सहभागितामै सीमित नेपालको यात्रा


लेखक : सुन्दराञ्चल      साउन १५, २०७८ मा प्रकाशित     
सहभागितामै सीमित नेपालको यात्रा

१५ साउन, काठमाडौं । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको प्रतिस्पर्धा सकिएपछि जापनमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको यात्रा सकिएको छ । महिला १०० मिटरमा प्रतिस्पर्धा गरेकी सरस्वती प्रारम्भिक चरणबाटै बाहिरिइन् ।

३२औं गृष्मकालीन ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाएका थिए । जसमा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान सुधार गरे । अन्य दुई खेलाडीको प्रदर्शन सामान्य रह्यो । पाँचै खेलाडी आफूले खेलेको पहिलो खेलबाटै आउट भए ।

सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह र एलेक्स शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेपनि फेरि एक पटक विश्व खेलकुदको कुम्भमेलामा नेपालको यात्रा सहभागितामै सीमित बन्यो ।

ओलम्पिकमा पदक त टाढाको कुरा पहिलो चरण पार गर्नु नै नेपालको लागि ठूलो चुनौती बनेको छ । अझ त्योभन्दा अघि नेपाली खेलाडी छनोट भएर ओलम्पिकमा खेल्न जानु चुनौती छ । नेपालले युनिभर्सल कोटा र वाइल्ड कार्डको सहारामा ओलम्पिक खेल्दै आएको छ, दुई जनालाई छाडेर ।

अपवादका रुपमा रहेका दुई तेक्वान्दो खेलाडीले छनोट भएर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए । सन् २००४ मा संगिना वैद्य र २००८ मा दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए ।

ओलम्पिकमा जानुअघि यस पटक जात्रा होइन यात्रा गर्ने भनेर नेपाल ओलम्पिक कमिटीले नेपाल ओलम्पिक यात्रा भनेर एउटा पत्रकार सम्मेलन गरेको थियो ।

अन्य देशहरु पदकका लागि प्रतिस्पर्धा गर्दा नेपाल भने अझै ओलम्पिकमा सहभागी बन्नु अनी केही व्यक्तिगत कीर्तिमान सुधारमै रमाउने चलन छ ।

त्यो कार्यक्रमको दुई साता र केही दिनपछि नेपालको ओलम्पिक यात्रा सकिएको छ । यस बीचमा नेपालको यात्रा कस्तो भयो के-के जात्रा भए भन्ने विषयमा छलफल र बहस हुँदै जाला ।

अहिले भने टोकियो ओलम्पिकमा नेपालको सहभागिता, केही कीर्तिमान अनि जम्बो टोलीको भ्रमणसहितको यो रिभ्यू ।

मार्चपासमा जेन्डर ब्यालेन्स

यसपटक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले उद्घाटन समारोहमा मार्स पासमा एक महिला र एक पुरुष खेलाडीलाई झण्डा बोक्न दिने निर्णय गर्‍यो ।

टोकियोमा झण्डै ५० प्रतिशत महिला खेलाडी सहभागी थिए । आईइओसीले जेन्डर ब्यालेन्स गराउन महिला र पुरुष खेलाडीले संयुक्तरुपमा झण्डा बोक्न पाउने निर्णय गरेपछि नेपालका खेलाडीद्वय गौरिका सिंह र एलेक्सले राष्ट्रिय झण्डा बोके । संयोग, दुवै पौडी खेलाडी थिए ।

सुरुमा गौरिकाले मात्र बोक्ने एनओसीले जनाएको थियो । तर आईओसीको निर्णयपछि दुई खेलाडीले झण्डा बोके । एलेक्स एक मात्र पुरुष खेलाडी भएकाले अवसर पाएका हुन् ।

चार महिला खेलाडी

१९८८ को सोल ओलम्पिकबाट नेपालका महिला खेलाडी ओलम्पिकमा सहभागी हुन थालेका थिए । यस पटक नेपालबाट पाँच मध्ये चार महिला र एक पुरुष थिए । एकै संस्करणमा नेपालबाट ओलम्पिक खेल्नेमध्ये महिला सहभागिता अहिलेसम्मकै धेरै हो ।

१९९२ यता ओलम्पिक जाने नेपाली खेलाडीमा पुरुषभन्दा महिला खेलाडी नै बढी रहँदै आएको छ । तर यसपटकको महिला सहभागिता हालसम्मकै धेरै हो ।

कल्पनाको निशाना सुधारियो

वाइल्ड कार्डमार्फत ओलम्पिकमा खेल्ने अवसर पाएकी सुटिङ खेलाडी कल्पना परियारले आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरिन् ।

उनले महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गर्दै ६१६.८ स्कोरको नयाँ कीर्तिमान बनाएकी हुन् । उनले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी हुन् । यसअघि १३औं सागमा उनले ६१४.५ स्कोर गरेकी थिइन् ।

यस स्पर्धामा ५० सुटरले प्रतिस्पर्धा गर्दा कल्पना ४६औं स्थानमा रहिन् ।

सोनियामा १ मिनेट १६ सेकेण्डै आउट

अर्का वाइल्डकार्डबाट छनोट भएकी खेलाडी सोनिया हुन् । उनले जुडोको महिला ४८ केजीमा प्रतिस्पर्धा गरिन् । तर रुसकी इरिना डोल्गाभासँग उनी पहिलो चरणमै पराजित भइन् । बुडोकायो निप्पोनमा उनी १ मिनेट १६ सेकेण्डमात्र विपक्षीसँग टिकिन् । इरिनासँग उनी इप्पोनको आधारमा पराजित भइन् ।

ओलम्पिक एक आउट जित्ने लक्ष्य राखेपनि उनी सफल हुन सकिनन् ।

एलेक्सको कीर्तिमान सुधार

पौडी खेलाडी एलेक्जान्डर (एलेक्स) शाहले टोकियो ओलम्पिकमा व्यक्तिगत समयमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान सुधार गरे । पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका उनले लङ कोर्समा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै ५३.४१ सेकेण्डको टाइमिङ निकाले ।

१८ वर्षीय एलेक्सले यसअघि २०१९ मा दक्षिण कोरियाको ग्वाङ्जुमा भएको १८औं फिना वर्ल्ड च्याम्पियनसिपमा ५६.२८ सेकेण्डको कीर्तिमान बनाएका थिए । यस पटक उनले त्यसमा २.८७ सेकेण्डले सुधार गरे ।

एलेक्स यस इभेन्टमा प्रतिस्पर्धा गरेका ७१ खेलाडी मध्ये ५९औं भएका थिए ।

एलेक्समा नेपालमै भएको १३औं सागमा यही इभेन्टमा अझ राम्रो समय सहित कीर्तिमान बनाएका थिए । तर त्यो सर्ट कोर्समा थियो । १३औ सागमा सर्ट कोर्टमा उनले ५४.३२ सेकेण्डको समय निकालेका थिए ।

उनी ओलम्पिकमा पौडीमा प्रतिस्पर्धा गरेर आफ्नो हिटमा पहिलो हुने दोस्रो खेलाडी बने । यसअघि २०१६ को रियो ओलम्पिकमा गौरिका आफ्नो हिटमा पहिलो भएकी थिइन् ।

गौरिकाको कीर्तिमान सुधार

पौडीकै अर्का खेलाडी गौरिका सिंहले पनि टोकियो ओलम्पिकमा व्यक्तिगत समयमा सुधार गरिन् अनि आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान समेत सुधार गरिन् । महिला १०० मिटर फ्रिस्टाइलमा उनले १ मिनेट ११ मिलिसेकेण्डको समय सहित नयाँ कीर्तिमान बनाइन् ।

१८ वर्षीय गौरिकाले यसअघि सन् २०१९ मा दक्षिण कोरियाको ग्वाङ्जुमा भएको १८औं फिना वर्ल्ड च्याम्पियनसिपमा बनाएको कीर्तिमान सुधार गरिन् । यसअघि लङ कोर्समा उनको १ मिनेट ६२ मिलिसेकेण्डको कीर्तिमान थियो ।

गौरिकाले यसअघि नेपालमै भएको १३औं सागमा यस इभेन्टमा यो भन्दा राम्रो समय निकालेकी थिइन् । तर त्यो सर्ट कोर्समा रहेको थियो ।

२०१६ को रियो ओलम्पिकमा कान्छी खेलाडी बन्दै चर्चा कमाएकी गौरिका त्यसबेला १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दै आफ्नो हिटमा पहिलो भएकी थिइन् । यस पटक चार खेलाडी रहेको हिट वानमा उनी तेस्रो स्थानमा रहिन् । गौरिका हिट चरणबाट अघि बढ्न भने सकिनन् ।

२ वर्षको उमेरदेखि बेलायत बस्न थालेकी उनी परिवारसँग उतै बस्ने, उतै पढ्ने र स्विमिङ गर्दै आएकी थिइन् । नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुँदा उनले आएर खेल्ने गरेकी छन् । बेलायतपछि अब उनी थप अध्ययनका लागि अमेरिका जाँदैछिन् ।

भाग्यमानी सरस्वतीको कमजोर प्रदर्शन

सुरुमा एथ्लेटिक्समा म्याराथन धावक गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने पक्का भएपनि अन्तिममा उनको नाम हट्यो र महिला १०० मिटरमा सरस्वती चौधरीले ओलम्पिकमा खेल्ने अवसर पाइन् । यस मानेमा उनी भाग्यमानी भइन् ।

नेपाली स्प्रिन्टरमा मध्ये अहिले उत्कृष्ट समय भएको आधारमा उनले युनिभर्सल कोटामा ओलम्पिक खेल्ने अवसर पाएकी हुन् ।

तर टोकियोमा उनको प्रदर्शन भने खराब रह्यो । सरस्वतीले महिला १०० मिटरमा व्यक्तिगत समयमा समेत सुधार गर्न सकिनन् ।

महिला १०० मिटरको प्राम्भिक चरण प्रतिस्पर्धा गरेकी उनी सुरुमै बाहिरिन् । दोस्रो हिटमा रहेकी उनले १२.९१ सेकेण्डमा दूरी पूरा गर्दै कूल ९ खेलाडी मध्ये आठौं स्थानमा रहिन् ।

यसअघि उनले १३औं सागमा निकालेको १२.५५ सेकेण्डको समय व्यक्तिगत उत्कृष्ट थियो । त्समा सुधार गर्दै कीर्तिमान बनाउने सरस्वतीको आश पूरा हुन सकेन ।

यस इभेन्टमा देवी माया पनेरुले १९९९ को सागमा १२.१९ सेकेण्डको कीर्तिमान राखेकी छन् ।

जम्बो टोली र बामदेव पत्नीको चर्चा

यसअघि जस्तै यस पटक पनि नेपालबाट खेलाडी कम पदाधिकारीको जम्बो टोलीको ओलम्पिक यात्राले सुरुमै आलोचना भएको थियो ।

खेलाडी र प्रशिक्षक धन्दा झण्डै दोब्बर पदाधिकारीको टोली रह्यो । तर सुरुमा ओलम्पिकमा सहभागी हुने सूचीमा खेलाडीसहित २६ जनाको नाम रहेकोमा ३ पदाधिकारी भने ओलम्पिकमा सहभागि भएनन् ।

कोभिड१९ को कारणले ओलम्पिकमा जाने सूचीमा कटौटी भएपनि ५ खेलाडी र ४ प्रशिक्षकबाहेक १७ जना पदाधिकारीको टोली थियो । त्यसमध्ये ३ जना भने ओलम्पिमा गएनन् । नेपालबाट २३ जना सहभागि रहे । त्यसमा पनि पौडी खेलाडी गौरिका सिंह बेलायतबाट सिधै जापान पुगिन् । यस्तै नेपाली टोलीमा रहेकामध्ये एक जना टोकियोस्थित नेपाली दुतावासबाट र एक जना टोकियोस्थित स्थानिय स्वयंसेवक थिए ।

नेपाली टोलीको चिफ दि मिसन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल थिए । ओलम्पिकमा सहभागि २३ मध्ये नेपालबाट ४ खेलाडी, ४ प्रशिक्षक र १२ पदाधिकारी गरी २० जना टोकियो पुगेका थिए ।

खेलाडी बाहेक कसैको चर्चा भयो भने त्यो तुला थापको भयो । बामदेव गौतमकी पत्नी । नेपाल कबड्डी संघको अध्यक्ष, एनओसीकी सचिव अनि सांसद समेत हुन् उनी । उनको खेल कबड्डी ओलम्पिकमा थिएन तर टोकियोमा जुडो म्यानेजर बनेर गइन् । त्यो पनि आफ्नो खेल नभएर अर्कै खेल । उनको सहभागितालाई लिएर निकै आलोचना भयो । टोकियो घुम्नकै लागि उनी गएको चर्चा भयो ।

उदघाटनमा भएको मार्चपासमा दुई खेलाडीबाहेक ६ पदाधिकारी थिए । त्यसमा खेलाडी पछि तुलसा र सदस्य सचिव थिए ।

सम्बन्धित खेलको फिजियो र म्यानेजर जानुपर्ने भएपनि विदेश भ्रमणको कोटा मिलाउनकै लागि यस पटक फरक खेलाडीसँगै उच्च तहमा रहेका पदाधिकारीलाई ओलम्पिकमा विभिन्न खेलको म्यानेजर बनाएर लगिएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap