भाद्र १, रुपन्देही — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडिया कमजोर हुँदा सरकार पनि कमजोर बन्ने भएकाले सरकार मिडियाको विकासमा संवेदनशील रहेको बताएका छन् । उनले मिडिया बलियो नभएसम्म प्रदेश पनि समृद्धि बन्न नसक्ने बताए ।
सरकारका कमजोरी बाहिर ल्याइदिन आग्रह गर्दै उनले मिडियाले सरकारको गुणगान गाउनु जरुरी नरहेको बताए । ‘तर, मिडिया कहिलेकाहीं आफ्नो दायित्व बिर्सेर यसलाई सिध्याउनु पर्छ है भनेर लाग्छ,’ उनले भने, ‘त्यसले मिडियालाई सिध्याउँछ, प्रजातन्त्र सिध्याउँछ र विकास पनि सिध्याउँछ ।’
मुख्यमन्त्री चौधरीले प्रदेश सरकार उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर अघि बढेकाले त्यसमा पनि सहयोग गर्न संचारकर्मी र मिडियासँग आग्रह गरे । उत्पादन नबढेसम्म आर्थिक वृद्धि नहुने भन्दै उनले प्रदेश सामूहिक उत्पादनमा लाग्नु जरुरी रहेको पनि बताए । ‘भारत, बंगलादेशले सामूहिक उत्पादनलाई प्राथमिकतामा राखेर आर्थिक समृद्धिमा अघि बढेका छन्,’ उनले भने, ‘त्यसैले हामीले पनि त्यही मोडलमा जानु जरुरी छ ।’ किसानले सामूहिक उत्पादन गरेपछि त्यसको प्रचारप्रसारको विज्ञापन मिडियासम्म पुग्ने र त्यसले मिडियालाई पनि सहयोग पुग्ने उनले बताए ।
उनले अहिलेको आर्थिक संकटको प्रभाव मिडिया क्षेत्रमा पनि परेको भन्दै संकटग्रस्त मिडिया क्षेत्रको सुरक्षाका लागि सरकार मिलेर अघि बढ्न र सहयोग गर्न पनि तयार रहेको सम्मेलनमा प्रतिबद्धता व्यक्त गरेका छन् । मिडिया सम्मेलनमा पत्रकार कनकमणि दिक्षित, युवराज घिमिरे, बालकृष्ण चापागाई, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
दुई दिनसम्म चल्ने मिडिया सम्मेलनमा लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय २० भन्दा बढी मिडियाका प्रकाशक र संचालकहरुको सहभागिता रहेको संघका अध्यक्ष नवराज कुँवरले बताए । उनकाअनुसार सम्मेलनले लुम्बिनी प्रदेशमा देखिएका मिडियाका संकट, चुनौती र भावी कार्यदिशाका विषयमा छलफल गरेर शनिबार घोषणापत्र जारी गर्नेछ ।