सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु,


लेखक : सुन्दराञ्चल      चैत्र २२, २०७९ मा प्रकाशित     
 सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु,

२२ चैत,  सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएका छन् ।

मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।

गान्तोक जिल्लाका कलेक्टरले सार्वजनिक गरेको मृतक र घाइतेहरुको नामावलीमा ३ जना नेपालीको मृत्यु भएको र तीन जना नेपाली घाइते भएको उल्लेख छ । घाइते हुने नेपालीहरुमा ४० वर्षीया गिता सापकोटा, ३८ वर्षीया ज्योती गुरुङ र ४३ वर्षीय रमेश खनाल उल्लेख छ । उनीहरुको ठेगाना ‘नेपाल’ मात्र लेखिएको छ र अस्पताल भर्ना भएको उल्लेख छ ।

स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको इन्डियन एक्सप्रेसको समाचारमा उल्लेख छ ।

१४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको थियो । तीमध्ये सात जनाको मृत्यु भएको र अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

चीनसँग सिमाना जोडिएको नाथुला भारतको महत्वपूर्ण हिमाली नाकाहरुमध्ये एक हो । पर्यटकीय गन्तव्य पनि भएको यो क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटर टाढा पर्दछ । अनलाइनखबर

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap