रिसाउदा के हुन्छ त ?


लेखक : सुन्दराञ्चल      जेष्ठ १५, २०७९ मा प्रकाशित     
रिसाउदा के हुन्छ त ?

१५ जेठ  एउटा मान्छेलाई सानोतिनो कुरामा पनि खुबै रिस उठ्ने गथ्र्यो। जसले जे भने पनि उसलाई रिस उठिहाल्थ्यो। रिस उठेपछि सबैलाई नानाथरी गाली गथ्र्यो। कसैलाई त कुट्न पनि थाल्थ्यो। उसको रिसाह बानीले गर्दा सबै जना दिक्क बनेका थिए। उसका आफन्त अनि साथीभाइहरू पनि ऊबाट टाढा हुन थाले।

विस्तारै यो कुराको महसुस उसलाई पनि भयो। आफूसँग कोही नहुँदा ऊ आफूलाई एक्लो महसुस गथ्र्यो। तर, जत्ति गर्दा पनि उसले आफ्नो बानीलाई सुधार्न भने सकेन। सानोतिनो कुरामा पनि ऊ झनक्क रिसाउँथ्यो। एक दिन आफ्नो जीवनमा किन यस्तो भइरहेको छ भनेर लामो समय घोत्लियो। त्यसपछि नजिकैको मनोचिकित्सकसँग सल्लाह लिन गयो।

मनोचिकित्सकसँग उसले आफ्ना समस्याका बारेमा सबै बेलिविस्तार लगायो। आफ्नो रिसका कारण साथीभाइ, आफन्त आफूसँग टाढिएको कुरा मनोचिकित्सकलाई भन्यो। उसका सबै कुरा सुनिसकेपछि मनोचिकित्सकले उसलाई आधा घण्टासम्म हातको मुठ्ठी कस्न र छोड्न भने। उसले मनोचिकित्सकको सल्लाहबमोजिम आधा घन्टासम्म मुठ्ठी कस्ने र छोड्ने काम गरिरह्यो। आधा घन्टापछि मनोचिकित्सकलाई काम सकेँ भनेर भन्यो।

एकछिनपछि मनोचिकित्सकले अर्को आधा घन्टा पहिलेकै काम दोहोर्‍याउन भने। ‘मुठ्ठी कस्ने र छोड्ने काम अर्को आधा घन्टासम्म गर्न भने। त्यही काम दोहोर्‍याएर गर्नुपर्दा उसले मनोचिकित्सकप्रति पनि शंका गर्न थाल्यो। के यस्तो काम दिएको भन्दै शंकालु नजरले हेर्दै झर्किएर प्रश्न गर्न थाल्यो, ‘डाक्टर साहेब यो मुठ्ठी कस्ने र छोड्ने कामले झनक्क रिसाउने मेरो बानीलाई फाइदा गर्ला र ?

मेरो रिसाउने बानी हट्ला र ?’

उसको कुरा सुनेर मनोचिकित्सकले मुस्कुराउँदै भने, ‘यसले तिम्रो रिसाउने बानीलाई एकदमै फाइदा गर्दैन। मैले तिमीलाई कुरा बुझाउन मात्रै यो काम गराएको हुँ। जसरी तिमीले चाहेका बेला मात्रै हातका औंलाहरूले मुठ्ठी कस्ने अनि तिमीले चाहेका बेला मात्रै खुल्ने गर्छ। अर्थात् तिम्रो हातका औंलाहरूलाई तिमीले नियन्त्रण गरिरहेका छौं। हातका आंैलालाई नियन्त्रण गरे जसरी नै तिमीले आफ्नो रिसमा पनि नियन्त्रण गर्न सक्नुपर्छ।

रिस पनि तिम्रो अनुमतिबिना कहिले पनि उठ्दैन। तिम्रो अनुमति पाएपछि मात्रै रिस उठ्ने हो। जब–जब तिमीलाई रिस उठ्न थाल्छ, त्यतिबेला मलाई प्रश्न गरेजस्तै आफूले आफैलाई प्रश्न गर्न सक्नुपर्छ। त्यो रिसले मलाई फाइदा हुन्छ कि हुँदैन ?’ मनोचिकित्सकको कुरा सुनेर ऊ मुसुक्क मुस्कुरायो र खुसी भएर घरतिर लाग्यो।

 रिसलाई नियन्त्रण गर्दा आफैंलाई फाइदा हुन्छ । बिनासित्ति रिसाउँदा आफैंलाई हानी हुन्छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap