७ असार, काठमाडौं । सञ्चारकर्मबाट राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले नयाँ पार्टी घोषणा गरेका हुन् ।
चुनाव चिह्न घण्टी प्रस्ताव गरेका लामिछानेले पार्टी कार्यालय बसुन्धरामा रहने जानकारी पनि दिए ।
राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले पार्टीका सदस्यहरुको सुझावका आधारमा सुझबुझका साथ उम्मेदवारी घोषणा गर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिक घरानाबाट चन्दा संकलन नगर्ने घोषणासमेत गरेका छन् । पार्टीका सदस्यबाट उठ्ने रकमबाट पार्टी चलाउने उनले बताए । लामिछानेले व्यापारी व्यवसायीले ढुक्क भएर व्यापार गरेर सरकारलाई नियम अनुसार कर तिरे मात्र पुग्ने बताए ।
पार्टी घोषणा कार्यक्रममा कलाकारहरु प्रेमराजा महत, किरण केसी, राजाराम पौडेल लगायत पनि सहभागी थिए ।अनलाइनखबर