवामा उपयोग गरिएको छ ।
डाईलासिसका लागि एक जना मेडिकल अफिसर डा. मृगेन्द्रकुमार यादवले नियमित सेवा प्रदान गरिरहेका छन् । त्यस्तै, डा. अर्चन सम्सेर राणाले कन्सलटेन्सी सेवा प्रदान गरिरहेका छन् ।
अस्पतालका मेडिकल निर्देशक डा. ढकालले भने– हरेक महिनाको तेस्रो शुक्रबार विशेषज्ञ चिकित्सकबाट मृर्गौला रोगसम्बन्धी स्वास्थ्य चेकअप र उपचार सेवा प्रदान भइरहेको छ । नवजीवन अस्पतालले डाईलासिस सेवा आवश्यक भएका सुरुका सेवाग्राहीलाई ६ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गरिरहेको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्रबहादुर खडायतका अनुसार डाईलासिसका नियमित सेवाग्राहीले ४ हजार ५ सय र आइसियुमा राखेर उपाचार गर्नुपर्ने सेवाग्राहीले १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।२०६२ साल फागुन १७ गते १५ सैयाबाट स्वीकृत पाएपछि सञ्चालन भएको निजी क्षेत्रको नवजीवन अस्पतालले हाल हाडजोर्नी, बालरोग, मानसिक तथा स्नायुरोग, किटिकल सेवा, छाला, एलर्जी, यौनरोग तथा सोन्दर्य, नाक, कान र घाँटी, न्युरो, दन्तरोग, डाईलासिस, मुटुरोग, फिस्टुला, प्रसुती सेवा, ल्याप्रोस्कोपी, पेट र छाती, स्पाइन तथा फिजियोथेरापी लगायतका सेवा सञ्चालन गर्दै आएको छ ।
अस्पतालका अध्यक्ष यज्ञराज ढुंगानाले अस्पतालले नेपाल सरकारद्वारा सञ्चालित आमा सुरक्षा कार्यक्रम, निःशुल्क खोप कार्यक्रम र निःशुल्क क्षयरोगसम्बन्धी औषधी वितरण सेवा समेत सञ्चालन गर्दै आएको जानकारी दिए । उनले भने– यो निजी क्षेत्रको अस्पताल भए पनि सामाजिक उत्तरदायित्व अनुरुप नेपाल सरकारसँगको सहकार्य तथा आफ्नै पहलमा स्थापनाकालदेखि नै नियमित रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । सो अस्पतालले २०६८ सालदेखि ५० वेडको स्वीकृति पाएको र २०७९ साल असोजबाट १ सय वेडमा स्तरोन्नती गरेको छ ।
२०७९ साल फागुनदेखि गत माघ मसान्तसम्म अस्पतालबाट ४ हजार ९५४ जना सेवाग्राहीले इमरजेन्सी उपचार सेवा प्राप्त गरेका छन् । त्यस्तै, ३० हजार ३४६ जनाले बहिरंगबाट सेवा पाएका छन् ।
भने अन्तरंग सेवा पाउनेको संख्या ४ हजार ५१३, २ हजार १३० जनाले शल्यक्रिया सेवा, १ हजार ४६३ जनाले निःशुल्क सुत्केरी सेवा, २ हजार ८९४ बालबालिकाले निःशुल्क खोप सेवा र ५ सय ७५ जना जेष्ठ नागरिक, अतिविपन्न र गरिबले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । त्यस्तै, विभिन्न समयमा सञ्चालित स्वास्थ्य शिविरबाट करिब ६ हजार सेवाग्राहीले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले आफ्नो १८औँ बार्षिकोत्सव अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । बिहिबार अस्पतालको प्राङ्गणमा रक्तदानका साथै बिरामीलाई फलफूल वितरण गरी आफ्नो १८ औँ बार्षिक उत्सब मनाएको हो ।