महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना


लेखक : सुन्दराञ्चल      फाल्गुन १४, २०८१ मा प्रकाशित     
 महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना
धनगढी  फाल्गुन १४,  महाशिवरात्रि पर्व आज (बुधबार) देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । विभिन्न शिव मन्दिरमा विहानै देखि भक्तजनको घुईचो लागेको छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो ।
पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरु बताउँछन् ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व) ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
कैवल्यनाथ मन्दिरमा अखण्ड रुद्राभिशेक यज्ञ सहित जलाभिशेष
महाशिवरात्रीपर्व २०८१ को पावन अवसरमा आज (बुधबार) फागुन १४ कैवल्यनाथ मन्दिरमा अखण्ड रुद्राभिशेक यज्ञ सहित जलाभिशेष कार्यक्रमको आयोजना हुने भएको छ ।
कार्यक्रम १५ गते विहानसम्म जारी रहेन गोदावरी धामका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । गोदावरी गुरुकुलका आचार्य एवं वटुहरुद्वारा  गोदावरीधाम कैलालीको  कुम्भमेला क्षेत्रमा अवस्थित भगवान् शिवका १ हजार ८ शिवलिङ्ग दर्शन स्थल एवं कैवल्यनाथ मन्दिरमा अखण्ड रुद्राभिशेक यज्ञ सहित जलाभिशेष कार्यक्रमको आयोजना गरिने छ । धाममा पाल्नुभई दर्शन ÷अनुष्ठानमा सहभागी हुन श्रद्धालुहरुमा सादर आमन्त्रण आयोजकले गरेको छ ।
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap