काठमाडौं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले महासंघको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताए ।
मन्त्री खतिवडाले मातहतका कर्मचारीलाई पत्रकारको स्वास्थ्य उपचारको विषय कार्यान्यनमा ल्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको जनाउँदै नीति र निर्णयगत सहजीकरण तत्कालै गरी सबै अस्पतालमा सो निर्देशन पठाइदिने र पत्रकारको सरकारी अस्पतालबाट निःशुल्क उपचारको व्यवस्था कार्यान्वयनमा ल्याइने बताए ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरिरहेको जनाउँदै उनले सबै नेपालीलाई बीमाको दायरामा आउन अपिल गरे । महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले कोरोना महामारीको समयमा जनतालाई सही र जिम्मेवार सूचना प्रभाव गर्ने सञ्चारकर्मीको प्रसंशा गरे । महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस वितन्त्रतासँगै पत्रकारको पेशागत सुरक्षा र भौतिक सुरक्षा सुनिश्चित् गनुपर्ने माग गरे । रासस