मकै र बदाम बेचेरै राजधानीमा घरघडेरी अमृता भण्डारी,


लेखक : सुन्दराञ्चल      असार १६, २०७९ मा प्रकाशित     
मकै र बदाम बेचेरै राजधानीमा घरघडेरी अमृता भण्डारी,

असार १६ वीरेन्द्रनगरको हुलाक कार्यालयभन्दा थोरै अगाडि एउटा चोक छ । चोकबाट दायाँतर्फ जाने बाटोको पनि दायाँतिरको सडक किनारमा छाता मुनि बसेर सधैँजसो एउटी वृद्ध महिला मकै पोलेर बेच्ने गरेको देखिन्छिन् । नाति–नातिनीसँग घरमै आराम गरेर बस्नुपर्ने बेलामा आगोको राप र तापसँग जुधिरहेकी उनी हुन्– वीरेन्द्रनगरको कपासे क्षेत्रकी ६५ वर्षीया अमृता भण्डारी ।

बर्खायामको झरी, हिउँदको कठ्याङ्ग्रिने चिसो वा चैत, वैशाखको खडेरी नै किन नहोस्, यही ठाउँमा बसेर उनले मकै र बदाम बेच्ने व्यापार गर्न थालेको दशकौं भएछ । मुलुकमा राजनीतिक परिवर्तनका विभिन्न शृङ्खला पार भए पनि आफ्नो दैनिकी जस्ताको तस्तै रहेको उनी सुनाउँछिन् ।

चाउरी परेको मलिन मुहार, धुवाँ र आगोको रापले शरीरका विभिन्न भागमा खरानी र मोसो अनि निधारमा पसिना उनको पहिचानजस्तै बनिसकेका छन् । उनी यो ठाउँमा बसेर मकै पोलेर बेच्न थालेको पनि २५ वर्षभन्दा बढी भयो । अहिले चारैतिर प्रदेशका मन्त्रालय र विभिन्न सरकारी कार्यालय रहेको यो ठाउँमा उनले मकै पोल्न सुरु गर्दा जंगल थियो रे ! अमृता भन्छिन्, ‘मान्छेको आवत–जावत बाक्लो हुने गरे पनि यहाँ जंगल थियो, हामीले हटाएका हौं । अहिले त पूरै सरकारी कार्यालय बस्ने थलो भएको छ ।’

समयसँगै ठाउँ विकसित र परिवर्तन हुँदा पनि आफ्नो दिनचर्यामा खासै भिन्नता नआएको उनको भनाइ छ । अहिले पनि उनी नबिराईकन बिहान ९ देखि साँझ ६–७ बजेसम्म मकै पोलेर बेच्ने गर्छिन् । हिउँदको समयमा भने बदाम बेच्ने गरेको उनले सुनाइन् ।

सरकारी निकायका उच्च पदस्थ व्यक्तिहरुको आवत–जावत बाक्लो हुने ठाउँ भएकाले उनको व्यापार पनि राम्रै चलेको छ । उनले पोलेको मकैको स्वाद नलिएको सायद त्यो क्षेत्रवरिपरिका कमैमात्र मन्त्री, कर्मचारी होलान् ।

उनी बसेको स्थानदेखि सिधा अगाडि र दायाँतिर मन्त्रालय छन् भने बायाँतिर नेपाल दुरसञ्चार, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रशासन, मालपोतदेखि हुलाक कार्यालय छन् । यस्तै दायाँ दक्षिण किनारातिर मुख्यमन्त्री कार्यालय, विद्युत प्राधिकरण, मौसम विज्ञान लगायतका थुप्रै सरकारी कार्यालय छन् । त्यहाँ कार्यरत मन्त्रीदेखि, कर्मचारी र आवत–जावत गर्ने सर्वसाधारण सबै उनका ग्राहक हुन् ।

उनी भन्छिन्, ‘मन्त्रीज्यूहरु आफै यहाँ आएर मकै किनेर खानुहुन्न तर अर्डर गर्नुहुन्छ । मन्त्रीज्यूले पठाउनुभएको हो, राम्रोसँग मकै पोलेर दिनुहोस् है भन्नुहुन्छ । कर्मचारीहरु त रोज पोलेको मकै खानुहुन्छ । व्यवसाय पनि राम्रै चलेको छ ।’

उनले सबैलाई बराबर मूल्य (२० रुपैयाँ प्रतिगोटा) मा पोलेको मकै बेच्ने गर्छिन् । दिनमा आधाभन्दा धेरै मकै सरकारी निकायहरुमा विक्री हुने गरेको उनको अनुमान छ । मैले सुरुमा (२०५०–०६० सालतिर) मकै बेच्दा प्रतिगोटा मकैको दुई रुपैयाँमा विक्री गर्थेँ,’ उनले भनिन्, ‘अहिले १० रुपैँया प्रतिगोटामा हरियो मकै खरिद गरेर ल्याउँछु, त्यसलाई पोलेर २० रुपैयाँमा विक्री गर्छु ।’

मकै पोल्न उनले दाउरा पनि खरिद गर्नुपर्छ । एक सय रुपैयाँ प्रतिभारी दाउरा खरिद गरेर उनले मकै पोल्ने गरेकी छन् । यसरी खर्च कटाएर उनले दैनिक दुई हजारदेखि २५ सय रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताइन् ।

फुटपाथमा थालेको व्यवसायबाट राम्रै आम्दानी गरिरहेकी उनको जिन्दगीको कथा भने निकै कठिन, संघर्षमय छ ।

कान्छो छोरा जन्मिएको नौ महिनामा माओवादीले थालेको जनयुद्धमा सहभागी भएकी उनले त्यो बेलाका कठिन यात्राको स्मरण गर्दै भनिन्, ‘माओवादीको टोली हाम्रो घरमा (पश्चिम बाबियाचौर) आएर बस्थे । निकै हप्की–दप्की गर्थे । श्रीमानले माओवादीमै लागेकी एक महिलालाई भगाएर बिहे गरे । त्यसपछि प्रत्येक घरबाट एक जना युद्धमा सामेल हुनुपर्छ भन्ने कुरा आयो । डरैडरमा म पनि सामेल भएँ ।’

आफू सहभागी टोली दैलेखको दुल्लु गएको र त्यहाँ केही समय बसेपछि काखे छोराको सम्झनाले निकै सताएको उनले सुनाइन् । ‘घरमा नौ महिनाको बालक सासुआमाको भरमा छोडेर गएकी थिएँ, अब घर फर्किनुपर्छ भन्ने लाग्यो,’ उनले भनिन्, ‘रातको समय पारेर म टोलीबाट बाहिरिएँ । राति नै तिलुखाना भन्ने ठाउँमा पुगेँ । एकातिर म टोलीबाट भागेरहेकी छु, अर्कोतिर राज्यपक्षका व्यक्तिले यो माओवादी हो भनेर मार्छन् कि भन्ने डर । दुवैतिरबाट सुरक्षित हुन सक्ने स्थिति भएन ।’ यसरी हिँडेपछि तिलुखानामा कालु शाही नाम गरेका व्यक्तिको घरमा घरासयी काम गरेर आफूले केही महिना बिताएको उनले सुनाइन् ।

शान्ति प्रक्रियापछि उनी घर फर्किन्, तर घरमा श्रीमानले अर्को श्रीमती ल्याइसकेकाले कान्छो छोरा र कान्छी छोरीलाई काखमा च्यापेर उनी वीरेन्द्रनगरमा आएर बस्न थालिन् । ‘त्यसपछि परिवारसँग कहिल्यै मिलन हुन सकेन । सुरुमा भाडामा बस्थेँ,’ उनले भनिन्, ‘यहाँ आएलगत्तै यही (मकै पोल्ने) व्यवसाय सुरु गरेँ । कान्छी छोरीलाई कक्षा १० सम्म पढाएर अहिले बिहे भइसक्यो । कान्छो छोराले ९ कक्षासम्म मात्र पढाइ ग¥यो । अहिले कान्छो छोराले पनि बिहे गरिसक्यो । एउटा नाति छ ।’

अमृता आफ्नो जेठी छोरीलाई वर्षौंदेखि नदेखेको बताइन् । ‘अब त चिन्दिन होला,’ उनी भन्छिन्, ‘अहिलेसम्म मकहाँ आएकी पनि छैन । बाबुसँग भएका तीनै छोरा रोजगारका लागेका छन् रे । म नागरिकता पाइन्छ कि भनेर चार पटक गएँ । पतिको नामबाट दुई वटी श्रीमतीले नागरिकता बनाउन मिल्दैन भने । छोरा र छोरीले त बाबुको नामबाट नागरिकता बनाए । मेरो अझै पनि छैन ।’

मकै पोलेरै राजधानीमा घरघडेरी

अमृताले प्रदेश राजधानी वीरेन्द्रनगरमै घरघडेरी जोडेकी छन् । ‘एउटी महिलालाई परिवारबाट अलग रहेर पीडामाथि पीडा थपेर बाँच्नुपर्दा दुःख त लाग्छ नि ! तर के गर्नु ? त्यो दुःखलाई सम्झिएर रुँदै बस्ने कुरा पनि भएन,’ उनले भनिन्, ‘यही आगोको राप, ताप यही ठाउँले मलाई आज सुखको अनुभूति पनि दिलाएको छ । यही ठाउँको कमाइले दुई कोठाको दुई तले पक्की घर बनाएकी छु ।’

मेहनतभन्दा ठुलो केही नहुने भन्दै उनले वर्षौंदेखिको मेहनत र पसिनाले खान–लाउन पुगेको बताइन् । उनले ९ लाखमा घडेरी किनेको र घर बनाउँदा ८ लाख खर्च भएको सुनाइन् ।

हुन त अमृताका अरु छोराछोरी जागिरे छन् । तर घर बनाउँदा कसैले सहयोग नगरेको गुनासो उनले पोखिन् । ‘बरु ज्वाईँले थोरै सहयोग गर्नुभयो, ती जागिरे छोराले सहयोग गरेनन्,’ उनी भन्छिन्, ‘यो कोख त बच्चा जन्माउनका लागि मात्र रहेछ ।’

अहिले आफ्नो दैनिकी नफेरिए पनि जिन्दगीप्रति गुनासो नरहेको उनले बताइन् । उनले भनिन्, ‘अचेल मलाई विगत सम्झेर खासै भावुक हुन मन पनि लाग्दैन । उनीहरु (श्रीमान छोराछोरी) आफ्नै दुनियाँमा छन् । कान्छो छोरा र बुहारी मसँग छन् । घर बुहारीले हेर्छिन् । छोराले मिस्त्रीको काम गर्छ । खुसी नै छु ।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap