१९ वैशाख, जुम्ला । स्थानीय तह निर्वाचनका लागि जुम्ला जिल्लामा सुरक्षा तयारी तीव्र पारिएको छ । जिल्ला सुरक्षा समितिले भौतिक रुपमा अनुगमनदेखि डिजिटल अनुगमन गर्न थालेको हो ।
प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सा समेत तयार गरिएको जानकारी दिइन् ।
प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार जुम्लामा ७९ स्थलमा १०२ वटा मतदान केन्द्र रहेका छन् । तिनीहरु मध्ये १४ वटा मतदान केन्द्र पाँचसय भन्दा कम मतदाता रहेका छन् ।
निर्वाचनस्थल अनुगमनमा प्रजिअ प्रसाई सहित नेपाली सेना नन्द बक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहाल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द सहितको टोलीले स्थलगत अनुगमन गर्दै आएको छ ।
निर्वाचन स्थलमा पुगे नेपाली सेना र सशस्त्र प्रहरी
स्वच्छ र भयरहित अवस्थामा निर्वाचन सम्पन्न गर्न सबैको सहयोग आवश्यक भएकाले सुरक्षा निकायले पनि स्थानीयको समन्वयमा सुरक्षा व्यवस्था मिलाएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले बताए । राज्यले दिएको अधिकार र मापदण्डमा निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा सेना परिचालन भइसकेको उनले जानकारी दिए । जिल्लामा डिजिटल नक्शा राखिएको र सो नक्सा अनुसार सुरक्षा निकाय जिल्लाभर कसरी मतदान स्थलमा काम गरिरहेको छ भनेर हेर्ने काम समेत भइरहेको जानकारी उनले दिए ।
उनका अनुसार नेपाली सेना डोल्पा, हुम्ला, मुगु र कालिकोटमा समेत परिचालन गरिएको छ । ड्रोनको समेत प्रयोग गरेर सबै मतदान स्थलको विवरण अपडेट गरिएको छ । यसैगरी सेनाले बम डिस्पोजल टिमलाई पनि खटाएको छ ।
यता सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रांगत दाहालले जुम्लामा तिनै सुरक्षा एकसाथ निर्वाचन सुरक्षाका लागिरहेको बताए । उनले सशस्त्र प्रहरी आवश्यकता अनुसार परिचालन भइरहेको जानकारी दिए । यसैगरी जुम्लाबाट छानौट भएका ६६९ जना म्यादी प्रहरी समेत परिचालन भइसकेको सुरक्षा समितिले जनाएको छ ।