खै त रोजगारी ……? माननीयज्यू,


लेखक : सुन्दराञ्चल      पुस २, २०८० मा प्रकाशित     
खै त रोजगारी ……? माननीयज्यू,

आदरणीय माननीयज्यू नमस्कार,

पुष २ काठमाण्डौ, आरामै हुनुहुन्छ होला र सदा आरामैको कामना गर्दछु। सायद हजुरले त मलाई चिन्नुहुन्न होला। पहिला म तपाईंको भोटर, गाँउले छिमेकी थिएँ। अहिले त हजुर काठमाडौँमा र अन्य सहरहरूमा धेरै घरहरू किनेर बस्नु भएको छ रे। अब त हामी छिमेकी पनि भएनौँ।

म हाल तपाईंको आश्वासनले बेहाल भएर उही हामी नेपालीहरूको खाडी मुलुकको तातो हावा खाँदै यो पत्र लेख्दै छु। तपाईंले पहिलाको जस्तो अब आउने निर्वाचनमा जित्नको लागि मात्र आश्वासन नदिनुहोला भनेर यो पत्रमार्फत अनुरोध गर्न चाहन्छु।

अब हजुरहरूको म्याद सकिँदै पनि छ कि सकिसक्यो, त्यो त मलाई त्यति थाहा छैन। नेपालमा यता-उता गर्दागर्दै कति जना माननीयहरूको पद खुस्केको कहिले पो हो समचार देखेको थिएँ। त्यसैगरी हाम्रो जोडबलले निर्वाचित गराएका हजुर माननीयको के भएको छ त्यति जानकार छैन। सायद तपाईंको पनि पद गुमेको हुनसक्छ किनकि पद र पैसा भनेपछि मरेहत्ते गर्नेवालामा पर्नु हुँदो रहेछ भन्ने मैले राम्ररी थाहा पाएको छु।

गत चुनावमा तपाईंको चुनावी घोषणा पत्रको एउटै उद्देश्य तथा लक्ष्य युवालाई स्वदेशमै रोजगार भन्ने कुराले मलाई आकर्षित गर्यो। त्यसैले चुनावमा रातदिन खटेर तपाईंलाई जिताउन लागिपरेको थिएँ। नेताहरूले हरेक चुनावमा आकर्षण नारा लिएर चुनाव जित्दा रहेछन् भन्ने कुरा पनि बल्ल थाहा पाएँ। तर चुनाव जितेपछि रोजगारी र सुविधा तथा विकास निर्माणको अनुभव गर्न त कि तपाईंकै झोले वा आफन्त हुनपर्दो रहेछ, त्यो चाहिँ अनुभवले बोलेको छ।

अहिले पनि स्थानीय हुँदै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने होला, त्यसमा उम्मेदवार पनि तपाईं नै हुनुहुने होला। राजनीतिमा थकाइ भन्ने हुँदैन भनेर होला हरेक पटक जुनसुकै दल, ग्रुपमा परेर भए पनि उम्मेदवार बन्नु हुनेछ र खोक्रा आश्वासनले जनतालाई उल्लु बनाएर चुनाव पक्कै पनि जित्नु हुने नै होला। त्यसको लागि अग्रिम बधाई छ।

अब म ढिला नगरीकन तपाईंले मजस्ता कयौँ युवालाई कसरी बर्बाद पार्नुभयो भन्ने कुराको ईति वृत्तान्त बताउन चाहन्छु र के अनुरोध गर्न चाहन्छु भने अब त्यस्तो भ्रममा कुनै पनि व्यक्तिलाई नपार्नु। यसले तपाईं र तपाईंको परिवारलाई समेत पछिसम्म नराम्रो गर्नेछ, धर्म र पाप पक्कै पनि लागु हुने नै होला।

त्यो तपाईंको कतिऔं चुनाव थियो तर मेरो तपाईंलाई भोट राखेको भने पहिलो चुनाव थियो। मैले पढ्दा र बिहे गर्दा लागेको ऋण चुक्ता गर्न भनी म केही समय विदेशमै थिएँ। घर-परिवारमा घटना घट्दा पनि काम गर्न बाध्य भइने परिस्थिति सम्झँदा स्वदेशमा भोकै भए पनि सानोतिनो काम गर्न इच्छुक थिएँ।

विदेशमा हामीजस्ता तमाम नेपालीहरूले गरेको दुःख, पीडा र नेपालीहरूलाई गरिने व्यवहारले सधैँ स्वदेशमा रोजगारीको सपना देख्थेँ। मेरो सपना र तपाईंको घोषणा पत्रले मलाई साह्रै आकर्षण गर्यो। मेरो स्वदेशमै परिवारसँग बसेर सानोतिनो काम तथा व्यवसाय गरेर बस्ने ठूलो इच्छालाई तपाईंको घोषणा पत्र र चुनावी नाराले मोहित पार्यो। अनि मलाई तपाईंको वचनप्रति विश्वास पनि लाग्यो।

तपाईंको चुनावी नारा, घोषणा पत्र र हरेक भाषणमा अब यहाँ कम्तीमा यति हजार युवा-युवती रोजगारी पाउनु हुनेछ, अब कोही पनि घर-परिवार र आफ्ना प्रिय मान्छे छोडेर विदेशको चर्को घामका काम गर्नु पर्दैन। व्यापार व्यवसाय गर्नु, कृषि पशुपालन गर्नु, नयाँ-नयाँ व्यापार गर्नु, यहाँ अब विकास निर्माणले हाम्रो जिल्ला कायलपलट हुन्छ, शान्ति सुरक्षा, नातावाद कृपावाद सबैको अन्त्य गर्छु। असमानता र विभेद शून्य हुन्छ। हामी यसभन्दा अघिका जस्ता नेता र नेतृत्व होइनौँ। हामीले नयाँ शिराबाट विकास निर्माणसँगै समाज सुधार गर्ने र समाजमा शान्ति सुरक्षा अमन चयन आदीको ग्यारेण्टी गर्न मलाई जिताउनुहोस भन्दै हिँड्ने र तपाईंका आसेपासेले दिएको आश्वसनले मलाई यति विश्वस्त पार्यो कि त्यो मैले शब्दमा व्यक्त गर्न सक्दिनँ।

मलाई यसरी विश्वास लाग्नुमा आफूले विदेशमा पाएको दुःख, घर-परिवार र भर्खर बिहे गरेकी श्रीमतीलाई छोडेर विदेश जानुको पीडा नै थियो। अर्को म विदेशमा काम गर्दा त्यहाँको विकास, पद्दति र नेताहरूको योगदानको कारणले विश्वस्त हुन पुगेँ, आशा थियो यहाँ पनि अब त्यस्तै हुनेछ।

तपाईंको चुनावी घोषणा पत्र, भाषण, तपाईंको आसेपासेले तपाईंको पावर, व्यवहार, शक्ति आदिका बारेमा गरेको व्याख्या र मेरो स्वदेशमा रोजगारीको सपनाले अन्तत: स्थान पाउने नै भयो। तपाईंले भारी मतले चुनाव जित्नु भयो। धेरै चिच्च्याइयो, नारा लगाइयो, तपाईंको जितमा खुसी मनाइयो। तपाईंको जितले मजस्ता धेरै युवा-युवतीको पनि जित भएको विश्वास गरियो।

तपाईं निर्वाचित भएको दल सरकारमा गयो, तपाईं मन्त्री बन्नुभयो अझ झन् मन प्रफुल्ल भयो। आशाका किरणहरूले जीवन चम्किलो हुने आशामा दिनरात बित्न थाले। अब पक्कै पनि हाम्रा आशा तपाईंको प्रतिवद्धता पूरा हुनेभयो, मजस्ता युवायुवतीले वृद्धा बा-आमा, जवान श्रीमती र लालाबाला छोडेर सात समुद्र पार पक्कै जान पर्ने छैन भन्नेमा विश्वस्त हुँदै दिनहरू बित्न थाले।

तपाईंको जितपछि कैँयन कुराहरू मैले टोल समुदाय र छिमेकमा पनि आश्वसन दिँदै हिँडेँ। अरुले सबै नेता उस्तै हुन्, गर्ने केही होइन भन्दा सहमत भइएन। समय बित्यो, जागिर भन्ने चिज तुरुन्तै त कहाँ होला र विस्तारै गर्दै हुनुहुन्छ होला भन्ने सोच्थेँ भने कहिलेकाहीँ अरुलाई लगाइसक्नु भयो कि भन्ने शंका पनि गर्थें। तपाईंको जित र मन्त्री पद पाएपछि विदेश जाने कुरा बिल्कुल मनमा थिएन, थियो त स्वदेशमा जागिर खाने।

महिना हुँदै वर्ष बित्यो तर रोजगारीको कुनै सुरसार देखिएन। तपाईंका नजिकका कार्यकर्तालाई पनि सोध्न थालेँ, उहाँहरूले पनि तपाईंले पहिला भने जस्तै गरी भन्नु हुन्थ्यो जागिर कन्फर्म। अझै आशा मरेको थिएन, घरमा आएदेखि चुनावमा भोकभोकै हिँड्नेदेखि लिएर फुक्ला गफ चुट्दै र तपाईंको भजन गाउने, तपाईंले दिएको आश्वसन पूरा हुने भन्ने गाँउटोलमा हिँड्दै मेरो दिनचर्य बित्दै थियो। किनकि मलाई स्वदेशमा रोजगारी र परिवारसँग बस्ने दृढ इच्छा थियो भने तपाईंको दिएको आश्वसनमा पूर्ण भरोसा पनि।

अब रोजगारी त भएन, केही गर्न पर्यो भनि गाँउमा कुखुरा, बाख्रा पालन, तरकारी खेती गर्न सुरु गरेँ। कृषि पेसाको लागि पनि ऋणको खोजी गरियो, त्यो ऋण कृषि र तपाईंले दिने रोजगारीबाट चुक्ता गर्ने आशा थियो। कृषि गर्यो कहिले रोग ब्याधी लाग्ने कहिले मल बिउ नपाउने, उत्पादन भए बिचौलियाले खाइदिने। यस्तै-यस्तै समस्याले ग्रस्त हुनुपर्ने रहेछ।

खेती गर्ने जग्गा पनि प्लटिङ गरेर सकिसकेको रहेछ। न सिंचाइ हुने न मल, बिउ र प्राविधिक सल्लाह पाउने। साह्रै गाह्रो बन्दै पो गयो त मेरो जीवन। जेनतेन दुःख गरेर लगानी उठायो, ऋणको ब्याजले माथि उठ्नै नदिने। कृषि गर्नेहरूलाई सरकारले धेरै किसिमका अनुदान तथा सहुलियतहरू दिने रहेछ। त्यो सुविधा पनि तपाईंका नेता तथा कार्यकर्ताहरूले मात्र उपभोग गर्न पाउने रहेछन्। हामीजस्ता सोझाले त पाउने जानकारी मात्रै रहेछ, त्यो पनि अन्तिममा।

त्यो नभएपछि यसो ज्याला मजदुरीमा भए पनि काम गर्न पर्यो। गाँउ टोलमा हुने विकास निर्माणको काममा भनेको त्यहाँ पनि तपाईंले पारेको बजेटमा तपाईं र तपाईंका मान्छेको रजगज रहेछ। तपाईंलाई बिलो पुर्याउनु पर्ने, तपाईंको पार्टीलाई सहयोग गर्नु पर्ने, तपाईंले भनेका मान्छेलाई समितिमा राख्नु पर्ने। त्यहाँ त झन् हाम्रो पालो आउने कुरै भएन।

कहिलेकाहीँ दिक्क लाग्थ्यो र सोच्थेँ, हुँदा-खाँदाको त्यस्तो जागिर छोडेर आएर गल्ती गरेछु। फेरि आफै आस्वस्त हुन्थेँ, होइन रोजगारीको व्यवस्था पक्कै पनि गर्नुहुन्छ होला। त्यत्तिको मन्त्री हुने मान्छे बोल्नु भएको हो भनेर। तपाईं आउने हरेक कार्यक्रममा जान थालेँ, तपाईंको म बिग फ्यान नै बनेँ। तपाईंको त्यो ढाट्ने कला र बोलाइमा यस्तो कन्फिडेन्ट थियो कि त्यस्तो त हामी साँचो कुरा पनि बोल्न सक्दैनौँ।

अनि तपाईंले दिने रोजगारीको कहीँकतै गाइगुइँ समेत सुनिएन। यसो बुझ्दै जाँदा त तपाईंले राख्ने निजी सचिवालयमा समेत आफ्नै परिवार र नातागोतालाई राख्नु भएछ। त्यो थाहा पाएर मन कुँडियो, दुःख लाग्यो र आफैलाई धिक्कारेँ। क्या नराम्ररी ठगिइस् नि, कमसे कम यत्तिका समयसम्म त केही पैसा भए पनि कमाउथिस् विदेशमा।

अब देशमा चुनावको रन्को बढेको होला, माननीय बन्न पक्कै पनि जोडबल गर्नु भएकै होला. तपाईंले चुनावमा कसरी मतदातालाई बेवकुफ बनाउने भन्ने ज्ञान कसैबाट सिक्नु पर्ने छैन। अहिले पनि उत्तिकै संख्यामा रोजगारी दिने योजना छ कि अझै बढाउनु हुने हो। माननीयज्यू, त्यो संख्याबाट मलाई घटाइदिनु होला। अब तपाईंले मलाई चिन्न पनि सक्नु हुन्छ तर मैले भने तपाईंलाई बिर्सिएको छु र सायद जिन्दगीमा सम्झने पनि छैन।

यसरी स्वदेशमा रोजगारी गर्ने सपनालाई लत्याउँदै मेरो स्वर्णीम २/३ वर्ष खेर फालिदिनु भएको कसरी बिर्सुँला! चुनाव जित्नको लागि मात्रै आश्वसन दिने काम नगर्दा राम्रै होला, गरे पनि अन्य कुरा गर्नुहोला। विदेशको हण्डर खाएको, बुढा बा-आमा, जवान श्रीमती र लालाबालसँग देश र गाउँटोलमा बस्ने इच्छुक युवालाई इमोस्नल ब्ल्याकमेलिङ गरेर अलपत्र नपार्नु होला।

यसरी अलपत्र पारेको पाप तपाईंलाई कुनै समय पक्कै पनि लाग्ने छ। तपाईंले दिएको संख्याभन्दा बाहिर भएरै होला बालबच्चा बोकेर, बाख्रा र भैँसी बेचेर म्यादी प्रहरीको फर्म भर्न लामबद्ध भएका युवा-युवतीहरू। तपाईंको रोजगारीको प्रमाण त्यहीबाट पनि देखिएको छ।

हस् त माननीयज्यू, यो कुरा तपाईंका फेरिएका आसेपासे र परिवारकाले पक्कै पनि काना पार्ने छन्। नरिसाउनु होला, यो वास्तविक नै हो। यदि सुनाएँ भने यसो सम्झिनु होला, सम्झेर कार्यान्वयन गर्ने योजना बनाउनु न कि ठग्ने र आकर्षण हुने गरी कसैलाई पनि झुटा आश्वसन नदिनुहोला। हस् त, नमस्ते।   उही तपाईंको रोजगारीको आशामा अलपत्र परेको पहिलेको छिमेकी 

कृष्ण वर्मा

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap