संविधान सभाका अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै गरिने


लेखक : सुन्दराञ्चल      भदौ २६, २०८० मा प्रकाशित     
संविधान सभाका अध्यक्ष तथा  एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै गरिने

भाद्र २६, संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबारमात्रै गरिने भएको छ । एमालेका उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले अन्त्येष्टि बिहीबार गरिने बताए । उनका अनुसार नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ भने त्यसपछि नेम्वाङको निवासमा लगिने छ । घरमा लगेपछि किरात संस्कृति अनुसार गर्नुपर्ने कार्य गरिनेछ ।

नेम्वाङको अन्त्येष्टि भने पशुपति आर्यघाटमै गरिने छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरिसकेको छ । साथै अन्त्येष्टिका दिन शोक बिदा दिने निर्णय सरकारले गरेको छ । नेकपा एमालेको मंगलबार बसेको सचिवालय बैठकले नेम्वाङको निधनमा तीन दिनका लागि औपचारिक कार्यक्रम स्थगित गर्नुका साथै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । नेम्वाङको सोमबार राति हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो । नेम्वाङका २ छोरा र २ छोरी छन् ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap