स्थानीयमा आशा भन्दा निराशा बढी छ,साइपाल गाउँपालिका अध्यक्ष धामीप्रति


लेखक : सुन्दराञ्चल      चैत्र १८, २०७८ मा प्रकाशित     
स्थानीयमा आशा भन्दा निराशा बढी छ,साइपाल गाउँपालिका अध्यक्ष धामीप्रति

१८ चैत,बझाङ जिल्लाको सबैभन्दा विकट गाउँपालिका साइपाल गाउँपालिका हो । सदरमुकाम चैनपुरवाट ४ दिनको पैदल यात्रापछि मात्र साइपाल गाउँपालिकाको केन्द्र काँडा पुग्न सकिन्छ । गाँस, कपास, शिक्षा र स्वास्थ्यमा पछाडि यस गाउँपालिकाका नागरिकको दैनिकी निकै कष्टकर छ । हरेक हिउँदमा साइपाल गाउँपालिकामा खाद्यन्नको संकट व्यहोर्छ ।

स्थानीयलाई आधारभूत आवश्यकता ग्यारेन्टी लिएको गाउँपालिकाप्रति स्थानीयमा आशा भन्दा निराशा बढी छ ।  स्थानीय तहको निर्वाचन २०७४ ताका सम्बृद्ध पालिका बनाउने उद्घोष गरेका गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीप्रति जनता असन्तुष्ट छन् ।

संवैधानिक व्यवस्थाअनुसार सिंहदरबार गाउँगाउँ पुर्‍याउने र अधिकारसम्पन्न गाउँपालिका भए पनि साइपालवासी भने सामान्य सिफारिसदेखि योजना सम्झौता र भुक्तानीका काम गर्नका लागि पनि चैनपुर आउनु पर्ने बाध्यतामा छन् ।

‘गाउँमा नत जनप्रतिनिधि बस्छन् न त कर्मचारी । पालिकाबाट पाउने सेवा-सुविधा लिनका लागि हामीले चार दिनको पैदल यात्रा तय गरेर चैनपुर जानुपर्ने हुन्छ,’ स्थानीय टेकबहादुर बोहरा गुनासो गर्छन्, ‘ल्याउन त सरकारले गाउँगाउँमा सिंहदरबारको अवधारणा ल्याएको छ । तर, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सबै सदरमुकामकेन्द्रित छन् । उनीहरूलाई जनताको चिन्ता छैन ।’

गाउँपालिका अध्यक्ष धामी, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशी, उपाध्यक्ष कल्पना बोहरा पालिकामा विशेष कामबाहेक अरू समय नआउने गरेको स्थानीयको आरोप रहेको छ ।

‘प्रमुख प्रशासकीय अधिकृत पालिकामा कहिल्यै आउँदैनन् । आए पनि एक दुई दिन बस्छन् । फेरि चैनपुर जान्छन्,’ स्थानीय बसन्त बोहराले भने ‘जनप्रतिनिधिलाई मनपरि नै छ । नागरिकका आधारभूत आवश्यकताका लागि कोही पनि जिम्मेवार छैनन् । हामीले योजनाका सम्झौता गर्न, पालिकाको सिफारिस लिनका लागि चैनपुर नै पुग्नु पर्छ ।’

जनप्रतिनिधि भए पनि गाउँपालिका अध्यक्ष धामी जनताका भन्दा पार्टीका काममा बढी व्यस्त हुने गरेको साइपालवासीको गुनासो छ ।

स्थानीय वसन्त बोहराका अनुसार साइपाल गाउँपालिकाको कार्यालयमा नियमित एक महिनासम्म बसेर काम गरेको एक जना कर्मचारी पनि छैन । बैठक बस्नका लागि र कुनै राजनीतिक कार्यक्रमको लागि बाहेक अन्य काम गर्नका लागि जनप्रतिनिधि पालिकामा पुग्दैनन् । उनले जनप्रतिनिधि जनताको सेवाका लागि उत्तरदायी नभएको बताए ।

‘सबै आफ्नौ दुनो सोझ्याउँछन् । गाउँपालिकामा दुई महिनाको एक पटक मात्र बैठक बस्ने गरेको छ । बैठक बस्नका लागि र कुनै राजनीतिक कार्यक्रमको लागि बाहेक अन्य काम गर्नका लागि जनप्रतिनिधि पालिकामा पुग्दैनन्’ उनले गुनासो गरे ।

गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको सह–सचिवसमेत हुन् । उसो त, आफूले चुनावताका घोषणा गरेका कतिपय आश्वासनलाई समेत धामीले पूर्णता दिन सकेका छैनन् । साइपाल गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने, विद्युत्, इन्टरनेट, स्वास्थ्य र शिक्षाका योजना अगाडि बढाउने, वित्तीय अवस्थालाई सुधार गर्ने उनले चुनावको बेला स्थानीयलाई सपना देखाएका थिए ।

तर, अहिले उनैले बाँडेका अधिकांश सपना सपनामा नै सीमित रहेका छन् । स्थानीयको आधारभूत आवश्यकता नै पूरा हुन नसकेको साइपाल गाउँपालिका वडा नं. ४ धुलीका स्थानीय नवीन बोहराले बताए । अध्यक्षले पालिकाको परिवर्तनभन्दा व्यक्तिगत परिवर्तनमा बढी जोड दिएको उनको आरोप छ ।

बनेनन् भौतिक पूर्वाधार

स्थानीय तहहरूले जनप्रतिनिधि पाएको ५ वर्ष पुग्न केही महिना मात्र बाँकी छ । तर, जनताका समस्या भने ज्युँकात्यूँ छन् । स्थानीय तहको पाँचवर्षे कार्यकालमा साइपाल गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन सकेको छैन् । अहिले गाउँपालिकाले भवन भाडामा लिएर गाउँपालिकाको कार्यालय सञ्चालन गरिरहेको छ । मासिक २० हजार भाडा तिरेर गाउँपालिकाको कार्यालय सञ्चालन भइरहेको छ ।

दुई वर्षअघि पालिकाको भवन निर्माणका लागि २० लाखमा टेन्डर आह्वान भएको र उक्त रकमले भवनको जग पनि नखनेको स्थानीय वसन्त बोहराले बताए । २० लाखले भवन निर्माण हुने क्षेत्रमा जमिनलाई समथर मात्रै बनाएको उनले बताए । त्यसयता पालिकाको भवन निर्माणका लागि कुनै पहल भएको छैन ।

त्यसैगरी साइपाल गाउँपालिकामा अझैसम्म पनि एउटा गुणस्तरीय स्वास्थ्य संस्था सञ्चालनमा छैन । अध्यक्ष धामीले साइपाल गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने आश्वासन दिएको भए पनि सडक पुग्ने कुनै छाँटकाँट नै छैन । साइपाल गाउँपालिकाको सिमानासम्म मात्रै सडक पुर्‍याउनका लागि ५० किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ ।

गाउँपालिकामा नै बैंकिङ विस्तार गर्ने आश्वासन दिएका गाउँपालिका अध्यक्ष धामीको उद्घोष पनि पूरा हुन सकेको छैन । साइपाल गाउँपालिका जिल्लाको सबैभन्दा दुर्गम पालिका भएका कारण बैंकिङ कारोबार गर्न सदरमुकाम चैनपुर नै पुग्नुपर्ने बाध्यता छ । स्थानीय तहमा नै बैंकिङ सेवा नहुँदा सबैभन्दा बढी सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिकलाई समस्या हुने गरेको छ ।फरकधार /

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap