, काठमाडौं८ फागुन, । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा प्रमुख राजनीतिक दलहरुले दोहोरो चरित्र (डबल स्ट्यान्डर्ड) देखाउन बन्द गर्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले फागुन १२ गतेको संसद बैठकमा दलहरु एमसीसीको पक्षमा वा विपक्षमा उभिनुपर्ने बताएका हुन् ।
संसदमा रहेका दलहरुमध्ये नेपाली कांग्रेसबाहेक अरु ठूला दलले एमसीसीको विषयमा प्रष्ट धारणा सार्वजनिक गरेका छैनन् । नेकपा एमालेले संसद अवरोध जारी राखेको छ भने सत्तारुढ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले एमसीसी टेबल हुँदै गर्दा संसदमै नाराबाजी गरेका थिए । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले पनि एमसीसीबारे आधिकारिक निर्णय सार्वजनिक गरेका छैनन् ।
एमसीसी सम्झौता संसदमा टेबल भएपछि अब संकल्प प्रस्ताव वा व्याख्यात्मक टिप्पणीमार्फत संशोधन हुन सक्ने भन्दै उनले नेपाली कांग्रेस दुवै विकल्पमा तयार रहेको बताए । ‘यी सबै विकल्पमा कांग्रेस छलफल गर्न तयार छ, यो माध्यममा जाने भए पनि जाऔं’ उनले भने अनलाइनखबर